काठमाडौं । जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले जानकारी दिए ।
यसअघि काठमाडौँको तारकेश्वर–१ मा दुईपटक र वडा नं ७ मा एकपटक र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एकपटक बर्ड फ्लु देखिएको थियो । बर्ड फ्लु पुष्टि भएपछि उक्त क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रण गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको छ । रोग नियन्त्रण कार्यलाई सहजीकरण गर्न पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट पशु चिकित्सकको विज्ञ टोली जाजरकोट पठाइएको विभागले जनाएको छ।
बर्ड फ्लु देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको छ । विभागका अनुसार रोग नियन्त्रणका क्रममा त्यहाँ रहेका ३०० ब्वायलर कुखुरा, ३३१ लेयर्स कुुखुरा, ७० लोकल कुखुरा, ८८३ अण्डा र २५१ केजी दाना, २०० वटा अण्डाको केटसमेत नष्ट गरिएको छ । विभागले रोग देखापरेको क्षेत्रलाई पूर्ण निसङ्क्रमणसमेत गरिएको बताइएको छ । पशुपन्छीमा लाग्ने बर्ड फ्लु नेपालमा सन् २००९ देखि देखिन थालेको हो ।