काठमाडौं । नेपाली गीत संगीतको बजारमा दैनिक हजारौं गीतहरु आउँछन् । कुन गीतले कति दर्शक र स्रोताको माया पायो भनेर मापन गर्ने र मूल्यांकन गर्ने काम कुनै निकायको होला, तर दर्शक र स्रोताले चाहीँ गीतको भाव र त्यसले दिएको सन्देशलाई मापन गर्नुपर्दछ । नेपालजस्तो थरिथरिका भेषभूषा, भाषा र संस्कृति भएको देशमा संस्कृतिमा पनि विविधता आउनु नौलो कुरा होइन । विविध जातजाति र क्षेत्रका मौलिकता समेटिने गरी कला र सिर्जना निर्माण हुनुलाई पनि स्वभाविकै मान्नु पर्दछ । दलित समुदायले आफूलाई परेको पीडा व्यक्त गर्न र पीडाबाट मुक्त हुन दिने सन्देश समेटिएका गीतहरु निर्माण गरेर बजाइरहेका छन् ।
महिलाहरुले पनि वर्षैंदेखि पुरुषप्रधान समाज र पितृसत्ताबाट पाएको पीडालाई व्यक्त गर्ने र अधिकारका लागि एकजुट हुने कुरा समेटिएका गीतहरु पनि सुन्न पाइन्छ । साथै जनजातिले पनि यसैगरी वर्षौंदेखि आफ्नो पहिचान र अधिकारका लागि गीत संगीतको प्रयोग गरेर राज्यलाई झक्झकाउने गर्दै आएका छन् । यसैगरी पछिल्लो चरणमा पश्चिम नेपालमा उद्गमथलो भएको खस समुदायका श्रष्टाहरु पनि यसैगरी उदाएका छन् । उनीहरुले गीतको माध्यमबाट खस जातिलाई राज्यले हेपेको र भेदभाव गरेको भन्दै अधिकारका लागि एकजुट भएका सन्देश सहितका गीतहरु बजारमा आएका छन् भने उनीहरुले बोलेर, लेखेर पनि पछिल्लो चरणमा खस सभ्यताको प्रचारमा निकै लागेको पाइन्छ ।
यसैबीच केही समयअघि पश्चिम नेपालमा प्रचलनमा रहेको खस सभ्यता र संस्कृतिका बारेमा मोहनविक्रम शाहीको शब्द सिर्जनामा रामचन्द्र काफ्ले र जुनु रिजालको सुरिलो स्वरमा सजिएको खस गीत बजारमा आएको छ र त्यसले खस समुदायका मानिसलाई आफू र आफ्नो संस्कृति के हो भन्ने बारेमा थप ज्ञान दिलाएको छ । ‘हामी सिंजाली’ नामको सो गीतको दृश्य निर्माण र रेकर्ड लगायतमा सिंजा गाउँपालिकाले सहयोग गरेको छ ।
केटी : मठमन्दिर देवलहरु देवताका थान
सिंजाको सभ्यता हाम्रो संसारकै महान
संसार भर छरिएका खसजातिको
गौरवशाली उद्गम थलो यही सिंजा हो
ऐतिहासिक सिंजाका हामी सिंजाली
संस्कृति र सभ्यताको उद्गमस्थल सिंजा
खस राज्यको शक्तिशाली राजधानी सिंजा
सिंजाबाटै सुरु भयो भाषा नेपाली …२ ।
मान्छेले समाजमा बसेर आफूलाई जीवनयापनमा सजिलो हवस् भनेर निर्माण गरेका विविध कुराहरु नै संस्कृति हुन् । ती मानव निर्मित संस्कृति हुन् । नेपालको संस्कृतिको इतिहास हेर्दा नेपाली भाषाको उद्गम थलो पश्चिम नेपालको जुम्ला जिल्लामा अवस्थित सिंजा उपत्यकालाई मानिन्छ । भाषाको अभ्यासका क्रममा यो विस्तार हुन्छ, बदलिन्छ, विकास हुन्छ र रुप पनि फेरिन्छ । खसराज्य कुनैबेलाको शक्तिशाली राज्य हो । पछि नेपाल राज्य कब्जाको क्रममा गोरखाली फौजका विरुद्धमा निकै बहादुरीका साथ लडेका कारण पश्चिम नेपाल र त्यहाँका जनतालाई केन्द्रिय राज्यले सधैं दमन र बेवास्ता गर्यो । जो आज पनि निरन्तरतामै छ । पश्चिम नेपालका खसहरु अंग्रेजसित मिलेर गोरखाली फौजविरुद्ध लडेका थिए ।
केटाः सलल हिमनदी बग्छ सिंजा खोला
कनकासुन्दरी माइले रक्षा गर्नु होला
केदारनाथ, भैरवनाथ मालिका भवानी
पाण्डव गुफा, विराट दरबार भव्य छ कहानी
ऐतिहासिक सिंजाका हामी सिंजाली
संस्कृति र सभ्यताको उद्गमस्थल सिंजा
खसराज्यको शक्तिशाली राजधानी सिंजा
सिंजाबाटै सुरु भयो भाषा नेपाली …२ ।
पश्चिम नेपालका बझाङ, बाजुरा, अछाम, लगायतका स्थानमा अझै पनि खस राज्यका पालामा स्थापना भएका थुप्रै ऐतिहासिक देवल, थान र बौद्ध गुम्बाहरु पाइन्छन् । मानिसका पूर्खाका चिनो र संस्कृतिका रुपमा चिनिने ती वस्तुहरुको संरक्षण र विकास गर्न त बाँकी नै छ नै । बरु हाम्रो ठाउँमा यस्ताखाले पुरातात्विक र ऐतिहासिक चीजहरु छन् भनेर प्रचार गर्न सकिएको छैन ।
