पञ्च तत्व र पञ्चमुखी शिव :
यस वर्षको महाशिवरात्रि पर्व यही फागुन २७ गते परेको छ । संसारकै शिरभाग पशुपतिनाथको पञ्चमुखी ज्योतिलिङ्गको दर्शन गर्न काठमाडौँमा स्वदेशी, विदेशीहरुको समेत भीड लाग्ने गर्छ । हिन्दु धर्मावलम्बीका लागि शिवरात्रि पर्व सबैभन्दा उत्कृष्ठ पर्व हो । शिवजी भन्नुहुन्छ ः यस दिनमा जसले पार्वतीसहित मेरो दर्शन गर्छ वा मेरो मूर्तिमा, लिङ्गमा पूजा गर्छ, विशेष यजनपुजन गर्छ, त्यो मेरो लागि मेरो पुत्र गणेश, कुमारभन्दा पनि प्यारो हुन्छ । यो शुभ दिन पुजा गर्न नसक्नेले मेरो दर्शन गर्नाले मात्रै पनि पुण्य प्राप्ति गर्न सक्छ । दर्शनका साथमा पुजा पनि गर्नेलाई अक्ष्यय फल प्राप्ति हुन्छ ।
शिव लिङ्ग भोग, सुख र यश दिनेवाला हुन्छ । दर्शन, स्पर्शन, ध्यानले प्राणीको जन्मजन्मसम्मको पाप नाश हुन्छ । मृत्यु सरल र बिना कष्ट अनि अभय समेत प्राप्ति हुने साधन हो यो ! जहाँ शिवलिङ्ग प्राकाट्य भयो, त्यो क्षेत्रलाई अरुणाचल भनिन्छ । अन्य तीर्थहरु यहींबाट प्रकट हुन्छन् । अरुणाचलमा मानिसको प्रवेश वा त्यहाँबाट बिदाइ हुनाले व्यक्तिले मोक्ष प्राप्ति गर्नसक्छ । भगवान भन्नुहुन्छ मेरा दुई रुप छन् ः निराकार रुप ब्रह्म भाव हो भने साकार रुप महेश्वर भाव हो । दुवै मेरो सिद्ध रुप हो ।
परब्रह्म परमात्मा भनेको मै हुँ । जीवात्माहरु सवैमा अनुग्रह गर्ने मेरो काम हो । सबैभन्दा वृहत् हुनाले जगतको वृद्धि म स्वयम् गर्छु– यो मेरो कार्य हो, यसैले मलाई ब्रह्म भन्दछन् । सर्वत्र छु, सर्वव्यापी छु, सबैका आत्मामा छु, म सवैको ईश्वर हुँ, परमेश्वर मेरो नाम हो । मैले मेरो ब्रह्ममय दर्शाउन लिङ्गस्वरुप प्रकट भएको छु, पछि अज्ञात ईश्वरको साक्षात्कार गर्न जगदीश्वरका रुपमा साकार रुप लिएको हुँ । ममा जे ईश्वर रुप छ, त्यही सगुण÷साकार रुप हो । भगवान भन्नुहुन्छ अरु मेरो यो दुवै रुपमा हे ब्रह्मा, हे विष्णु तपाईंहरु पुजा गर्नुहोस् ।
संसारमा ५ मुख्य तत्व छन् :
सृष्टि, स्थिति, संहार, तिरोभाव र अनुग्रह ! यी ५ तत्व नै ब्रहण्ड सम्बन्धी कार्य हुन् । संसारको रचनालाई आरम भनौं या सर्ग या सृष्टि भनिन्छ । सृष्टिलाई संरक्षण गर्नु स्थिति हो, संरक्षण गर्ने कार्य शिवको पालनस्वरुप कार्य हो । सृष्टिपछि विनास पनि हुन्छ, जसलाई संहार भनिन्छ । जीव प्राण सञ्चालन तिरोभाव हो, यी सबैबाट छुटकारा मिल्नु भनेको अनुग्रह हो । यसलाई मोक्ष भनिन्छ, भक्तहरु यसलाई पञ्चमहाभूत भन्दछन् । सृष्टि पृथ्वीमा हुन्छ, स्थिति