• बैशाख १९ २०८२, शुक्रबार

महाशिवरात्रि : तीन स्थानबाट पशुपति दर्शन गर्न सकिने, मास्क अनिवार्य

फाल्गुन २५ २०७७, मंगलवार

काठमाडौँ । यस वर्षको महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना बनाइएको छ। आवश्यकताअनुसार तिलगङ्गा राममन्दिरतर्फ एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन-तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ ।

कोरोना महामारीका कारण यस वर्ष सातदेखि आठ लाख भक्तजनले मात्र पशुपतिनाथमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थलमार्गबाट आउने सीमानाकामा कडाइ जारी रहेकाले हवाइमार्गबाट आउने भक्तजन र साधुसन्त मात्र आउनेछन् । साधुसन्तको सङ्ख्या पनि विगत वर्षको भन्दा कम हुने जनाइएको छ ।
करिब तीन हजार साधुसन्त पशुपति क्षेत्रमा आइसकेको कोषले जनाएको छ ।

१० हजार सुरक्षाकर्मी परिचालन गरिने

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा तीन दिनअघि अर्थात् आजैदेखि करीब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । विगत वर्षमा जस्तै यसपटक पनि दर्शनका लागि विशेष पासको व्यवस्था गरिएको छैन । दर्शन गर्न चाहनेले लाममै बसेर मन्दिर प्रवेश गर्नुपर्नेछ । वृद्धवृद्धाका लागि भने स्वयंसेवकबाट छिटो दर्शन गराउने व्यवस्था मिलाइनेछ ।

पशुपतिनाथ मूल मन्दिरका चारै ढोका महाशिवरात्रिका दिन बिहान चार बजेदेखि नै खोलिने छ । बिहान चार बजेदेखि राति दर्शनार्थी नसकिएसम्म पशुपतिनाथका चारै ढोका खुला गरिने कोषले जनाएको छ । कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउन भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ । मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न चाहने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्ने छ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रभित्र पर्ने चावहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चक्रपथमा सार्वजनिक यातायात रोकिने छैन । मालबाहक सवारी भने रोक्ने गरी सुरक्षा एवं यातायात योजना बनाइएको कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा ६० वटा संस्थालाई स्वयंसेवा गर्न, २५ वटा संस्थालाई स्वास्थ्य शिविर राख्न र २० संस्थालाई निःशुल्क भोजनको व्यवस्था गर्न अनुमति दिइएको छ । विगत वर्षमा स्वयंसेवक परिचालन गर्ने अनुमति लिएर आफैँ दर्शन गर्न जाने एवं तोकिएको काम नगर्ने संस्थालाई यस वर्ष जिम्मेवारी दिइएको छैन ।