२६ फागुन, काठमाडौं । विघटित संसद सर्वोच्च अदालतले पुनःस्थापना गरेपश्चात् प्रधानमन्त्री केपी शर्मा ओली सत्ता टिकाउन प्रतिपक्षी राजनीतिक दलहरूसँग भेटघाट र छलफलमा व्यस्त छन् ।
ओलीले म्यादी सत्तालाई निरन्तर टिकाइ राख्न र आफ्नो प्रधानमन्त्री पद जोगाइ राख्न प्रतिपक्षी दल नेपाली काँग्रेस पार्टी सभापति शेरबहादुर देउवासँग आन्तरिक भेटवार्ता गरेको रहस्य खुल्न आएको छ ।
केही दिनअघि प्रधानमन्त्री ओलीले सभापति देउवालाई बालुवाटारमा बोलाएर सत्ता साझेदारीका लागि छलफल गरेको कुरा बाहिरिएको छ । ओली र सभापति देउवाबीच करिब दुई घण्टासम्म छलफल भएको देउवानिकट एक नेताले बताए ।
ती नेताका अनुसार –‘प्रधानमन्त्री ओलीज्यूले हाम्रो पार्टी काँग्रेससँग सत्ता साझेदारी गरेर जान प्रस्ताव गर्नुभयो । र, यही प्रस्तावमा प्रधानमन्त्री र सभापतिको बीचमा एक/दुई घण्टा गम्भीर छलफल भयो ।’
प्रधानमन्त्री ओलीले केही दिनअघि देउवालाई बालुवाटारमा बोलाएका थिए । उनले बालुवाटारमा आउन आग्रह गरेपछि उनीले आफुनिकट केही नेतालाई साथमा लिएर ओलीलाई भेट्न पुगेका थिए ।
भेटमा ओली र सभापति देउवाबीच सत्ता साझेदारीका लागि छलफल भएको बुझिएको छ । यद्यपि ओलीले देउवालाई सत्ता साझेदारीका लागि प्रस्ताव गरेपनि उनले अस्वीकार गरेका छनन् ।
तर, उक्त प्रस्तावमा देउवाले सर्त राख्दै ओलीलाई भने, –‘यदि काँग्रेससँग सत्ता साझेदारी गर्ने नै हो भने पूर्वमन्त्री एवम् सांसद आफताब आलमलाई रिहाइ गर्नुको साथै मुद्दा पनि फिर्ता लिनुपर्छ । त्यसपछि मात्रै साझेदारी हुन सक्छ ।’
ओलीले देउवाको सर्त पूरा गर्ने पनि बताएका छन् । सत्ता साझेदारी गर्ने नै हो भने सांसद आफताब आलमलाई तत्काल रिहाइ गर्ने सहमति भएको काँग्रेसका एक नेताले गोल मिडिया खबरलाई बताए ।
सभापतिजीले ओलीलाई भन्नुभयो, –‘केही वर्षअघि पृथकतावादी शिके रावत र विद्रोही नेत्रविक्रम चन्द ‘विप्लव’लाई भर्खर अस्ति जसरी मूलधारको राजनीतिमा ल्याउनु भयो । अब हाम्रो सांसद आलमलाई पनि छाड्ने वातावरण मिलाउनु पर्यो ?’
देउवाको प्रश्नको जवाफ दिँदै ओलीले सांसद आलमलाई रिहाइ गर्ने र उनलाई लगाइएको मुद्दा पनि फिर्ता लिने बताएको देउवानिकट एक नेताले भने । उनका अनुसार ओलीले देउवाको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ भने केही दिनमै सांसद आलम रिहा हुने उनको दाबी छ ।
प्रधानमन्त्री ओली स्वयंले पुष ५ गते संसद विघटन गरेका थिए । फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि उनी सत्ताबाट बाहिरिनुको साटो नैतिकता पचाएरै भएपनि सरकार जोगाउन कहिले नेपाली काँग्रेस त कहिले जसपासँग हातपाउ जोड्न थालेका छन् । यसका लागि उनले ती पार्टीका सर्त मान्न पनि तयार छन् । चाहे ती संवैधानिक हुन्, चाहे असंवैधानिक किन नहुन् ।
त्यस्तै सर्वोच्च अदालतले अस्ति भर्खर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदरको फैसला गरेसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सोमबारदेखि नै औपचारिकरूपमा अलग भएका छन् ।
एमालेका १ सय २० सांसद छन् भने माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए ओलीले जसपासँग मिलेर विश्वासको मत जोगाउन सक्ने छन् । त्यही भेउ पाएर ओली देउवासँग सत्ता साझेदारी गर्न उद्दत देखिन्छन् भने यसकै लागि उनी जसपासँग पनि भेटवार्तामा छन् ।
जसपाले ओलीसँग सत्ता साझेदारी गरेमा निलम्बित सांसद रेशम चौधरीलाई पनि रिहाइ गर्ने प्रतिबद्धता गरेका छन् ।