लोकेन्द्र सेर्पाली गोवा, भारत । भारतमा कृयाशील प्रगतिशील नेपाली समाजले संगठन विस्तारको कामलाई तिब्रता दिएको छ । जस अन्तरगत महाराष्ट्र राज्य सिरुन जिल्ला समितिको आयोजनामा कोभिडपछि भेटघाट तथा कार्यकर्ता प्रशिक्षण गरेको छ । टेकराज थापाको अध्यक्षमा भएको प्रशिक्षण कार्यक्रमा संगठनका केन्द्रीय अध्यक्ष प्रकाश नेपालीले देशलाई समृद्धि र विकास गर्न राम्रो उद्धेश्य भएको नेतृत्वको आवश्यक भएको बताए ।
उनले त्यो भिजन भएको नेतृत्व व्यक्ति डाक्टर बाबुराम भट्टराई भएको दावी गरे । डाक्टर भट्टराईले उठाएका राजनीतिक मुद्धाले अहिले देश चलेको नेपालीको भनाई रहेको छ । गणतन्त्र स्थापनाका लागि प्रवासी नेपालीहरुको उल्लेखनीय भूमिका रहेको उनको धारणा रहेको छ । ‘यदि हिजोका दिनमा प्रवासी नेपाली गणतन्त्र प्राप्तिको आन्दोलनमा एकीकृत नभएको भए अहिलेको परिवर्तन सम्भव हुने थिएन’ उनको भनाई रहेको छ ।
आगामी दिनमा देश समृद्धि र विकासको लागि राज्यले प्रवासी नेपालीहरुलाई विषेश स्थान दिनुपर्ने वक्ताहरुको धारणा रहेको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य नरेश नेपाली सिद्ध रिमाल, धर्म रिमाल, मानबहादुर नेपाली जीवन नेपाली, प्रकाश रिमाल, रामबहादुर रसाइली लगायतले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा प्रवासी नेपाली महिलाहरुले साँस्कृतिक प्रस्तुति पस्केका थिए ।