योगी नरहरिनाथको जन्म बिक्रम संवत् १९७१ साल फाल्गुण १७ गते भएको र उहाँको देशवसान २०५९ साल फाल्गुण १३ गते राती भएको थियो । योगीजी थापाकुलमा जन्मिएर पनि विद्वान ब्राम्हणभन्दा माथिको कहलिनु भयो भने डा.स्वामी प्रपन्नाचार्य पनि राई बंशमा जन्मिएर पनि सिद्धहस्त ब्राम्हणभन्दा उच्चकोटीको मानिनु हुन्छ ।
स्व.योगी नरहरिनाथ तथा वेदका प्रकाण्ड विद्वान स्व. स्वामी प्रपन्नाचार्य ऋषितुल्य हुनुहुन्छ । उहाँले विद्यापारिधि वेदमैं गर्नु भएको हो । मैले बुझेसम्म २०३५ सालभन्दा अगाडि योगी नरहरिनाथसँग स्वामी प्रपन्नाचार्यको भेटघाट हुन सकेको थिएन । तर पछिका दिनमा योगीजीको स्वामी प्रपन्नाचायसँग संगत बढेको थियो । स्वामी प्रपन्नाचार्य मलाई धेरै विश्वास गर्नु हुन्थ्यो किनकि उहाँका विचारलाई जनसमक्ष प्रस्तुत गर्न म पनि उदत्त भइरहन्थें ।
योगी नरहरिनाथ तथा स्वामी प्रपन्नाचार्य यी दुबै नेपालका अमूल्य नीधिहरु हुन् । स्वामी प्रपन्नाचार्य पाँचथरको नाँगीमा जन्मिएर नेपालको एक सिद्धहस्त योगी तथा देशभक्त स्रस्टा तथा नीतिशास्त्रका ज्ञाता बनेर विभिन्न जातमा विभाजित नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्नसक्ने भावनाबाट अनेकौं ग्रन्थ तथा लेखहरु प्रकाशित गरेर मार्गदर्शन गर्न सक्नु भयो । योगीजी हाम्रो बीचमा नरहे पनि प्रातस्मरणीय ऋषितुल्य योगी नरहरिनाथ नेपालको एक अमूल्य नीधि हुनुहुन्छ । योगिजीका कीर्ति, ऐतिहासिक खोज र अनुसन्धान नेपालको इतिहासका खोजपूर्ण स्रोत हुनपुगेका छन् । उनी इतिहास निर्माणका योद्धा हुन् ।
वि.सं. २००७ सालमा पृथ्वीनारायण शाहका दिव्य उपदेश प्रकाशित गर्नु भएको र त्यसैगरी इतिहास प्रकाशन संधिपत्र–संग्रह– सात भागसम्म, शिखरिणीयात्रा, गोर्खा वंशावली, हिमवतखण्ड, नेपालका चौध अञ्चल आदि इत्यादि ग्रन्थहरु प्रकाशित गराएर देशको लागि ठूलो योगदान गर्नु भएको छ । योगी नरहरिनाथले हिन्दु तथा बौद्ध धर्मको ब्याख्या खोज अनुसन्धानमा जीवन बिताउनु भयो । नेपालको राष्ट्रियतालाई एकताको सूत्रमा आवद्ध गर्नसक्ने स्रोतमध्ये राजसंस्था, हिन्दु अधिराज्य र नेपाली भाषा हो भन्दै हिमवतखण्डमा विभिन्न जाति जनजातिबीचमा ‘अनेकतामा एकता’ कायम हुनु तराई, पहाड, हिमाली क्षेत्रका नेपाली जातिको बीचको एकता नै नेपालीको सम्पत्ति हो भन्ने कुरामा योगीजीको ठूलो विश्वास थियो ।
नेपाली भाषा राष्ट्रभाषाको रुपमा कायम हुँदाहुँदै पनि स्थानीय जातीय भाषाको संरक्षण गर्नुपर्दछ भन्दै जातीय भाषा पनि नेपालका सम्पत्ति हुन् भन्ने कुरामा विश्वस्त हुनुहुन्थ्यो । योगीजीको कुटी मृगस्थलीमा सँधै एउटा गाईको बाछा अंगरक्षक सरह रहने गथ्र्यो । त्यो गाईको बाछोलाई योगीजीले अत्यन्तै माया गर्नुहुन्थ्यो । योगीजी बिमार भएपछि त्यो बाछाले कहिले छोडेन । योगीजीको देहावसानपछि बाछाले आँसुका धारा चुहाइरह्यो । यो घटना यो लेखक स्वयम्ले देखे-जानेको विषय हो ।