केटी : कालीमार्सी धान झुलेको पूरै सिंजा भरि
कोदो फापर मकै जहुँ अन्न थरिथरि
पहिल्यैदेखि भरिपूर्ण सिंजा साम्राज्य हो
गौरवमय इतिहास छ सिंजाबासीको
संस्कृति र सभ्यताको उद्गमस्थल सिंजा
खस राज्यको शक्तिशाली राजधानी सिंजा
सिंजाबाटै सुरु भयो भाषा नेपाली…२ ।
पश्चिम नेपालका पहाडमा उत्पादन हुने मौलिक खाद्यवस्तुहरु पनि त्यहाँका परिचय हुन् । मानिसले निर्माण गरेको संस्कृति उत्पादनसित पनि जोडिएको हुन्छ । पश्चिम नेपालमा उत्पादन हुने कालो मार्सी धान, फापर, कोदो लगायतका उत्पादित वस्तुहरुको पनि परिचय र महत्व बेग्लै छ । ती खसहरुको उद्गमथलो सिंजाको पनि परिचय हुन् ।
केटा : रितिथिति बसाल्ने उनै बलिराजा
देउडा अनि मादलसँगै दमाईका बाजा
रितिरिवाज पुरानै हो फेरिएको होइन
अरुलाई नि सिकाउनु छ सिक्नु केही छैन
ऐतिहासिक सिंजाका हामी सिंजाली
संस्कृति र सभ्यताको उद्गमस्थल सिंजा
सिंजाबाटै सुरु भयो भाषा नेपाली …२ ।
समाजमा हाल प्रचलित रहेका परम्परा र संस्कारहरु पूर्खाले हामीलाई हस्तान्तरण गरेर गएका हुन् । यी हाम्रा अमूल्य सम्पति हुन् । पूर्खाको रगत र पसिनाबाट बनेको संस्कृतिलाई हामीले नष्ट गर्नु हुँदैन । पूर्खाले सिर्जेका बाजागाजा पनि हाम्रा चिनारी नै हुन् । यिनको संरक्षण गर्नुपर्दछ । माथि उल्लेखित गीतको टुक्कामा हामीले हाम्रो संस्कृति फेरेका छैनौं भन्नु जायज कुरा छ । विश्वभर धर्मान्तरण गर्ने र अरुको संस्कार नष्ट गरिदिने अभियान चलेका बेला हामीले हाम्रो संस्कृति फेरेका छैनौं भन्ने सन्देश जानु धेरै राम्रो कुरा छ ।
तर अरुलाई सिकाउनु छ सिक्नु केही छैन भन्ने कुराले हामी पूर्ण छौं भन्ने संकेत गरेको भान हुन आएको छ । यसलाई अलिकति सच्याउनु पर्दछ । किनकि कुनै पनि संस्कृति पूर्ण हुँदैन, बरु त्यसमा थप विकासको आवश्यकता देखिन्छ । झलक्क हेर्दा र आफू आफ्नै संस्कृति देख्दा गौरवान्वित हुँदा पूर्ण देखिनु भावनाको कुरा भएपनि संस्कृतिलाई थप विकास गर्नुपर्ने हुन्छ, किन कि त्यो पूर्ण भइसकेको हुँदैन ।
केटी : राडीपाखी हाम्रो पहिचान पहिरन गुन्यौ चोली
हिजोको संस्कृतिलाई जोगाउनु छ भोलि
जेगाउनु छ पूर्खाको शान बचाउनु छ बास
हामी आफै जुट्नु पर्छ छैन कसैको आश
ऐतिहासिक सिंजाका हामी सिंजाली
संस्कृति र सभ्यताको उद्गमस्थल सिंजा
खसराज्यको शक्तिशाली राजधानी सिंजा
सिंजाबाटै सुरु भयो भाषा नेपाली …२ ।
ठाउँअनुसार मानिसले लगाउने पोसाक तथा भेषभुषाहरु पनि फरकफरक हुनु स्वभाविकै हो । जुन ठाउँमा जे जस्तो आवश्यकताले जेजस्तो चीजको आविष्कार भएको हुन्छ, त्यसलाई स्वीकार्नु पर्दछ । त्यसमा थप विकास गर्ने र मानवजातिलाई थप समृद्ध बनाउने कुरा भने आवश्यकताको कुरा हो ।
केटा : स्याउहरु फलेका छन् ओखर सिमी पनि
जडिबुटी थरिथरि प्रकृतिको धनी
भेडाहरु पाटनमा गाई वनपाखा
सिंजाको सुन्दरता हेरी अघाउँदैनन् आँखा
ऐतिहासिक सिंजाका हामी सिंजाली
खसराज्यको शक्तिशाली राजधानी सिंजा
सिंजाबाटै सुरु भयो भाषा नेपाली …२ ।
हामी जन्मिएको भूगोलका विभिन्न ठाउँमा विभिन्न खाद्य वस्तु फल्नु र मानवजातिलाई भोकको तृप्ति दिनुलाई प्राकृतिक नियम नै मान्नु पर्दछ । तर आफू जन्मेको ठाउँमा फलेका फलफूल खाएर कोही कहिल्यै पनि अघाउँदैन । यी र यस्ता कुराहरुलाई ‘हामी सिंजाली’ गीतमा देखाइएको छ । कुनै पनि जातिको परिचय त्यसको संस्कार, संस्कृति हो । यसलाई जोगाउन सके मात्रै यसको पूर्खा र समग्रमा मानवजातिकै संरक्षण गर्न सकिन्छ । हामी सिंजाली गीतले जनतामा आफ्नो रितिथिति र संस्कारको थप विकास गर्नका लागि प्रचारको भूमिका खेल्न सकोस् शुभकामना !