काठमाडौँ। काठमाडौं मेयर्स कप अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौं मेयर्स ११ माथि विभागीय टोली एपीएफले जित निकालेको छ । ७ विकेटको सानदार जितसँगै एपीएफले फाइनलमा स्थान सुरक्षित समेत गरेको छ।
टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले ४८.५ ओभरमा अलआउट हुँदै १७७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ४४.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
सुरुवाती ब्याटिङ गरेको काठमाडौंका लागि सन्दीप रजालीको सर्वाधिक ४८ र हरिशंकर साहको ३६ रन बाहेक अन्य ब्याट्सम्यानहरुको योगदान खास उल्लेखनीय रहेन । बलिङतर्फ एपीएफका कमलसिंह ऐरी र अभिनास बोहोराले सर्वाधिक ३/३ विकेट लिँदा बसन्त रेग्मी, शरद भेषावकर र भुवन कार्कीले समान १/१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको एपीएफलाई लक्ष्यसम्म पुर्याउन सन्दीप जोराले सर्वाधिक अभिजित ६२ रन बनाउँदा शरद भेषावकर ६१ रनमा अभिजित रहे । त्यस्तै शंकर रानाले ३१ र भुवन कार्कीले ११ रन जोडे ।
काठमाडौंका अनुज चुनरा, अनिल खरेल र सन्दीप लामिछानेले समान १/१ विकेट लिए पनि एपीएफलाई जितबाट रोक्न सकेनन् । जितसँगै एपीएफले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।