• मंसिर ११ २०८१, मंगलवार

शिवको महानता र जगतको कल्याण

फाल्गुन २७ २०७७, बिहीबार

विश्वभरका हिन्दू धर्मावलम्वीका लागि महान् दिन हो । ब्रह्माण्डका सृष्टिकर्ता, सम्पूर्ण प्राणीका स्थितिकर्ता र जीवनको भोग सिद्धिएपछि संहारकर्ता परमात्मा शिव आर्यावर्तको परमपावन नेपालभूमिमा अवतरण हुनु भएको आजको दिनलाई शिवरात्री पर्वको रुपमा भक्तिभावपूर्वक पूजा, आराधना, उपवास, जाग्राम गरेर मनाइन्छ । सम्पूर्ण प्राणीको पालक, रक्षक, भगवान्, शिव अलौकिक र शाश्वत हुनुहुन्छ । अजन्मा भएर पनि उहाँले प्राणीहरुको हितसाधना गर्न धरातलमा भोलेबाबाको रुपमा भक्तहरुलाई दर्शन दिनुहुन्छ ।

सबैको कल्याण गर्ने भगवान् शिव नै पशुपतिनाथ, विश्वनाथ, रुद्र, शंकर, अनेक नाम र अनेकरुपमा यस धर्तीमा प्रकट हुनुभएको छ । पशुरुपी हामी मानवहरुका उहाँ पति अर्थात मालिक हुनुहुन्छ, त्यसैले उहाँको नाम पशुपतिनाथ भयो । यस विश्वकै मालिक भएकाले उहाँ विश्वनाथ हुनुभयो । आफ्ना भक्तले जे मागे पनि दिने भएकाले उहाँ भोलेनाथ हुनुभयो र पापी अन्यायी, अधमीलाई उनीहरुले गरेका कुकर्मको सँजाय दिने भएकाले उहाँ उनीहरुका लागि काल , महाकाल र रुद्र बन्नुभएको छ ।

यसर्थ श्रीपशुपतिनाथको ठूलो महिमा छ । श्रीपशुपतिनाथको स्तुति, पूजा, आराधना, मन्त्रको जप र यिनको महात्म्यबारे बेद, पुराण, धार्मिक साहित्यक र तान्त्रिक ग्रन्थहरुमा अति विस्तृत रुपमा पाइन्छ । हाम्रोे हिन्दू समाजमा पनि परापूर्वकालदेखि नै शिवजी पुजा आजा, उपासना गर्ने चलन आजसम्म कायमै छ । नेपालका साथै भारतलगायत विश्वका हिन्दूको बाहुल्य भएका क्षेत्रहरुका शिवमन्दिर, शिवालय, शिवलिङ्गेश्वर, ज्योतिर्लिङ्गश्वर आदि स्थानमा यस पर्वमा असंख्य भक्तजनको भीड लाग्ने गर्र्दछ । फाल्गुन कृष्ण चतुर्दशीमा महाशिवरात्री पर्व काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा ठूलो महत्वका साथ सम्पन्न गरिन्छ । भारतलगायत विश्वका विभिन्न राष्ट्रहरुबाट र स्वदेशमा साधु–सन्त, महन्थ, भक्तजन शिवरात्री पर्वमा पशुपतिनाथको पूजा–आराधना गरी दर्शनार्थ प्रत्येक वर्ष असंख्य नरनारी काठमाडौं पशुपति क्षेत्रमा मेला हुने गर्दछन् ।

