• मंसिर १३ २०८१, बिहीबार

संविधानको रक्षा गर्ने कि हत्या गर्ने बहस हुँदै छ : प्रचण्ड

फाल्गुन २८ २०७७, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा संविधानको रक्षा गर्ने कि हत्या गर्ने बहस सुरु भएको बताएका छन् । आज बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशनमा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

“यो संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस सुरु भएको छ । यो संविधानमा दलितहरुका निम्ति जे अधिकार सुनिश्चित गरिएको छ, तीनको परिमार्जन गर्ने कि हत्या गर्ने भन्ने बहस चलेको छ,” उनले भने ।

त्यस्तै, मधेसी, आदिवासी, जनजाति, महिला, उत्पीडित क्षेत्रका हकमा संविधानमा भएको व्यवस्थालाई परिमार्जन गरेर जाने कि पछाडि फर्कने भन्ने बहस चलेको उनले बताए । प्राप्त उपलब्धिको हत्या गर्ने प्रयास भइरहे फेरि आन्दोलनको आँधीबेहरी ल्याउनुपर्ने अवस्था आउनसक्ने उनको भनाइ थियो ।

उनले शान्ति प्रक्रियामा भूमिका खेल्ने नेताहरुलाई घेराबन्दीमा पार्ने षड्यन्त्र भएको दाबी पनि गरे । “सबैभन्दा बढी घेराबन्दी ममाथि भएको महसुस गर्छु,” प्रचण्डले भने ।