• मंसिर ११ २०८१, मंगलवार

धुलो बढ्न नदिन घोराहीबासीले अपनाए यस्तो तरिका

फाल्गुन २४ २०७७, सोमबार

सडक त गज्जब बनेछ नि ? यो प्रश्न सोध्दा घोराही–१४ गौतम नगर हस्पिटल रोडका नारायणप्रसाद भुषाल निक्कै खुशी भएर खितिक्क हाँस्नुभयो, ‘अँ राम्रै भएको छ’, जवाफ दिनुभयो । उहाँ जस्तै धेरै मानिस धुलोबाट मुक्त भएको बताउँछन् । पिच पछिका अनेकौं फाइदा सुनाउँछन् । त्यहाँको सडक र बजारका अरु क्षेत्रको पिच गराइमा भिन्नता छ । धुलोबाट मुक्त भयौं, वली होटल एण्ड फ्रेस हाउसका दीपक वलीले भन्नुभयो । दिनमा आठ दश बाल्टी पानी जोगिएको छ । उहाँका अनुसार दिनमा तिन चारपटक सडक पानी छम्किनु पर्दथ्यो । अहिले वारको पार सडक छपक्कै पिच भयो । माटो झर्ने ठाउँ रहेन । त्यसैले धुलोबाट बञ्चित हुन पाइयो ।

उहाँका अनुसार काटेर राखेको सलाद धेरै पटक फाल्न परेको छ । उमालेको चाउमिन राख्न मिल्दैन्थ्यो । धेरैपटक फाल्नुपरेको थियो । ग्राहकलाई चाँडै चाहिने उमालेर चाउमिन राख्न नमिल्ने । केहि दिन अघि सडक कालोपत्रे भएपछि धुलोबाट मुक्ति पाइयो र व्यापार बढ्यो । खेरफाल्नु परिन । एकैदिनमा सामान पुरानो देखिन्थ्यो, वलीले भन्नुभयो– डेट गया हो कि भनेर ग्राहकले मन गर्दैन्थे । उहाँका अनुसार छपक्कै धुलो बस्थ्यो । दिनमा धेरैपटक धुलो झार्दापनि उस्तै बनाउँथ्यो । अहिले त्यो टन्टा पनि हटेको छ । ग्राहक पर्खिएर बस्ने एकहोरो भएको छ । बिग्रिने डर छैन । फाल्नु पनि पर्दैन ।

पुरानो सडक ओजारी सकेपछि लामो समय काम अघि बढेन । ठेकेदारले ठाउँठाउँमा माटो थुपारेर अलपत्र पारे । त्यहि माटो उडेर कुहिरीमन्यौल हुन्थ्यो । नाक मुख नथुनेर हिँड्नै सकिन्नथ्यो । आजभोलि आनन्द भएको छ, न्यू माया सुनचाँदी पसलका गणेश कँडेलले भन्नुभयो, सबैले सहयोग गर्नुभयो । बाटो कालोपत्रे भयो । उहाँका अनुसार ठेकेदारले काम सुरु गरेपछि टुङ्ग्याएको भए उतिबेला गुनासो गर्ने पर्ने थिएन । सरासर काम गरिन ।

ह्याङ्गरमा टङ्गाएको कपडा अनमोल अन्सारीले दिनमा दुईतीन पटक झार्नुहुन्थ्यो । बिहानको साँझ धुलोले रंग बदलिदिन्थ्यो । बाहिर त राख्नै मिल्दैन्थ्यो । सटर भित्रका कपडा पनि धुलैधुलो हुन्थे । अहिले एक पटक नझारे पनि पुग्छ । बाहिर राख्दा र भित्र लैजाँदा मात्रै धुलो टक्टक्याए सफा देखिन्छन् । पसलभित्र मास्क नलगाएर पनि काम गर्न सकिन्छ । सडक कालोपत्रेपछि फाइदैफाइदा छ । अरु रोडको भन्दा निकै कम धुलो उड्ने गरेको छ । यस अघि नाला र कालोपत्रे बीचका भागमा खाली राखिन्थ्यो ।

