• कार्तिक ७ २०८१, बुधबार

‘जतिपनि खाऊँ, जेपनि खाऊँ’ गर्नु पनि राजनीति हुन्छ र ?

फाल्गुन २८ २०७७, शुक्रबार

यो संसदवादी आशको भास भनेको गजबकै भास र त्रास रहेछ । कम्युनिस्ट क्रान्तिकारी त झन् त्यसमा पसेपछि साँच्चिकै उठ्नै नसक्ने भास, उम्कनै नसकिने भास, झन्पछि झन् भासिंदै जाने भास र त्यसमै चुर्लुम्म डुबेर सिद्धिने भास पो रहेछ । नेपालको संसदमा भाग लिएको एउटा शक्ति तत्कालीन नेकपा (एकताकेन्द्र) वा भनौं त्यसको खुला मोर्चा संयुक्त जनमोर्चा, नेपाल बाहेक दुई दर्जन बढी कम्युनिस्ट पार्टीमध्ये अरु कुनै पनि वामपन्थी वा कम्युनिस्ट क्रान्तिकारी भनिने शक्ति संसदवादी भासमा फसेपछि त्यसबाट उम्केर सशस्त्र संघर्षरुपी दुःखकष्टको क्रान्तिकारी मार्गमा लागेको रेकर्ड यो सत्तरी वर्षे नेपाली कम्युनिस्ट पार्टी र आन्दोलनको इतिहासमा छैन ।

विश्वस्तरमै भन्ने हो भने पनि रुसी बोल्सेभिक कम्युनिस्ट पार्टीबाहेक अन्य कुनै शक्तिले संसदलाई उपयोग गर्दै क्रान्तिकारी सशस्त्र विद्रोहको क्रान्तिकारी संघर्षद्वारा संसदीय व्यवस्थालाई नै ध्वस्त गरेर क्रान्ति सम्पन्न गरेको विश्व कम्युनिस्ट आन्दोलनको पौने दुईसय वर्षको इतिहासमा पाइंदैन । हुँदाहुँदा त कस्तोसम्म देखियो भने हिजो संसदवादको चर्काे विरोध गर्ने र सशस्त्र संघर्ष गरेर रगतको खोलो बगाएर आएका शक्ति र व्यक्तिहरु अझ भनौं तिनका नेता र नायकहरु पनि संसदको क्रान्तिकारी उपयोग, अल्पकालीन उपयोग, तत्कालीन उपयोग, विशेष उपयोग आदिइत्यादि गर्ने भनेर नै संसदीय अभ्यासमा सिद्धान्ततः समाहित हुन्छन् ।

तर उनीहरुले संसदको उपयोगभन्दा संसदले वा संदसवादले उनीहरुलाई नै उल्टै संसदीय विकृति र विसङ्गतिमा क्रमशः डुबाउँदै पार्टी र क्रान्तिबाट विचलित र बदनाम गराएको र यसरी उनीहरु पुँजीवादी संसदवादी विचार, विधि, व्यवस्था र व्यवहारका विकृति र विसङ्गतिमा चुर्लुम्म डुबेर अन्ततः विभाजन, बिघटन र विसर्जनमा पुगेको विचित्र विडम्बना छ ।

हुन पनि कुनै वस्तु पतन हुने, कुहिने र सड्ने प्रक्रियामा पुगेपछि अन्ततः त्यो पूर्णरुपले सिद्धिएरै गएजस्तै अथवा तल झर्ने मेसोमा लागेपछि कुनै वस्तु, व्यक्ति, शक्ति, प्रवृत्ति वा घटनापरिघटना त्यसको अन्तिम गन्तव्यमा पुगेरै छाड्छ । जसरी पहाडको चुचुरोबाट खस्दै गरेको एउटा ढुङ्गोको झर्ने वा गिर्ने प्रक्रियाको अन्तिम टुङ्गो पहाडको तल पिंधमै, फेंदीमै, नदीमै वा खाल्डोमै पुगेपछि मात्र हुन्छ, त्यसरी नै कुनै वस्तु वा व्यक्ति, शक्ति, विचार, प्रवृत्ति वा घटनाप्रक्रिया बिग्रने, पतन हुने, कुहिने वा सड्ने क्रममा पुगेपछि त्यो क्रम उसको पूरै अस्तित्व समाप्त नभएसम्म रुक्दैन ।

