काठमाडौं । तत्कालीन एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताउने फैसला सर्वोच्च अदालतले गरेसँगै पुनः दुई पार्टीबीच गठबन्धन बनाएर सरकार गठनको गृहकार्य अगाडि बढेको छ । नेकपा एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल संकटमा परिरहेको बेला पुनः दुई पार्टीको गठबन्धनको गृहकार्य अगाडि बढेको हो ।
सर्वोच्च अदालतको फैसलापूर्व नै एमालेका नेताद्वय घनश्याम भुसाल र शंकर पोखरेलबीच एकताको विषयमा संवाद भएको थियो । नेताहरुबीच विभिन्न विकल्पमा छलफल अगाडि बढेको एक नेताले बताए । सर्वोच्चको फैसलासँगै एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली बलियो भएका छन् ।
एमालेमा भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको सहकार्यमा रहेका छन् । नेपाल पक्षका नेताहरु संकटमा परिरहेका बेला अहिलेको संकट टार्नका लागि प्रधानमन्त्री ओली र नेपाल पक्षका दोस्रा तहका नेताहरु परामर्शमा जुटेका छन् । नेपाल पक्षका एक नेताले भने– ‘दुई पार्टी अलग भएको अवस्थामा अहिलेको पार्टी जोगाउन र कार्यकर्ताको मनोबल उच्च बनाउन दुई पार्टीबीचको गठबन्धन बनाउनुपर्छ भन्ने विषयमा छलफल अगाडि बढेको छ ।’
उनका अनुसार तत्काल प्रधानमन्त्रीबाट केपी ओलीले राजीनामा दिने र ओली पक्षबाटै पुनः प्रधानमन्त्री बनाउन सकिने गरी परामर्श शुरु भएको छ । प्रधानमन्त्री ओलीले राजीनामा दिन तयार भएको अवस्थामा दुई पार्टीको गठबन्धनमा पुनः वाम गठबन्धनकै सरकार गठनमा दोस्रा तहका नेताहरु सक्रिय बनेका छन् ।
सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपालको समूहको अन्तिम स्थायी समिति बैठकले पनि पार्टी एकतालाई नयाँ शिराबाट शुरू गर्ने निष्कर्ष निकालेको छ । नेकपाका स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी एकताको विषयमा फेरि छलफल गर्नुपर्ने बताए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।