• मंसिर १३ २०८१, बिहीबार

कपिलवस्तु पुगेर सेना-प्रहरीलाई यसरी फकाए विप्लवले, ओली र प्रचण्डलाई के भने ?

फाल्गुन २४ २०७७, सोमबार

काठमाडौं । केहीदिन अघिमात्र प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टी जनताको न्यायका लागि लड्न नछोड्ने दावी गरेका छन् । आफ्नो पार्टी हारेर वार्तामा नआएको भन्दै विप्लवले विदेशी हस्तक्षेप, समाज र सत्तामा न्याय स्थापित नहुँदासम्म आफ्नो पार्टी निरन्तर लडिरहने बताए ।

‘सत्यसित लड्दिन, असत्यसित झुक्दिन’ भन्ने कपी ओलीले आफ्नो पार्टीले लिएको सत्यको बाटोको विरुद्ध लड्न नसकेर आफूलाई वार्तामा बोलाएर प्रतिबन्ध खुला गरेको विप्लवको भनाई रहेको छ । मानव तस्करलाई कारवाही गर्यौं, एनसेलले नेपालीलाई ठग्यो त्यसलाई कारवाही गर्यौं, युवालाई रोजगारी देउ भन्यौं, के हामीले गरेको यो काम गल्ती थियो ? सरकारले गर्नुपर्ने काम गरेन हामीले गर्यौं के गल्ती हो ?’ विप्लवको प्रश्न थियो ।

कपिलवस्तुमा आज १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा क्रान्तिकारी महिला संगठनले आयोजना गरेको सभामा बोन्दै विप्लवले यस्तो बताएका हुन् । अखिल नेपाल महिला संघ क्रान्तिकारी को ७औं राष्ट्रिय सम्मेलन  कपिलवस्तुमा चलिरहेको छ । आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएर १ महिनामै सिध्याउँछु भन्नेले दमन गरेर सिध्याउन नसकेपछि आफूलाई वार्तामा बोलाएको विप्लवको दावी रहेको छ ।

आफ्नो पार्टीलाई मारेर सिध्याउन खोजे, मुद्धा लगाएर जेलमा सडाउन खोजेपनि आफ्नो पार्टीको लाइन सत्यको लाइन भएकोले राज्यले जनतासित हारेको विप्लवको भनाई रहेको छ । एक प्रसंगमा विप्लवले प्रचण्ड र बाबुरामले गलत बाटो लिएका कारण आज त्यो हालतमा पुगेको दावी गरे । प्रचण्ड र बाबुरामहरुप्रति उनको प्रश्न थियो, ‘देशका लागि रगत दिने कमरेडलाई छोडेर भाग्न पाइन्छ ?’ ।

हजारौं जनताको सहभागीतामा भएको सभामा एक प्रसंगमा विप्लवले भने,‘प्रचण्डले माधवजी नभएको भए म कमण्डलु लिएर हिँड्ने भइसक्थें भन्नु भएको छ, के त्यो लाचारीपन होइन ?’ विप्लवले आफू पनि चाहेको भए मन्त्री हुनसक्ने भन्दै न्यायका लागि संघर्षमा होमिएपछि ‘मन्त्री हुन नपाएर जंगल पसेका भन्नेहरुले अब त कुरा बुझ्नु पर्ने हो’ उनको भनाई थियो ।

नेपाली सेनाका प्रधान सेनापतिले केही दिनअघि गरेको ट्वीटको व्याख्या गर्दै विप्लवले जागीर छाडेर विदेश नजाउ भन्दैमा कोही रोकिन नसक्ने भन्दै युवालाई रोजगारीको वातावरण बनाउनु पर्नेमा जोड दिए । सेना र प्रहरीले हाल पाएको तलबले खान लाउन नै मुस्किल भएको भन्दै विप्लवले आफ्नो पार्टी ती सेना र प्रहरीको हितको लागि पनि लडिरहेको बताए । केही दिनअघि उनको पार्टीमाथि लगाएको प्रतिबन्ध खुला भएपछि सो पार्टीका नेताहरु जनसभा गर्दै देशभर हिंडीरहेका छन् ।

एक प्रसंगमा विप्लवले जनयुद्धमा महिलाको ठूलो भूमीका निभाएको र अबको क्रान्तिमा पनि महत्वपूर्ण भूमीका रहने भन्दै माओवादी जनयुद्धकै कारण आज नेपाली सेनामा महिलालाई पनि स्थान दिइएको विप्लवको भनाई रहेको छ । चुलोचौकोमा जकडिएका र पुरुषको दास बनाए का महिलाहरु आज अधिकारका लागि लड्न सक्ने बन्नुमा माओवादी जनयुद्धको ठूलो भूमीका रहेको उनको भनाइ रहेको ।