• मंसिर ८ २०८१, शनिबार

रोबोटिक सामान उपयोगमा सतर्कता

फाल्गुन २४ २०७७, सोमबार

काठमाडौं । अहिले कृत्रिम सामान र त्यसमा पनि रोबोटिक सामान मानिसको जीवनमा अभिन्न भएर आएका छन् । तथापि मानिसमा रोबोट या कृत्रिमताप्रतिको भय भने हराएर गएको छैन । आवश्यकताले साथमा काम गरिरहने र डराइरहने पनि भैरहेको छ ।

यसका पछाडि धेरै कुराले काम गरिरहेका छन् । तिनले मानिसको मनोविज्ञानमा पनि ठूलो असर पारिरहेका छन् । मानिसको मनोविज्ञान कतै रोबोटिक मनोविज्ञानको नजिक पुग्ने त होइन भन्ने आशंका पनि यसले उब्जाएको छ । यो आशंका आजका दिनमा सामान्य होला, तर केही समयपछि विकराल समस्याका रुपमा आउने पनि देखिन्छ ।

सुरुको चरणमै मानिसमा देखिएका तीन मुख्य कारण यस प्रकार रहेका छन् :

(क) रोबोट आफैमा सुरक्षित छैनन् :

मानिसलाई सुरुमै लाग्छ कि रोबोटिक सामान आफैमा सुरक्षित छैनन् । किनकि, तिनीहरु मेसिन हुन् । पूर्वनिर्धारित बाहेक बदलिएको परिस्थितिमा मेसिनको आफ्नै सोच्ने, विचार गर्ने, समीक्षा गर्ने, पुनर्विचार गर्ने र दोहर्याएर अजमाउन सक्ने क्षमता तिनीहरुमा हुँदैन । त्यसैले पनि ती असुरक्षित हुन्छन् । ती खतरनाक पनि हुन्छन् ।

यो सोच जोकोही मानिसमा पनि रहने गरेको पाइन्छ । स्वाभाविक पनि हो, यो । तर पनि मानिसले नै बनाएका कारण यसलाई मानिसले चलाउन र नियन्त्रण गर्न सक्छ भन्ने कुरामा हेक्का कम राखिएको देखिनाले त्रास बढी भएको पाइन्छ ।

(ख) तिनीहरुले मानिसको रोजगारी खोस्छन् :

पछिल्लो सामयमा रोबोटको विकास र बिस्तार निकै नै भैरहेको छ । रोबोटमा राखिएको कृत्रिम बौद्धिकताका कारण उसले मानिसले झै काम गरेर सेवा प्रदान गर्न थालिहाल्छ । यो सेवा पनि गुणस्तरीय दिन थाल्छ । यसका कारण मानिसले पाइआएको रोजगारी अब रोबोटका कारण खोसिन्छ भन्ने कुरामा सबैको आशंका छ ।

यो केही मानेमा सही पनि हो । तर मानवले प्राथमिकता मानवलाई नै दिनु पर्छ । प्रविधि यसपछिको प्राथमिकतामा पर्नुपर्छ । मानिसले गर्न असंभव कामहरुमा वा जोखिमपूर्ण कामहरुमा तिनीहरुको उपयोग गरिनु निकै बुद्धिमत्तापूर्ण हुन जाने छ । यस कुरालाई उद्योगी, व्यापारी, व्यवसायी, सेवा प्रदायक वा रोबोटिक सामानका प्रयोगकर्ताले बेलैमा ध्यान दिनुपर्छ ।

(ग) रोबोटले निम्त्याउने खतरा :

रोबोटमा प्रयोग गरिएको कृत्रिम वौद्धिकताले मानिसको क्षमता बिस्तार र विकासमा ठूलो असर पार्ने स्वयम् वैज्ञानिक नै बताउँछन् । मानिसले आवश्यकताका आधारमा कृत्रिम वौद्धिकता राखिदिएर रोबोटलाई विना कुनै झन्झट प्रयोग गर्न अभ्यस्त भएमा यसले मानव समाजमा निकै ठूलो समस्या निम्त्याउने छ ।

रोबोट र रोबोटिक काम र कार्यक्षमतालाई लिएर मानिस माझमा विवाद उत्पन्न हुने र मानिसका बीचमा रोबोट फौजको प्रयोग हुनसक्ने संभावनालाई पनि अस्वीकार गर्न सकिदैन ।

त्यसैले रोबोट र रोबोटिक सामानको उत्पादन, प्रयोग र उपयोगमा मानिस निकै सतर्क हुनु जरुरी छ । रोबोट कामै लाग्दैन र बनाउनै हुँदैन भन्ने त होइन, तर यसको दीर्घकालीन उपयोगिताका बारेमा निकै गम्भीर भने हुनुपर्छ ।