• मंसिर १३ २०८१, बिहीबार

वर्तमान सरकारलाई नै टिकाइने झलनाथको खुलासा

फाल्गुन २६ २०७७, बुधबार

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसालबाट पार्टी पुनःस्थापित भएकाले अब संसदमा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउन प्रयास गरिने स्पष्ट गरे ।

एमाले र माओवादी केन्द्रबीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएको थियो । नेकपा रहेका स्थितिमा भने पार्टीभित्र सरकार परिवर्तनको कुरा उठेको थियो ।

यसैबीच नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादीबीच एकता वा सहकार्य भएर सरकारलाई निरन्तरता दिने सम्भावना रहेको संकेत गरेका छन् । दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकका निर्णय सञ्चारकर्मीलाई सुनाउने क्रममा नेता श्रेष्ठले प्रधानमन्त्री ओलीले राजीनामा दिएर पार्टी एकताको पहल गरे त्यो सम्भव भएको धारणा राखे ।