महाशिवरात्रीका दिन पशुपतिनाथको शोडषोपचारले विधिपूर्वक पूजा–आराधना गरिन्छ ।

सन्तका लागि शिव र दुष्टका लागि महाकालको रुपमा रहनु भएका परमपिता परमेश्वर शिवको नाम स्मरण, आराधना, पूजा, महिमागानले व्यक्ति व्यक्तिले शिव, शिवमात्र भने पनि सम्पूर्ण समाजको भलाइ हुन्छ र जीवमध्ये सर्वश्रेष्ठ मानवजातिले आफ्नो मात्र होइन, अन्य प्राणीको पनि भलाइ गर्न सक्तछ । मानवले सत्कर्म गरेमा सद्बुद्धि मिल्दछ र बृद्धिमतापूर्वक गरिएको कामबाट सम्पूर्ण समाजको भलाई हुन्छ । वर्तमान विश्वमा मानिसहरु भौतिक सुखको पछाडि आँखा चिम्लेर दौडदा अँध्यारो कुवामाखसेको पत्तै पाइँदैन । भौतिकवाद विनाशवाद हो भन्ने धेरैलाई ज्ञान नभएकाले भौतिक सुखमा नै सम्पूर्ण मानव लालायित भइरहेका छन् । वास्तवमा भौतिक प्रविधिले मानवलाई क्षणिक सुख र तुष्टिमात्र दिन्छ, यो क्षणिक र नाशवान छ । आध्यत्मिक ज्ञानको अभावमा मानिसहरु पशु झैं भएका छन् । उनीहरु उचित र अनुचित छुट्याउन सक्तैनन् । यसर्थ समाजमा कलह, हिंसा, अशान्ति फैलिरहेको छ । आध्यत्मिक ज्ञानले परिपूर्ण मानवसमाजमा अभाव र अशान्तिको स्थानै रहदैन ।

भगवान् शिवको स्वरुपको दर्शन पाएका सन्त, तपस्वी, यशस्वी महापुरुषहरुले उहाँको परिकल्पना गरेका छन् । हामी प्राणीहरुसँग दुईवटा चर्मचक्षु त छ तर, तेश्रो ज्ञानचक्षु छैन । ज्ञानचक्षुको अभावमा नै हामी यस नाशवान संसारमा एक दिन नाश हुने शरीरका लागि सुख शयल, आरामको खोजीमा अनमोल जीवन गुमाउँछौ । यसमा कुनै सार्थकता छैन । शिवको तेस्रो नेत्रको आराधना गरेमा हामीलाई ज्ञानको ढोेका खुला हुन्छ र क्षणिक संसारको आभास मिल्दछ । हामीलाई शाश्वत शान्तिको ढोका हो भन्ने तथ्यलाई आज शिवरात्रीको दिनमा हामीले स्मरण गर्न सकेमा हामीलाई परम शान्ति हुन्छ । शिवले सबैलाई सद्बुद्धि दिनुहुन्छ र पनि मानिसले त्यसलाई प्रयोग गर्न नजानेर दुःखको जञ्जालमा फसिरहेका छन् । आजका युवाहरु सही ज्ञानको अभावमा विनाशकारी बाटोतर्फ अग्रसर हुँदैछन् ।

यो उनीहरुको दोष होइन । सामाजिक संरचना, शैक्षिक स्थिति र समुचित मार्गदर्शन नपाएर युवावर्ग क्षणिक सुखका लागि लागूपदार्थको व्यसनी बनेका छन् । लागूपदार्थले एक देशको मात्र होइन, विश्वका नै युवावर्गलाई आफनो दास बनाइसकेको छ र दिनानुदिन यो क्रम बढ्दो छ । युवावर्गलाई समुचित शिक्षा दिएर अभिभावकहरुले सत्मार्ग देखाएर, भौतिकवाद र अध्यात्मबादका बारेमा यथेष्ट ज्ञान गराएर कुलतबाट छुटकारा दिलाउन सकिन्छ । सही ज्ञानको अभावमा युवावर्ग पथभ्रष्ट भएका हुन ।

समग्रमा भन्नुपर्दा प्रत्येक साल फागुन कृष्ण चतुर्दशीको दिन महाशिवरात्री पर्व मनाइन्छ । शिवलाई यजुर्वेदमा स्पष्ट रुपमा वर्णन गरेर उनलाई वैदिक देवताको रुप प्रदान गरिएको पाइन्छ । यसर्थ शिवजीको आराधना प्राचिन कालदेखि नै भएको बुझिन्छ । हाम्रा आराध्य देव शिवजीलाई तन, मन, धनले श्रद्धा गर्छौ । जसमा शंकर, महेश, पशुपति, रुद्र, भोलानाथ, भोलेवावा, महादेव, शम्भु, कैलासपति, गिरिराज, नीलकण्ठ आदि छन् । हामी उनलाई “पशुपति” को संज्ञाले बडो श्रद्धा गर्दछौं । सारा नेपालीहरु चाहे हिन्दू होउन् वा वौद्ध सबै पशुपतिनाथको मन्दिरमा गएर श्रद्धा भक्तिपूर्वक आराधाना गर्दछौं । यस महान पर्वमा नेपालीहरु मात्र नभएर छिमेकी मुलुक भारतका असंख्य श्रद्धालु भक्तजनको घँुइचो लाग्दछ । “पशुपति क्षेत्र” ले गर्दा नेपालको धार्मिक क्षेत्रका गौरवगाथालाई विश्वभरि चिनाउंछ । विशाल सगरमाथाको काखमा रहेको पुण्यभूमि नेपालमा हिन्दूधर्मको प्रधानता छ ।

यसरी प्राचिन नेपालमा पशुपतिनाथको अति नै महत्वपूर्ण स्थान हुनुको साथै पशुपतिको चर्चा टाढा–टाढासम्म हिन्दूहरुको बढ्दो धार्मिक प्रचार एवं प्रभाव सहन नसकी हिन्दू धर्मलाई नष्ट गर्ने उद्देश्यले तत्कालीन बंगालका सुलतान समसुद्दीनद्वारा सन् १३४६ अर्थात वि.सं. १४०९ मार्गमा काठमाडौं उपत्यकाभित्रसमेत आक्रमण गरी विभिन्न हिन्दू र बौद्ध गुम्बा, मठ–मन्दिरहरुका अतिरिक्त पशुपतिनाथको मूर्तिलाई तीन टुक्रा पार्ने तथा अन्य मन्दिर देवालय, बौद्धस्तुपहरु भत्काउने, बिगार्ने कार्यजस्ता निन्दनीय कार्यहरुद्वारा प्रसस्तः धन–सम्पति लुटी काठमाडौं उपत्यकामा हाहाकार मच्चाई ध्वंसात्मक कार्यहरु गरी हिन्दूधर्मको उपहास गरेका थिए । हलाहल विषलाई पिएर सम्पूर्ण ब्रह्माण्डको रक्षा गर्ने भगवान् शंकर सम्पूर्ण जीवका अधिष्ठाता हुनुहुन्छ । सबैको कल्याण गर्न उहाँले हलाहल जस्तो विषपान गर्नुभएको हो ।

समाजका अहितकारी वस्तुहरु जस्तो कि, सबै लागूपर्दाथ हामी शिवलाई समर्पण गरौं । शिवले हामीलाई त्यसबाट रक्षा गनुहुन्छ । हिन्दूहरु नेपालमा मात्र होइन विश्वभरी छन् । त्यसैकारण महाशिवरात्रीको पर्व हाम्रो नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा पनि बडो उत्साह, उमङ्ग र भक्तिभाव मनाइन्छ । यस दिन भोले बाबाको शोडषोपचारको विधिले पूजा अर्चना गरिन्छ । आव्हान, आसन, पदय, अष्र्य, आचमन, स्नान, वस्त्र, उपवीत, गन्धपुष्प, धूव दिप, नैवेध्य, तामूल, दक्षिणा, आरती, प्रदक्षिणा आदि गरिन्छ । यस अवसरमा श्रद्धालुहरु उपवास बस्तछन् । ती उपवास बस्नेहरु र अन्य भक्तजन मन्दिर अधिल्तिर भजनकीर्तन गरी भगवानमा लिहिन भएका हुन्छन् ।

त्यसै दिन टुडिखेलमा मुलुकको सरकार प्रमुखबाट र सोही पावन अपसरमा देशवासीहरुको नाममा शुभेच्छा प्रकट गरिने परम्परा आजसम्म पनि अद्यावधिक नै कायम छ । समाजका सबैजसो अरिष्टलाई अँगाल्ने र गरिष्ठपदार्थ प्राणीलाई दिने भगवान् शिवको महिमा गाउने आजको दिनमा युवावर्गले सन्मार्गमा अग्रसर हुने प्रण गर्नु उनीहरुका लागि मात्र होइन समाज र देशका लागि नै हितकार हुनेछ । भगवान् शिवले सबैलाई सद्बुद्धि दिएर रक्षा गर्नुहोस् । यसबाट नै सम्पूर्ण प्राणी मात्रको कल्याण हुने कुरामा कसैको पनि दुईमत नहोला ।