काठमाडौं । सर्वोच्चले एमाले र माओवादीलाई आआफ्नो पार्टीमा फर्काएपछि एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल लगायतका नेतासँग परामर्श गरेका छैनन् । उनले पार्टीभित्रकै वरिष्ठ नेताहरूसँग परामर्श नगरेका कारण एमालेको पुरानो सांगठनिक संरचना सञ्चालनमा अन्योल उत्पन्न भएको छ । पार्टी पुरानै अवस्थामा आएपछि पहिलोपटक माधव नेपाल समूह पार्टीभित्र आफ्नो समूहको पुरानै अस्तित्व खोजीमा लागेको छ ।
सो समूहले मंगलबार र बुधबार आफू पक्षधर सांसद र केन्द्रीय सदस्यसँग अनौपचारिक छलफलसमेत गरेको थियो । छलफलबाट पार्टीमा सहजीकरणका लागि प्रधानमन्त्री ओली नै जिम्मेवार रहेकाले संवादको पहल पनि उनैले गर्नुपर्ने निष्कर्ष निस्केको छ । ‘सामान्य छलफल भएको हो । पछिल्लो परिस्थितिमा पार्टीलाई कसरी अघि बढाउने भन्नेबारेमा केन्द्रीय सदस्यसँग नेताहरूले परामर्श गर्नुभएको हो’, स्थायी कमिटी सदस्य रघु पन्तले भने ।
उनका अनुसार पार्टीभित्र आन्तरिक व्यवस्थापनका लागि प्रधानमन्त्रीले पहल गर्नुपर्ने निष्कर्ष निकालिएको छ । ‘तर प्रधानमन्त्रीले नेताहरूसँग संवाद गरेको पाइएन’, उनले भने । नेपाल समूह पार्टीभित्र एमालेको नवौं महाधिवेशन पछिको शक्तिसन्तुलन मिलाउन संगठित भएर लाग्ने तयारी गरिरहेको छ ।
अब बस्ने स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकअघि नेपाल समूहले केन्द्रीय कमिटी, संसदीय दल, प्रदेश र जिल्ला तहसम्म पूर्ववत् समूह संगठित गरी भूमिका बलियो बनाउने तयारी थालेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।