• मंसिर ११ २०८१, मंगलवार

बुबाको श्राद्ध

फाल्गुन २५ २०७७, मंगलवार

सन्दर्भ :

बुबा बित्नुभएको एक वर्ष पुगेछ । मानिस दिलले कम दिमागले ज्यादा बाँच्दछ । बुबा दिमागले कम दिलले ज्यादा बाँच्नुभयो । त्यसैले उहाँको जीवनको उत्तराद्र्ध निस्सार रह्यो । ठूलीआमाको आत्महत्यापछि उहाँ केवल दिलले बाँच्नुभयो । हिन्दूहरूमा पितृस्मरण गर्ने पुरानो तरिका छ, श्राद्ध । श्राद्धको अर्थ हो श्रद्धा, भक्ति पितृप्रतिको । श्रद्धा एक भावनात्मक विषय हो । असल भावनाको साथ पितृको स्मरण गर्नु श्रद्धा हो ।
मान्छे बाँचुन्जेल पितृको चित्त दुखाउँछ, मुटु नै छियाछिया हुने गरी शब्दबाँण हान्छ अनि मरेपछि परम्पराको फेरो समात्दै श्राद्ध गर्छ ।

उसको यो कर्म पितृको श्राद्धमा पर्छ कि श्रद्धामा ? कि ज्युँदाहरूले मृतकका नाममा गर्ने सबै अभिनय श्रद्धाभित्र स्वतः पर्ने हुन् ? कि श्रद्धाको जीवाणु मान्छेको लाशमाथि फस्टाउँछ ? म यस्तो कर्मकाण्डीय श्राद्धलाई अभिनय भन्छु, कलाकारीे अभिनय । श्रद्धा गर तर अभिनयरूपी श्राद्ध नगर ।
अभिनयशील कलाकार भित्र हाँसिरहेको हुन्छ तर बाहिरबाहिर रोएको नाटक गर्दछ । अभिनय श्रद्धा होइन । हुन पनि सक्दैन । जो यथार्थमा छँदै छैन । उसको सम्झना गर्नु र उसका आदर्शलाई ग्रहण गर्नुभन्दा महान् कर्म अरू के हुन सक्छ ? यही श्रद्धा हो र श्राद्ध पनि हो । यदि ऊ असल सोच र विचारको थियो भने उसका आदर्शलाई जगाउनु, फैलाउनुु श्रद्धा हो । आफ्नै आँखा अगाडि खरानी भई गएकोे मानिस जो ढुङ्गा पनि रहेन । त्यस मानिसको अस्तित्व खै कहाँ रहेको देख्यौ ? अस्तित्व बाँकी छ त केवल कल्पनामा, सपनामा ।

श्राद्ध कि श्रद्धा ?

प्रभातले वर्षदिनको तिथिमा बुबाको फोटोलाई कोठाको एक कुनामा सजाएर राखेको थियो । ऊ पिताको तस्वीर अगाडि पलेटी कसेर बस्यो र आँखा चिम्म गर्दै बाबुलाई सम्झियो । लामो मौन संस्मरणपछि उसले छरछिमेकमा मिठाइ बाँड्यो, श्रद्धाको प्रसाद ।

बुबाको श्राद्ध गर्ने तरिका देखेर धेरै आश्चर्यचकित भए । छिमेकीहरू भन्दै थिए ‘तिमी इतिहास र परम्पराको हत्या गर्दै छौ । गर्ने भए विधिपूर्वक बाबुको श्राद्ध गर । होइन भने यो तमासा अर्को साल नदेखाउ । पुर्खाहरूद्वारा निर्मित संस्काररूपी घरको ईंटाहरू एकएक गर्दै निकाल्दै जाने हो भने कुनै दिन हामी बेघर भै जङ्गलवासी हुन पुग्ने छौँ । तिमी पूर्खाहरूले निर्माण गरेको घरमा आगो लगाउँदै छौँ । तिमी घर जलाएर खरानीको टीका लगाउने मध्येका हौ ।’

प्रभात उनीहरूका कुरामा सहमत हुन सकेको थिएन । उसले भन्यो ‘श्रद्धा भन या श्राद्ध जेसुकै नामदेऊ, मेरो पितृप्रति श्रद्धा गर्ने आफ्नै तरिका छ । मेरो कुरा मान्छौ भने तिमीहरू पनि पितृको वार्षिक तिथिका दिन संपूर्ण परिवार उसकोे तश्वीर अगाडि बसेर ध्यान आरधना गर । उसका असल कर्मको बयान गर । बृद्ध, बिकलाङ्ग, दुःखी, गरिव र पशु–पञ्छीलाई आआफ्नो औकातले भ्याएको भोजन गराऊ । गरिब, दिन दुःखीलाई दान दक्षिणा देऊ । कुनै पवित्र कार्य गर्नुपर्ने भए त्यसको शुभारम्भ त्यही दिनमा गर ।

संस्कार र संस्कृतिका निर्माता भनेका मानिस नै हुन् । मानवशास्त्री मलिनोवस्की भन्दथे ‘संस्कृति मानवको व्यक्तिगत एवम् जैविक आवश्यकता पूर्तिको लागि बनाइएको एक माध्यम हो ।’ यो मानवले वातावरणसँग गरेको सम्झौता हो । ईश्वर वा अलौकिक सत्ताको उपहार होइन । संस्कार र संस्कृति मानिस जन्मे हुर्केको परिवेश सापेक्ष वा युग सापेक्ष हुन्छ ।

युग सापेक्ष रुपान्तरण :