जलमा हुन्छ, संहार अग्निमा हुन्छ । तिरोभाव वायुमा हुन्छ । अनुग्रह आकाशमा हुन्छ । पृथ्वी तत्वबाट सृष्टि संभव हुन्छ । स्थिति या जीवन रक्षा जलद्वारा हुन्छ । अग्निले सबैलाई संहार गरिदिन्छ । वायुले प्राण सञ्चालन गराइरहेको हुन्छ । यी ४ तत्वलाई शब्द ब्रह्म आकाश रुपले अनुगृहित गराइरहेको हुन्छ । यी ५ मुख्य कार्य सञ्चालनका लागि शिवजीका ५ मुख भएका हुन् । ४ दिशामा ४ मुख स्थित छन्, पाँचौ मुख यी सबैका बीचमा छन् । पञ्चमुखी शिवजीको प्रार्थना गरेर ब्रह्मा र विष्णुले सृष्टि र पालनको अभिभारा लिएका हुन् । रुद्र र महेश्वर शिवको २ विभूतिस्वरुप हो । पञ्चमुखी शिवस्वरुप नेपालको काठमाडौँमा मात्र छ । त्यसैले विश्वका सबै हिन्दु धर्मालम्वी यहाँ आउने गर्छन् ।
स्वर र व्यञ्जन बारे :
उपरोक्त ५ कार्यको श्रोत ॐकार हो । सबै भन्दा पहिले ॐकार शिवजीको मुखारविन्दबाट निस्केको हो । ॐकारवाचक हो, शिवजी वाच्य हुनुहुन्छ । ॐकार शिव स्वरुप हो । सदा दिन ॐकारको स्मरण गर्नाले मानिसहरु शिवरुप हुन्छन् । कल्याणमयी हुन्छन् । कल्याणकारी कार्य गर्न अग्रसर हुन्छन् । उदार भावले सेवा भावमा संलग्न हुन्छन् । क्रोध, रिस, राग, वैमनस्यता स्वतः हटेर जान्छ । शिवजीको उत्तर मुखले ‘अ’ कार, पश्चिम मुखले ‘उ’ कार, दक्षिण मुखले ‘म’ कार, पूर्व मुखले ‘ॐ’ को विन्दु र बीचको मुखले नादको सङ्केत दिन्छन् जसलाई स्वर भनिन्छ । शिवको स्वरुप ॐकार हो, अ,उ,म र विन्दु तथा नाद स्वरबाट यो संसार सञ्चालित छ । ॐ लाई एकाक्षर प्रणव मन्त्र भनिन्छ । सबैको श्रोत हो यो ! संसारमा वेददेखि सारा ब्रह्माण्ड र ब्रह्माण्ड भित्रका सबै सर्ग विसर्ग यसैमा स्थित छन् । मानवस्वरुप, स्त्री, पुरुष सबै यसैबाट निःसृत भएका हुन् । यो मन्त्रले शिव र शक्ति दुवैको सङ्केत गर्छ । जीव र जगत्, ईश्वर र नश्वर सबै यसैमा स्थित छ । यसैबाट पञ्चाक्षर मन्त्रको सुरुआत भएको हो ।
पञ्चाक्षरबाट ५ मूल स्वर र ५-५ वर्णको व्यञ्जन तयार भएको हो । अ, इ, उ, ऋ, लृ पाँच मूल स्वर र क, च, ट, त, प आदि वर्ण यसैबाट निस्केका हुन् । ॐकारदेखि म कार सम्मका क्रमले ॐनमः शिवाय पञ्चाक्षरी मन्त्र सिर्जना भएको हो । यसैबाट गायत्री मन्त्रको सुरुआत भएको हो । गायत्री मन्त्रबाट सम्पूर्ण वेदहरु प्रकट भए, ती वेदहरुबाट करोडौं मन्त्रहरु निस्के । भिन्न, भिन्न मन्त्रहरु भिन्नभिन्न कार्यको लागि प्रेरित भए । मन्त्रहरु कार्य सिद्धिका लागि प्रयोग हुन्छन् । मनोरथको पूर्ति मन्त्रहरुबाट हुन्छ । हरेक जीवका आफ्ना आफ्ना मनोरथ हुन्छन् । मानिसका मूल २ मनोरथ हुन्छन् । पहिलो हो भुक्ति अर्को हो मुक्ति ! इहलौकिक सुख आनन्द, बाँचुञ्जेलको सम्पूर्णतालाई भुक्ति भनिन्छ भने मृत्युपछि भव बन्धनबाट छुटने कार्य मुक्ति हो । जसलाई मोक्ष भनिन्छ मोहको क्षय हुनु भनेकोे मोक्ष हो । आशक्तिको अन्त्य भएपछि भव बन्धन छुट्छ, अलि कति पनि राग र आशक्ति, तृष्णा, मोह रहुञ्जेल मुक्ति प्राप्त हुँदैन । प्रणव मन्त्रले भोग तृप्ति दिन्छ, अनि मुक्ति पनि दिन्छ । सकाम भावले पहिलो उद्देश्य प्राप्ति हुन्छ भने निस्काम भावले दोस्रो उद्देश्य प्राप्ति हुन्छ । शिव सबैका आत्मा हुन् । शिव ब्रह्म हो, जसको शक्ति अनन्त छ । शिवजी सद्गुरु हुन् उनलाई शम्भु भनिन्छ । शम्भु स्वयम्भू हुन् । त्यसैले भक्तहरु शिवको प्रार्थना गर्दछन् । यसै क्रममा ७ वारको उदय भएको हो ।
बारको उदय :
सृष्टिको आरम्भमा सर्वज्ञ, दयालु शिवजीले सबैलोकको उपकारका लागि विभिन्न वारहरुको कल्पना गर्नुभयो । भगवान शिव एक चिकित्सक हुनुहुन्छ । औषधि विज्ञानको प्रणेता शिवले सबैलाई आरोग्य दिनुहुन्छ । आरोग्य दिने सन्दर्भमा आफूले माया शक्तिका विभिन्न वारहरु उहाँले निर्माण गर्नुभयो । वार विशेषको भगवत् उपासनाले सम्पत्ति प्राप्त हुन्छ । सुरुमा जन्म समय बाल्य अवस्थाको रक्षाको लागि कुमार वारको परिकल्पना भयो । त्यसपछि भगवानले मानिसमा हुने आलस्य र पाप निवृत्तिका लागि र समस्त लोकको अनुग्रह गर्न लोकरक्षक भगवान विष्णुका वारहरु बनाउनु भयो । तत्पश्चात् भगवान् शिवले मानिसको सृष्टि र रक्षाको लागि आयुकर्ता ब्रह्माको वार बनाउनु भयो । सबैको आयु र सिद्धि प्राप्ति हुने उद्देश्यले यसरी बारहरुको परिकल्पना भयो ।
त्यसपछि पाप र पुण्य ३ नै लोकको रचनाका साथमा शुभ÷अशुभ फल दिन शिवले ईन्द्र र यमको बार कल्पना गर्नुभयो । यी बारहरु संसारमा भोग दिने र संपूर्ण प्राणीको मृत्यु÷भय दुर गर्नलाई तयार भयो । सुख-दुःखको सूचक पाप र पुण्यको उपलब्धि जनाउने ७ वटा बारको निश्चित भयो । जसका अलग अलग नाम, तिनका स्वामी अलग अलग छन् । शिवजीबाट परिकल्पना भएका यी बारहरुका दिनका स्वामी सूर्य हुन् । शक्तिसम्बन्धी वारका मालिक सोम हुन् । कुमारका अधिपति मङ्गल हुन् । विष्णु बारका अधिपति बुध हुन् । ब्रह्माजीको बारका अधिपति वृहस्पति हुन् । ईन्द्र बारको स्वामी शुक्र, यमवारका स्वामी शनिश्चर हुन् । आआफ्ना वारको उपासनाअनुसार फलहरु अलग हुन सक्छन् ।
उपासना र फलप्राप्ति :
