काठमाडौं । पुस ५ गते भंग भएपछि आज खुलेको प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ । आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँस गरि फागुन २६ गते दिउँसो १ बजेको लागि बैठक बोलाइएको छ ।
बैठकमा कार्यसूचीमाथि असहमति जनाउँदै प्रचण्ड–माधव पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए । बैठकमा प्रचण्ड माधव पक्षका सांसद भीम रावलले पहिलो बैठकमा कार्यसूचीमा भएको फेरबदलप्रति आपत्ति जनाएका थिए । रावलले कार्यसूची परिवर्तन गर्न माग गरेका छन् ।
रावल बोल्दा बोल्दै अर्का सांसद खगराज अधिकारीले रावलको नियमापत्ति प्रति असहमति जनाउँदै सच्याउन सभामुखलाई आग्रह गरेका थिए । त्यस्तै बैठकमा काँग्रेस सांसदहरुले संवैधानिक परिषद सम्बन्धी अध्यादेश अस्वीकार गर्ने घोषणा गरेका छन् । काँग्रेस सांसद पुष्पा भुसालले काँग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश स्वीकार नगर्ने बताएकी छन् ।