सर्वोच्चको परमादेश आदेशद्वारा पुनस्र्थापित संसद अधिवशनको पहिलो वैठक आइतवार अपरान्ह बस्नै लागेको पूर्वसन्ध्यामा ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता प्रदान गरिएपछि यो एक मिसाइल बनेर संसद भवनभित्र पड्कन पुगेको छ । यसको धमाकाले सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) साबिक एमाले र माओवादी केन्द्रका रुपमा दुई टु्क्रा बनेर आजभन्दा अढाइ वर्ष पछाडिको दुरीसम्म उछिट्टिन पुगेका छन् ।
यसले वर्तमान ओली सरकारलाई एउटा चाइटोको अल्पमतमा परिणत गरिदिएको छ भने दाहाल–नेपालको अर्को चोइटोलाई भित्तामा पुर्याइदिएको छ । संसदमा उपस्थित प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि कट्टेल मिसाइलको धमाकापछि के गर्ने र के नगर्ने भन्ने अवस्थामा पुर्याइदिएको छ ।
संसदमा रहेको अर्को दल जनता समाजवादी पार्टीलाई कट्टेल मिसाइलको धमाकाले कसलाई के कति क्षति पुर्याएको छ भनेर निकै नियालेर हेर्ने अवस्थामा धकेलिदिएको छ । धमाकाको प्रभाव मूल्यांकनमा यो अहिले जुटिरहेको देखिन्छ । अहिले पार्टीहरु एकअर्कालाई सुँघ्न, जान्न र राय बुझ्न व्यस्त रहेका छन् । उता ऋषि कट्टेल भने आफूले पार्टीको स्वामित्व पाइसकेपछि सत्ता, शक्ति र आडम्बरको भरमा आफूलाई भित्तामा पुर्याउन खोज्नेहरुको वास्तविक हैसियत संसदमा छताछुल्ल पोखिन पुगेकोमा खुशी छन् । अहिले सबैभन्दा धेरै खुशी उनै ऋषि कट्टेलमा देखिएको छ ।
त्यसपछि खुशी हुनेमा प्रधानमन्त्री ओली रहेका छन् । उनले धेरै अघिदेखि गरिरहेको दल फुटाउने प्रयास अहिले आएर सफल हुन गएकोमा निकै प्रशन्न व्यक्त गरिरहेका छन् । उनले चिताएको पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र सूर्य चिन्ह आफूले पाएपछि पार्वतीले अघोर तपस्या गरेर महादेव पाएको भन्दा पनि बढि आनन्दित र मोहित हुन पुगेका छन् ओलीजी ! उनका लागि अहिले ‘गरे हुन्छ, छरे पाक्छ’ भन्ने उखान साँच्चिकै सही रहेछ क्यारे भन्ने भान परिरहेको छ ।
उता दाहाल–नेपाल भने कट्टेल मिसाइलको धमाकाले थङथिलो हुन पुगेका छन् । पूर्व माओवादी केन्द्र पुनस्र्थापना गरेर जाऔं भने माधव नेपालको पंक्तिको अपनत्व त्यसमा रहने छैन । नगरौं नयाँ पार्टी दर्ताको प्रक्रियामा जानुपर्छ । नयाँ पार्टी दर्ताको प्रक्रियामा जाँदा ओलीले एमाले र सूर्यमा लिएको जस्तो अपनत्व पाउन निकै लामो समय ‘पापड’ बेल्नु पर्ने हुन्छ । मेहनत गर्नुपर्ने हुन्छ । यो समूहका अध्यक्ष माधव नेपालले भनिसकेका छन्– समय अघि बढिसक्यो, साबिक पार्टीहरु अब इतिहास भैसके, ती पार्टीमा जाने भनेको केवल इतिहासको खोलभित्र पस्नु मात्र हो ।
तर पनि ओली समूहलाई नयाँ पार्टी खोल्ने झन्झट आइ परेन । तर पनि त्यहाँ साबिक माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु बग्रेल्ती छन् । प्रम कपी ओलीले अब छिट्टै नेकपा (एमाले) पार्टीको मिटिङ बोलाउँछु भनेकाले त्यहाँ रहेका माओवादीहरुको पृष्ठभूमि एउटा र पार्टी अर्को (वा एमाले) हुने बिडम्बना सिर्जना हुन गएको छ । त्यहाँ गृहमन्त्री बादल, टोपबहादुर रायमाझी, मणि थापालगायतका मन्त्री तथा नेताहरु यो कित्तामा पर्दछन् । त्यसो त एमालेका युवा नेता महेश बस्नेतले एमालेमा टाँसिन आएका गलगाँड फाल्नु पर्छ भनेर यस अघि नै सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
यसले नेपालको राजनीतिमा एक गम्भीर मोड ल्याइदिएको छ । ऋषि कट्टेल मिसाइलले ल्याएको यो मोडलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिमा एक ‘नयाँ राजनीतिक कोर्स’ का रुपमा अथ्र्याएका छन् । यो कुरो साँचो हो पनि । यदि वैधानिकताकै खोजी गर्ने हो भने तात्कालीन सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी प्रत्यक्ष र समानुपातिक सांसद त्यति सजिलै साबिक एमाले र माओवादी केन्द्रका सांसदमा रुपान्तरण हुन सक्दैनन् ।
देशमा ‘सत्ता भ्याकुम’ वा ‘सत्ता रिक्तता’को अवस्था सिर्जना भैसकेको छ । सबैभन्दा ठुलो पार्टी नै नरहेपछिको अवस्थामा अन्य साना पार्टीको अस्तित्वले संसदको के कति औचित्यता पुष्टि गर्ला र ? यसले त संसदमाथि नै प्रश्न चिन्ह खडा हुन्छ । यो अवस्था अहिले सिर्जना भएको छ । सबैले सोच्नैपर्ने भएको छ, जरा सम्हाल के ।