सूर्य बारको उपासनाले शरीरमा आरोग्य मिल्छ । चन्द्र, सोमवारको उपासनाले भोग, ऐश्वर्य प्राप्ति हुन्छ । व्याधि रोग निवृत्तिका लागि मंगलबारको उपासना गरिनुपर्ने हुन्छ । शरीरमा पुष्टि चाहनेले बुधबारको उपासना, आयु वृद्धि चाहनेले वृहस्पति बारको उपासना, भोग, ऐश्वर्य, मनोरञ्जन चाहनेले शुक्रबारको उपासना, मृत्यु निवारण, सुधारण गर्न चाहनेले शनिबारको उपासना गर्नु पर्ने हुन्छ । सबै बारको उपासनाका फलदाता भने सदा शिवजी नै हुनुहुन्छ । रविबार सूर्यका उपासना पापको शान्ति कारक, सोमबारको चन्द्र उपासनाले लक्ष्मी प्राप्ति, मंगलबारको उपासनाले शरीर निरोगी हुने, वुधबारको विष्णु पुजाले पुत्र, परिवार र मित्र बृद्धि हुने, दीर्घायुको लागि वृहस्पतिबार, भोग प्राप्ति र सुखको लागि शुक्रबार, शनिश्चरको उपासनाले घटना दुर्घटना, अल्प मृत्यु निवारण र निरोगिता प्राप्ति हुनेछ । सूर्य आदि ग्रहको उपासना हरेक मंगल कार्यमा आवश्यक छ । अशुभ कार्यको पछाडि पनि नवग्रहको उपासना जरुरी छ । गृहस्थ व्यक्तिहरुका लागि ग्रहको उपासना जरुरी छ । पुजाका अनुष्ठानका विविध पक्रिया र विधिरु छन् । यो यसको लागि भन्ने यकिन गरी रहनु पर्दैन । निर्धन व्यक्तिले तपबाट उपासना गर्न सक्छन्, ब्रत आदि हुन सक्छ । धनवान् व्यक्तिले वृक्षरोपण, पाटी, पाठशाला, नहर, ढल, मन्दिर, शौचालय, सडकजस्ता सार्वजनिक निर्माण कार्य गरेर धर्म लिन सक्छन् । दिनदिनै समयानुसार भगवत् प्रार्थनाले, अनुष्ठानले अन्तःकरण शुद्धि हुँदै जान्छ । तन, धन र मन शुद्धि हुँदै जान्छ ।
दान र स्थान बारे :
घर मन्दिर हो । शास्त्रीय विधानले घरमा गरिएका पुण्य कुल, सन्तति र बितेका पितृहरुको लागि उद्दारयोग्य हुन्छन् । परन्तु घरमा गरिएका पुण्य फल, सन्तति र बितेका पितृहरुको लागि उद्दारयोग्य हुन्छन् । परन्तु घरमा गरिएका दान, पुण्य, अनुष्ठान, यज्ञ आदिको फलभन्दा गौशालामा गरिएको फल १० गुणा बढी हुन्छ । गौशालाका साथमा जलाशय, नदी, तडाग, सागर रहेछ भने गौशालामा प्राप्त हुने पुण्यको १० गुणा बढी फल प्राप्ति हुन्छ । त्यसमाथि पनि बेलको रुख, तुलसी वृक्ष, पीपल वृक्षका निकट रहेछ भने अनुष्ठानको फल अघिको फल भन्दा १० गुणा पुण्य प्राप्ति हुन्छ । त्यसमा देवालय रहेछ, पवित्र देवी देवताको मन्दिर रहेछ भने अघिको पुण्य १० गुणाले बढी फल प्राप्ति हुन्छ ।