जुन वस्तु जति कठोर हुन्छ त्यो त्यति नै छिटो भाँचिने सम्भावना रहन्छ । काठमाथि निश्चित शारीरिक बलको प्रयोग भयो भने दुई टुक्रा हुन्छ तर त्यतिनै बल बाँसमाथि लगाउँदा भाचिँदैन, बरु दुनिन्छ, दोब्रिन्छ मात्र । किनकि काठको तुलनामा बाँस नरम हुन्छ । संस्कार र संस्कृति भनेको पनि त्यस्तै हो । संस्कृतिलाई बचाउने हो भने त्यसको मर्म अनुसार युग वा समयसापेक्ष सुधार गर्दै जानु पर्दछ ।

पहिलेका ऋषिमुनि जङ्गलमा बस्थे तर आज हामी इटा सिमेन्ट जोडेर बनाएको घरमा बस्छौँ । त्यति बेलाका बालक शिक्षा हासिल गर्न गुरुकुलमा पठाइन्थे तर आज हामी आफ्ना छोराछोरीहरूलाई सरकारी र नीजि स्कुलमा पठाउँछौँ । जुन वस्तुले मानिसका जैविक आवश्यकता पूरा गर्न छोडछ, तब त्यो स्वतः हराउन थाल्छ । जसरी गुरुकुल हराउँदै गयो । काठका रथको ठाउँ मोटर गाडीले लिनथाले । आँखा अगाडि जलेर खरानी भएको मानिसलाई वैतरणी नदी पार गराउने नाममा हुने खाने पण्डित पोस्नु वा दान दिनुको बदला असहाय, गरिब, भोका, नाङ्गालाई अर्थ तथा वस्त्र दान गरेर हामी मृत मानिसप्रति श्रद्धा व्यक्त गर्न सक्छौँ ।

ग्रिक मिथक :

ग्रीक मिथक भन्दछ–‘नारकोसिस नामको युवक अति सुन्दर थियो । उसलाई आफ्नो सौन्दर्यप्रति अभिमान थियो । ऊ हरेक दिन तलाउको डिलमा जान्थ्यो र पानीमा आफ्नो रूप देखेर दङ्ग पर्दथ्यो । सौन्दर्य अभिमानकै कारण उसले एउटी सुन्दरीको प्रेम प्रस्ताव अस्वीकार गरेको थियो । जब ऊ पानीमा आफ्नो रूप हेर्दथ्योे तव आफ्नो सुन्दरता देखेर अति मोहित हुन्थ्यो र भन्थ्यो ‘आहा ! म कति राम्रो । म यति राम्रो रहेछु ।’
भयो के भने नारकोसिस कैंयौँ दिनसम्म घर नगएर तलाउको डिलबाट आफ्नो रूपको छवि हेर्दै बस्न थाल्यो । त्यस्तैमा एक दिन उसको अकाल मृत्यु भएको समाचार फैलियोे ।’ वृथा सौन्दर्याभिमान र आत्मरतिका कारण नारकोसिसले जस्तै हरेक संस्कृतिले अकाल मृत्यको नियति भोग्न सक्छन् ।

हाम्रा जति घर छन्, त्यो भन्दा धेरै मन्दिर छन् । तेत्तिसकोटी त देवीदेवता मात्र छन् । कसैका चार हात छन्, कसैका सहस्र बाहु, कसैका तीन मुख । कोही अविच्छिन्न सयौँ वर्षसम्म रतिक्रिडामा लीन रहन सक्ने अलौकिक क्षमता राख्छन् । हाम्रा देवीदेवताले ‘फू..’ गर्दा जगतै ध्वस्त गर्ने दिव्यास्त्र फुत्त हातमा आउँछ । शब्दभेदी बाँण छन् उनीहरूसँग । देवता मात्र होइन, बाँदर पनि यति शक्तिशाली छन् कि विशाल समुन्द्र एकै फड्कोमा नाँघ्न सक्छन् । मन्त्र जपमार्फत् तत्काल सूर्य ग्रहण हटाई संसारै उज्यालो पार्न सक्ने अत्रि ऋषि छन् हामीसँग ।

मन वचन र कर्ममा एकत्व :

पहिलेको मात्र के कुरा ‘द्वापर युगका कृष्णको मुरलीको धुन अहिले पनि कानमा गुन्जिरहेको ठान्ने मीराहरूको आज पनि कमी छैन हामीसँग । शिवको आराधना गरी इच्छित वर प्राप्त गर्ने धुनमा कलियुगका पार्वती दिनरात निराहार भै जाग्राम बस्छन् । हामी भित्र सुन्दर बिम्ब छ भगवानको, ईश्वरको । हरे राम हरे कृष्णको जप मात्रले संपूर्ण पाप मोचन हुन्छ भन्ने विश्वास छ हामीमा । हामीभित्र नारकोसिसले आफूभित्र देखेजस्तै भगवान्, ईश्वर, अनि देवीदेवताको सुन्दर छबी छ ।

निष्कर्ष :

हामीले शिव भजन बनायौंँ ‘सत्यम् शिवम् सुन्दरम्’ । सत्य नै शिव हुन्, शिव सुन्दर छन्, शिवभन्दा सुन्दर कोही छैनन् । शिव थिए, यो मान्नमा कञ्जुस्याइँ किन गर्ने तर युगौं अघिका शिव अहिले पनि साक्षात् छन्, यो कुरा बलजफ्ती पत्याउनै पर्नेे हो र ? शिव विगत हुन्, वर्तमान होइनन् । कोही भन्छन् दशकौँ समाधिमा लीन हुनेले मात्र शिवत्व प्राप्त गर्न सक्छन् । तिमी एकले मात्र दखेको तर अरूलाई देखाउन नसकेको विषय अहिले पनि अस्तित्वमा छ भनेर संसारले कसरी मान्ने भनेर प्रभातले लामै प्रवचन दिएको थियो त्यस दिन ।