उहाँ स्वर्गीय भएको खबर सुनेर मृगस्थली पुगेको बेलामा एउटा गाईको बाछोले उहाँको वरिपरि धुमिरहेको थियो । योगीजीको देशवसान भएपछि पनि उहाँको समाधी राखिएको स्थलमा पनि यो बाछो घुम्ने गथ्र्यो यसरी योगीजीको मृत शरीर र समाधी वरिपर घुम्नु यो अत्यन्त दैविक चमत्कारजस्तो लाग्छ । यसबाट गाईमा चेतनाको हिरण्मय शक्ति व्याप्त छ भन्न सकिन्छ ।
योगी नरहरिनाथको समाधी रहेको मृगस्थली र बल्खुको कोटी होम स्थल बासुकी चौरमा योगी नरहरिनाथका धातुका मूर्तिहरु चमत्कारिपूर्ण तरिकाले पोखराका विष्णुप्रसाद बरालबाट निर्मित भए । मूर्तिकार बरालजीलाई २०२४ साल पौष १ गते पोखरास्थित पृथ्वीनारायण कलेज उद्घाटन कार्यक्रममा राजा महेन्द्रको सवारी भएको थियो । त्यहीबेला विष्णुप्रसाद बरालले आफ्नै बारीको ढुङ्गालाई कुँदेर पृथ्वीनारायण शाहको ढुङ्गाको मूर्ति बनाएर पृथ्वीनारायण कलेजमा राखिएको थियो र त्यो मूर्ति राजालाई देखाउन इच्छुकसाथ त्यही बसिरहेका थिए । २०२४ साल पौषमा बरालजीको भेट योगी नरहरिनाथसँग २० वर्षको हुनुहुँदा पोखरामा भेट भएको रहेछ । बरालको कला देखेर योगीजी अत्यन्त प्रभावित हुनु भएकाले योजीजीले कृष्णप्रसाद बराललाई योगीजीले शिल्पी शिरोमणि उपाधि दिनु भएछ । वास्तवमा विष्णुप्रसाद बराल सफल मूर्तिकार मानिनु हुन्छ ।
तथापि नेपाल सरकार तथा राजकीय प्रज्ञाप्रतिष्ठानले अझसम्म उहाँलाई चिन्न सकेको छैन ।
त्यहीबेला मूर्तिकार विष्णुप्रसाद बराल योगीका भक्त हुनुहुन्छ । त्यही कारणले योगीको परेको छापअनुसार जीवित मान्छेको स्वरुप उहाँले उतार्न सक्नु भएकोमा हामी अभारी छौं । बरालजीका कला देखेर म अत्यन्तै प्रभावित छु । त्यस्तै योगी नरहरिनाथको देहवसानपछि मृगस्थलीको सम्हार थिएन । योगीजीका पुस्तक तथा अन्य संकलन लठिपत्र छरिएका थिए । त्यसमा पनि २०७२ सालको भूकम्पबाट छानो भत्किएर पुस्तक भिजेर बिग्रन लागेको अवस्थामा योगी नरहरिनाथका कीर्तिहरु ग्रन्थ, पुस्तक सम्पूर्ण सुरक्षा गरिनु अत्यावश्यक थियो । तर पछि योगी नरहरिनाथ स्मृति प्रतिष्ठान स्थापित भएपछि मृगस्थलीको नरहरिनाथको कुटीबाट मृगस्थली गोरखनाथको मन्दिरदेखि पूर्वतर्फको एक सानो घरमा योगी नरहरिनाथ प्रतिष्ठान राखी त्यही पुस्तकालय स्थपना भएको छ ।
यसले हामी सबै योगी नरहरिनाथप्रति आस्था राख्नेहरु सबैलाई अत्यन्त प्रोत्साहन मिलेको छ । योगी नरहरिनाथले देश भ्रमणको बेला राष्ट्र निर्माता पृथ्वीनारायण शाहबाट भाईभारदारको भेलामा निर्देशन दिएका अद्वितीय हस्तलिखित उपदेश पत्ता लगाएर प्रकाशित गराउनु भएर नेपाली जनमानसमा महान् उपलब्धि प्रस्तुत गर्नु भएको थियो । योगी एक सफल अन्वेषक मात्र नभएर एक कुशल वक्ता पनि हुनुहुन्थ्यो । घण्टौंसम्म बोल्दा पनि उहाँ थाक्न हुन्नथ्यो ।