तीर्थ भूमिमा, नदीका किनारामा तीर्थ भूमिको १० गुणा बढी, नदी किनारामा गरिएको र प्राप्ति हुने पुण्यको १० गुणा फल बढी प्राप्त हुन्छ । सप्तगंगामा, गंगा, गोदावरी, कावेरी, ताम्रपर्णी, सेतु, सरयु, नर्मदा आदिमा यी भन्दा बढी १० गुणा फल प्राप्ति हुन्छ । समुन्द्रका तटमा गंगासागर, रामेश्वर, कन्याकुमारी, जगन्नाथधाम आदि सागरतटमा समुन्द्र तटभन्दा १० गुणा फल बढी प्राप्त हुन्छ । पर्वतका शिखरमा, कैलाश पर्वत, मणिचूड पर्वत, गोशाइकुण्ड पर्वत, मुक्तिनाथ पर्वत, उच्च भागमा उच्च स्थानमा शिवालय चढ्न मानिस जान्छन्, हिम शिखरहरु चुम्बन् गर्छन् । सगरमाथाको शिखर चुम्वन् गर्छन् मानिसहरु ! देश देशदेखि पर्यटक, साधुशन्त भक्तहरु पर्वतका शिखरमा पुग्छन् । प्रत्यक्ष अप्रत्यक्ष रुपमा यो यज्ञ हो, महान् यज्ञ हो ।
सत्य युगमा अनुष्ठानको, पुण्यको फल पूर्णरुपमा प्राप्ति हुन्थ्यो । यज्ञ, दान, पुण्यको फल त्रेतायुगमा तीन चौथाइ मात्र प्राप्त हुन्थ्यो, द्वापर युगमा पुण्यको फल आधा मात्र प्राप्ति हुन्थ्यो । आहिले कलि युग छ, हामीले गरेका, निष्ठा पूर्वक, गरेको सुकर्म, सुधर्मको, पुण्यको फल केवल एक चौथाइ मात्र प्राप्त हुन्छ । असाध्यै भक्ति लगाएर गरिएमा पुण्य कर्मको १÷४ फल प्राप्ति हुन्छ अहिले ! जब आधा कलि बित्छ, त्यो फल अझ घट्छ । १-४ फलको प्राप्ति फेरि त्यसको १÷४ मात्र प्राप्ति हुन्छ । त्यसकारण जति समय बढ्दै जान्छ, भक्तिप्रति बढी सजग हुनुपर्ने र कर्म सुकर्म बढाउँदै जानुपर्ने हुन्छ । जति धन वृद्धिहुंँदै जान्छ, जति घर सिंगारिदै जान्छ । जति मान प्रतिष्ठा, पद बृद्धि हुँदै जान्छ, पुण्य त्यति नै बढाउनु पर्ने हुन्छ । संक्रान्तिमा गरेको पुण्य अन्य दिनमा गरेको भन्दा १० गुणा बढी फलदायी हुन्छ । कर्कट संक्रान्तिमा गरिएको पुण्य मेष सक्रान्तिभन्दा १० गुणा बढी, मकर सक्रान्तिमा गरेको पुण्य कर्कटमा गरेको भन्दा १० गुणा बढी फल दिने हुन्छ ।
त्यसैले हरेक सक्रान्ति, साल परिवर्तन, अन्य परिर्वतनका दिन थोरै भए पनि दानपुण्य गर्ने गरिएको हो । सक्रान्ति सुन्ने, सक्रान्तिमा ब्रत, तीर्थ, दान, हवन, यज्ञ गर्नु पर्ने कारण पनि यही हो । चन्द्र ग्रहणमा गरिएको दान अघिकोभन्दा १० गुणा बढी फल दिने हुन्छ । चन्द्र ग्रहणमा गरिएको दान अघिको भन्दा १० गुणाले बढी फल सूर्य ग्रहणमा गरिएको पुण्यले प्राप्त हुन्छ । ग्रहणका वखत तीर्थ स्नान गर्ने, दान गर्ने कारण पनि यही हो । ग्रहणमा राहु दोषका कारण चन्द्र, सूर्यकीरण विषाक्त बनाएको हुन्छ । प्रदूषण र विषबाट कम प्रभाव पार्नको लागि पनि सचेत हुन सिकाएको हुन्छ हामीलाई ! महापुरुष, सन्त, साधु, कृष्ण, शिव भक्त, सूर्यको उपासक, देवीका उपासक, गणेशका उपासक, विष्णुका उपासकका सामु बसेर गरिएका दान पुण्य अघि बताइएको भन्दा बढी फल दिने हुन्छन् । तपोनिष्ठ व्यक्ति, ज्ञान निष्ठ व्यक्ति पुजाको पात्र हुन्छ । तपमा नलागेको, ज्ञानको भण्डार प्राप्त नगरेको व्यक्तिलाई पुजा गर्ने गराउने अधिकार छैन ।
