डडेल्धुरा । डडेल्धुरा जिल्लामा प्रहरीले जनचेतना जगाउदै समुदाय–प्रहरी साझेदारी कार्यक्रम गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जिल्लाका विभिन्न स्थानमा जनचेतना जगाउँदै विभिन्न सन्देशमुलक कार्यक्रम गरिरहेको हो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधबार डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–५ स्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल डोटीका प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले अहिले नै अनावश्यक रूपले सूचना प्रविधिको प्रयोग गर्ने नभई विद्यार्थीले पठनपाठनलाई ध्यान दिन र आवश्यक सूचना प्राप्तिका लागि प्रयोग गरिने सामाजिक सञ्जाललगायतका माध्यमहरूलाई चनाखो भएर प्रयोग गर्न आग्रह गर्नुभयो ।
प्रहरी पनि यही समाजको अंग हो तर समाजलाई सुरक्षित गर्न प्रहरीलाई राज्यले दिएको विशेषाधिकार र कर्तव्य मात्र भएकोले समाजमा घट्न सक्ने कुनै पनि सम्भावित वा घटेका घटनाको सूचना दिएर नागरिक दायित्व निर्वाह गर्न विद्यार्थीको विशेष भूमिका रहने उहाँले बताउनुभयो ।
पछिल्लो समय अपराधिक क्रियाकलाप बढ्दै गइरहेको र ८० प्रतिशत घटना आफन्तबाटै हुने गरेको प्रहरीको तथ्याङ्क छ । प्रहरी एक्लैले मात्र केही गर्न सक्दैन हामी बर्दी लगाएका प्रहरी र तपाईं नागरिकहरू बिनाबर्दीको प्रहरी हो, त्यसैले समाजमा हुने गरेका विभिन्न अपराधिक क्रियाकलापलाई तपाईंले नियन्त्रण गर्न नसके पनि जिम्मेवार नागरिकको नाताले यस्ता अपराधिक गतिविधिको बारेमा प्रहरीलाई खबर गरी सहयोग गर्नुपर्छ भन्ने उहाँको आग्रह छ ।
जिल्ला प्रहरी कार्यालयले पछिल्लो केही दिनयता जिल्लाका विभिन्न स्थानीय तह, माविहरूमा कक्षा ८ देखि १२ कक्षामा अध्ययनरत सबै विद्यार्थीलाई प्रहरी–विद्यालय सम्पर्क बढाउन विविध विषयमा जानकारी दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
किशोरकिशोरी उमेर समूहका विद्यार्थीलाई एकै ठाँउमा राखी समाजिक संजालको प्रयोग, दुरुपयोग, खतराहरू, सम्भावित घटनाको सुरक्षा, साइबर सुरक्षा विषयसम्बन्धी अन्तरक्रिया जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो ।
विद्यालय ब्यवस्थापन समिति, बिद्यालयका शिक्षक, शिक्षिका र छात्र–छात्राहरुहरूलाई सामूहिक रुपमा अभिमुखीकरण गरी अपराधजन्य गतिविधि न्यूनीकरण गर्न जनप्रतिनिधि, समाजका सबै अङ्ग समूह सक्रिय र चनाखो हुनुपर्ने भन्दै आइपर्ने समस्यालाई समाधान गर्न कानूनी कारवाहीका लागि सहज वाताबरण बनाउन सबै पक्षको सहयोग आवश्यकता औंल्याइएको छ ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा अमरगढी नगरपालिका वार्ड नं. ५ का अध्यक्ष खेमराज पाठक, विद्यालयका शिक्षक–शिक्षिका, छात्रछात्रा सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।