काठमाडौं – मधुमेहका बिरामीले शरीरमा चिनीको मात्रा नियन्त्रित राख्नु अति जरुरी हुन्छ। त्यसैले मधुमेह नियन्त्रण गर्न मुख बार्न भनिन्छ । मधुमेहका बिरामीले एक छाक सुख्खा रोटी, एक छाक उसिनेको चामलको भात, चिनी नहालेको चिया जस्ता खाद्यवस्तु मात्र खानुपर्ने हुन्छ। त्यस्तै, गुलियो कुरा, माटोमुनि फल्ने आलु, पिडालु खानुहुदैंन भन्ने गरिन्छ।
मधुमेहका बिरामीले खानुपर्ने खाना भनेको सन्तुलित खाना नै हो। खानाहरुको समिश्रणलाई प्लेट मोडल भनिन्छ अर्थात् सम्पूर्ण खानालाई एउटा प्लेट मानेर त्यसको कति भाग के खाने भनेर बाडिएको मोडल हो। एक छाकको खानालाई बराबर तीन भागमा बाँड्नुपर्छ । एक भागमा कार्बोहाइड्रेट, दोस्रोमा भिटामीन र खनिज पदार्थ र तेस्रो भागमा प्रोटिन र चिल्लो पदार्थ समाबेश हुनुपर्छ ।
मधुमेहका बिरामीले पनि सबै खालका खानाहरु खान हुन्छ तर सन्तुलित रुपमा खानुपर्ने हुन्छ। सामान्य अवस्थामा खाना सन्तुलित नभए पनि तत्कालै खासै फरक पर्दैन तर मधुमेह रोग लागेपछि भने खाना सन्तुलित हुनु अति जरुरी हुन्छ ।
सामान्य अवस्थामा शरीरमा चिनीको मात्रा नियन्त्रित राख्ने काम इन्सुलिन र अन्य हर्मोनहरुले आफैं गरिरहेका हुन्छन्। तर मधुमेह भएपछि त्यो सम्भव हुदैंन र रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने जटिल काम विरामी आफैंले परिवार, चिकित्सक र औषधीहरुको सहयोगमा गर्नुपर्ने हुन आउँछ। चिनीको मात्रा नियन्त्रित राख्न सकिएमा मधुमेहका खराब असरहरुलाई धेरै कम गर्न र पछाडी सार्न सकिन्छ। मधुमेहमा पोषण सम्बन्धी पालना गर्नुपर्ने केही महत्वपूर्ण बुँदाहरु यस्ता छन्।
घरमा मधुमेह रोगीका लागि भनेर छुट्टै प्रकारको खाना बनाएर छुट्याउनु हुदैंन। बरु घरका सबैजनाले सन्तुलित खाना खानु उचित हुन्छ।
कार्बोहाइड्रेट खानामा हुने शक्तिको प्रमुख स्रोत हो। त्यसैले यो अति जरुरी हुन्छ। दिनभरी चाहिने जम्मा क्यालोरी शक्तिको ५० देखि ६० प्रतिशत कार्बोहाइड्रेटबाट लिनुपर्छ। त्यसमा खस्रोपना भएका खानाहरु जस्तै मिलमा नपिनीएको चामल, ब्राउन राइस, मकैको पिठो, गहुँको पिठोको बढी मात्रामा प्रयोग गर्नुपर्छ ।
माछा, मासु, अण्डा, दूध दही पनि खान नहुने भन्ने होइन। यिनमा प्रोटिनको मात्रा प्रशस्त हुन्छ र शरीरको वृद्धि विकास, मर्मत सम्भारको लागि यो आवश्यक हुन्छ। त्यसैले चिल्लो कम भएका प्रोटिनयुक्त खानाहरु आवश्यक मात्रामा खान जरुरी हुन्छ। मधुमेहका कारणले मिर्गौलामा समस्या देखापरेमा चिकित्सकको सल्लाहमा प्रोटिनयुक्त खानाको मात्रा घटाउनुपर्ने हुनसक्छ।
भिटामीन, खनिज पदार्थ भएका हरियो सागसब्जी, फलफूलहरु पनि आवश्यक मात्रामा सेवन गर्नुपर्छ। रेशादार खानाहरुले खानापछि रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न, रगतमा बोसो कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा राख्न, कब्जियतको समस्या कम गर्न, रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्ने गर्छ।
चिल्लो पदार्थ पनि हाम्रो शरीरका लागि आवश्यक हुन्छ। तसर्थ यो पनि प्रयोग गर्नुपर्ने हुन्छ तर आवश्यक मात्रामा मात्र र स्वर्थवर्धक तेलको प्रयोग गर्नुपर्छ।
स्वस्थवर्धक तेल भनेको के हो ?
मुटुको लागि राम्रो मानिने बोसो एचडिएलको मात्रा बढाउने र हानिकारक बोसोलाई घटाउने खालका तेलहरुलाई स्वस्थवर्धक तेल भनिन्छ। कुन तेल स्वस्थवर्धक हो र कुन होइन भनेर सजिलै थाहा पाउन (जुन तेल सामान्य तापक्रममा तरल हुन्छ, ती सामान्य तापक्रममा जम्ने तेल वा घ्युभन्दा स्वस्थवर्धक हुन्छन्। रातो बक्समा भएका तेल, घ्युहरु स्वास्थ्यका लागि हानिकारक हुन्, तिनीहरुको सेवन सकेसम्म कम गर्नुपर्छ। त्यस्तै ओमेगा थ्रि बोसो भएको माछाको सेवन पनि स्वास्थ्यको लागि राम्रो मानिन्छ।
खानाहरुको साथै पानी पनि प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। दिनभरमा कम्तिमा ६ देखि ८ गिलास पानी सेवन गर्ने गर्नुपर्छ।