तप भनेको क्रोध, चिन्ता, आवेग, तनाव, इष्र्या, क्षिद्रान्वेषण नगर्नु नै हो । सत्ययुगमा तप केवल बल्कल वस्त्र धारण गरेर हुन्थ्यो भने कलियुगमा तप भनेको सत्य, धर्म, समयको मालन, कर्तव्य प्रति उन्मुख, जीवप्रति दया, उपकारको भाव, सत्संगको प्रेरणा, भगवत सेवा, चिन्तन, मनन, भजन, कीर्तन, प्रभूपाद चिन्हको ध्यान, योग वैराग्य, तनावरहित जीवन नै हो । व्यर्थ चिन्तन, व्यर्थ चेष्ठा, व्यर्थ चिन्तालाई छोडी जीवन भगवतमय बनाउनु तपस्वीको लक्षण हो । जसले २४ लाख गायत्री मन्त्र जप गरेको हुन्छ । ऊ पुजाको अधिकारी हुन्छ । जात पुजाको योग्यता होइन, रुप पुजाको योग्यता होइन, धन पुजाको योग्यता होइन, पुजाको योग्य त्यही हुन्छ जो गायत्रीको उपासक छ, प्रणव ॐ मन्त्रको उपासक छ, दीक्षामन्त्रको जो उपासक छ, मन्त्र त्यही हो, गिर्नबाट बचाउँछ, पतनबाट बचाउँछ ।
कर्म गर्नु पात्रले, दान दिनु पात्रलाई, सुपात्रलाई गरिएको दान पुण्य आफ्नो ठाउँमा पहँुचमा पुग्छन् । दाताको पातकलाई जसले त्राण दिन सक्छ त्यही पात्र हो । उद्दार त्यसैले गर्न सक्छ जो आफू उद्दार भएको हुन्छ । त्राण त्यसैले दिनसक्छ जो आफूले त्राण पाइसकेको हुन्छ । आफै अन्धो छ भने म बाटो देखाउँछु मेरो पछि लाग्नूस् भन्न मिल्दैन । गायत्रीले व्यक्तिलाई शुद्ध बनाउँछ, त्राण दिन्छ । जो भोको छ उसलाई अन्नको बढी महत्व थाहा हुन्छ । जसलाई जे वस्तुको इच्छा छ, नमागीकनै जानेर कसैले दिन्छ भने दातालाई दानको फल पूरै प्राप्त हुन्छ । याचना गरेर मागेर दिइएको फल आधा मात्र प्राप्त हुन्छ, आफ्ना सेवकलाई पारिश्रमिकको रुपमा दिइएको दानको फल १÷४ मात्रै पुण्य प्राप्त हुन्छ । जाति मात्रकै कारण वृत्ति सञ्चालन हेतु ब्राह्मणलाई दिइएको दानको फल केवल १० वर्षको लागि मात्र हुन्छ । वेदवेत्ता व्राह्मण परेछ दान लिने भने त्यो फल स्वर्गमा देवताका साथ दिव्य वर्षौसम्म त्यो फल प्राप्त भैरहन्छ । चोखो मनले दिइएको दक्षिणाको फल शुद्ध द्रव्य हो यस्तो दक्षिणाको फल अनन्तसम्म प्राप्त भैरहन्छ । दातालाई सन्तोष पनि गराउँछ यसले ! शुद्ध व्यापार, शुद्ध सेवा, शुद्ध आर्जनबाट भएको धनले अनन्तसम्म पुण्य दिने हुन्छ ।