त्यहाँ माटो थुपारेर वृक्ष रोपन गरिन्थ्यो । हरित क्रान्ति गर्ने नारामा घोराहीले धेरै टोलका सडकमा बिरुवा रोपेको छ । केहि टोलले सडकमै खेती गरेर चर्चा कमाएका छन् । फलफूल र तरकारी खेती गर्छन् । उनीहरुका सडक धुलाम्य छन् । हावाहुरी चल्यो भने कुहिरी मन्यौल उड्छ । बुङ्बुङती उड्ने धुलोले नाक मुख छोपेर हिँड्नुपर्छ । चश्मा नलगाए आँखाभरि छारो हाल्छ । यसरी माटो आउनुको कारण सडक किनारामा राखिएको खाली जमिन र विरुवाको आश हो । यस्तो सडक बनाउन नहुने धेरैको भनाइ छ । बजारमा ठीक नहुने बताउँछन् ।

हरित नगर अभियानका क्रममा नाला र सडकको बीचमा खाली जमिन राखे वर्षात्को पानी रिचार्ज हुन्छ भन्ने थियो । त्यसै अनुसार घोराहीको मुख्यबजार क्षेत्र १४ र १५ मा सडक बनेका छन् । देखिँदा हरियोबाहेक अरु उपयोग खास्सै नहुने अशोकका बोटहरु रोपिएका छन् । ती रुखले दिने फाइदाभन्दा बोट बचाउने लोभले थुपारेको माटोले सताएको छ ।

त्यसको माया नगरी घोराही १४ र १५ मा पर्ने हस्पिटल रोडमा वारपार पिच गरिएको छ । माटो आउने ठाउँ कतै छैन । गुडिरहेका सवारीका टायरबाट बाहेक अन्तबाट सडकमा माटो आउँदैन । त्यसैले धुलो उड्दैन । पिच उध्रेको तुलसीपुर पश्चिमको सडकमा घोराही उपमहानगरले ट्यांकरबाट पानी छर्किने गरेको छ । त्यसरी पानी हाल्दा हिलो टायरमा हिलो बोकेर कालोपत्रेमै खसाल्दा झन् धुलो उड्ने समस्या बढेको स्थानीय बताउँछन् । हुरी बतास चल्यो भने बजार भरिका धेरै गल्ली धुलोको कुहिरोभित्र हराउँछन् ।

त्यसैले, होला ट्राफिक चोक र पिपल बुटातिर धुलोको कुहिरो लाग्दा नयाँ कालोपत्रै गरेको गौतमनगर हस्पिटल रोडक्षेत्रमा उड्दैन । त्यसको कारण नालादेखि सडकसम्म पिच गर्दा ठहर गरेका छन् । बजार भित्रका सबै सडक वारपार कालोपत्रे गर्न घोराही उपमहानरपालिकाका मेयर नरुलाल चौधरीलाई सुझाव दिएका छन् । धुलोले मानव स्वास्थ्य तथा व्यापार व्यवसाय चौपट पार्ने उनीहरुको दाबी छ । धुलो बढ्न नदिने घोराहीको नयाँ नीति उचित रहेको बताए ।

यसैगरी तुलसीपुर चोकदेखि दामोदर चोक सम्मको सडक पनि वारपार कालोपत्रे गरिएको छ । त्यहाँ पनि धुलोबाट मुक्त भएका छन् । पैदल यात्रुहरु नाक थुनेर आवतजावत गर्नुपर्दथ्यो । अहिले निर्धक्क हिँडेका हुन्छन् । त्यसैगरी घोराही उपमहानगरपालिका कार्यालय अगाडिको सडक पनि पनि वारपार कालोपत्रे गरिएको छ । त्यहाँ पनि धुलो उड्दैन । यसरी पूरै सडक कालोपत्रे गर्ने नीति लागु गरेका क्षेत्रहरु धुलोमुक्त भएका छन् । घोराही उपमहानगरपालिकाको पूरै सडक पिच गर्ने नीतिले धुलोमुक्त गराएको छ । नाला र कालोपत्रे बीचमा खाली जमिन राखिएका पुराना पिचहरुमा भने धुलो उडिरहेको देखिन्छ ।