यो कुरा नेपालका कथित कम्युनिस्ट पार्टी, तिनका नीति र नेता अनि नेताका नियत र नियति अनि विचार र व्यवहारका सन्दर्भमा पनि हुबहु सत्य साबित भएको देखिन्छ । भनिन्छ, भोकाएकाले भेटायो भने एकै गाँसमा क्वाम्मै धेरै र छिटै नै खान्छ अर्थात् हसुर्छ । सायद यसै भएर हो कि हाम्रा सत्ताका, सरकारका, सदनका अर्थात् संसदवादी प्रणाली, संयन्त्र वा तिनका शीरका वा सेरोफेरोका आसेपासे र गासेदासे क्रान्तिकारी पनि जसरी पनि खाऊँ, जे पनि खाऊँ, जतिपनि खाऊँ, जहिले पनि खाऊँ र जहाँपनि खाऊँ भनेर हतारो र चटारो गरेका ?

आज यसरी हतारो र चटारो गरेर चल्ने, चोइटिनेले ग्वामग्वाम्ती खाएको देखेर खाने गोल्डेन चान्स गुमाएका, तर त्यसैगरी खाने डाइमण्ड चान्स कुर्दै र कुर्लदै गरेका कथित क्रान्तिकारी कम्युनिस्टको भैलो र रोइलोले पनि यही खतरनाक संसदवादी आश र भासमै डुबेर उनीहरु कथित विधि, विधान, पद्धति, प्रक्रिया, नीति, नियम र कानूनी राज आदिको आशको भासमा डुबेर पूरै सिद्धिने त्रास सिर्जना गरेको प्रमाणित भएको छ ।

जसको नीति उही नेता र जसको विधि उसकै व्यवस्था भन्ने कुरालाई भने हाम्रा क्रान्तिकारीले बुझ्न नसकेर होला नयाँ जोगीले बढि खरानी घसेपछि सद्दे जोगी वा अझ त्योभन्दा पनि उम्दा जोगी ठहर्ने धृष्टता गरेझैं हालको सरकारी नेकपाभित्रको गुटहरुबीचको लखनउ लुटका लागि राजनीतिक, वैचारिक आवरणमा भएका कुटाकुट र फुटाफुट हाल आएर कानूनी र प्राविधिक जुटाजुटको यो अद्वितीय हास्यास्पद प्रकृयामा छन् । यसरी आज उनीहरु भ्रष्ट, दुष्ट, निकृष्ट, स्खलित र पतित प्रमाणित भएर संसदीय भासमै सास छोडेर कुहिएको लाश हुँदैछन् ।

उपरोक्त दुःखद र दर्दनाक विडम्बनालाई कसैले अर्थात् क्रान्तिप्रेमी कम्युनिस्टले त भीरबाट लड्न लागेको गोरुलाई राम ! राम ! भन्नु भन्दा अरु के गर्न सकिन्छ र, भन्ने नेपाली उखानको स्मरण र उच्चारण गर्दै दुःख मनाउ मात्र गर्छन् भने सच्चा कम्युनिस्ट क्रान्तिकारीले त उनीहरुको त्यो गिर्ने वा ढल्ने र गल्ने वा सड्ने प्रक्रियालाई छिटोभन्दा छिटो पूर्णतामा पुराइ त्यसलाई अन्तिम संस्कारस्वरुप दफनाउँदै त्यसकै मलको बलमा क्रान्तिरुपी बिरुवा रोपेर जल चढाउँदै हुर्काउने र फुल्नेफलाउने गर्दछन् र गर्नु नै पर्दछ ।

यही नै नेपालका सबै सच्चा कम्युनिस्टको क्रान्तिकारी आश र त्यसै अनुसारको क्रान्तिकारी व्यवहार यतिबेलाको अहम् महत्वको भूमिका र दायित्व हो । क्रान्तिकारी मार्क्सवादी चेतना भया !