विक्रम संवत् २०१४ सालमा योगीजी आठराई संक्रान्ति त्रिमोहन हाई स्कूलमा तीन घण्टा लगातार भाषण गर्नु भएको हुबहु सुन्ने मौका मिलेकाले त्यसबेलादेखि म योगी नरहरिनाथलाई महान पथप्रदशक गुरुको रुपमा मान्ने गरेको छु । पछि २०२४ सालतिर काठमाडौंमा आएपछि गुरुलाई मृथस्थलीमा भेट्न गइरहन्थें । योगी नरहरिनाथजीले नेपालको इतिहास र महत्वपूर्ण स्रोतहरु पत्ता लगाउनु भएर नेपाललाई ठूल्ठूला गुण लगाउनु भएको छ । योगी नरहरिनाथको प्रयासमा दिव्य उपदेश हस्तलिखित रुपमा भेटिएको हो ।
योगी नरहरिनाथसँग सम्बन्धित एउटा घटनाको स्मरण गरौं । २०१७ साल साउन महिनामा नेपाली कांगे्रसका कार्यकर्ता भनिएका तर गोर्खापरिषदका व्यक्तिको नेतृत्वमा गोर्खामा ठूलै लुटपाट मच्चियो । नेपाली कांगे्रसका कार्यकर्ताको थिचोमिचो पनि बढ्दै गएको अवस्थामा कर्मवीर महामण्डलका अध्यक्ष योगी नरहरिनाथ पनि असोजतिर गोर्खा पुगेका थिए । २०१७ साल कार्तिक ९ गते दिउँसो ३००० जति मानिसको जुलुस कर्मवीर महामण्डलको झण्डा लिई “नेपाली कांगे्रस धोका हो, पक्षपाती सरकार मान्दैनौं” भन्ने कांगे्रसविरोधी कडा नारा लगाउँदै अड्डा अगाडि जुलुस आउँदा प्रहरीसँग भिडन्त भई ढुङ्गामुडा लाठी चार्जपछि गोलीकाण्ड भयो, जसमा ७ जना ठहरै मरेको र १० जना गोलीबाट घाइते र ७÷१० जनाको हातखुट्टा भाँचिएकाले सम्हालिन नसक्ने आतङ्कको सिर्जना भयो ।
यी सबै कुरा योगी नरहरिनाथको उग्र भाषणको कारणले भएको भनियो । कार्तिक ९ गते गोर्खाकाण्ड भयो । नरहरिनाथलाई पक्राउ गर्ने आदेश पनि भयो । तर गोर्खामा योगीजी कतै भेटिएनन् । गोर्खाकाण्ड भएको तेस्रो दिनमा योगी नरहरिनाथ जुम्लामा देखिएको हल्ला आयो । जब कि कस्सिएर हिँड्दा गोर्खाबाट जुम्ला पुग्न १० दिन लाग्छ भने कसरी योगीजी पुग्नु भयो ? यसैमा फेरि सबै रुमल्लिए ।
योगीजीलाई कत्तिले उड्नसक्ने क्षमता थियो पनि भन्ने गर्थे ।
योगी नरहरिनाथसँग सम्बन्धित २०१७ सालको एउटा घटनाको कारणले इतिहासमा ठूलो परिवर्तन हुनगयो । राजा महेन्द्र बेलायत गएको अवस्था थियो । ‘योगीलाई कांगे्रस मास्न राजदरबारले लिखत दिएर पठाएको छ’ भन्ने झुठा रिपोर्ट प्रधानमन्त्री वीपी कोइरालाका कानमा पार्न थालेकाले वीपी पनि त्यही कुरालाई विश्वास गरेर बोल्न थाल्नु भएको र बेलायतबाट राजा महेन्द्र फर्केर आएपछि योगीसँग मुछेर प्रधानमन्त्रीले दिएका वक्तव्य सम्बन्धमा राजा महेन्द्रलाई चित्त नबुझेकाले प्रधानमन्त्रीलाई बोलाएर (बेलायतबाट ल्याएका उपहार श्रीमती प्रधानमन्त्री सुशीलालाई छालाको ब्याग, वीपीलाई टेपरिकर्डर, घडी, ब्रास्लेट राजाले दिँदै) पौष १ गते भन्दा केहीदिन अगाडि राजाले सोधेको कुरालाई लिएर वीपीले आफ्नो आत्मवृत्तान्तमा सविस्तार गरेका छन् ।
उनले भनेका छन्- ‘तपाईंले हामीलाई किन मुछ्नु भो त्यो जोगीकाण्डमा ? बिना प्रमाण किन वक्तव्य दिनु भयो ? हामीलाई दोष लगाउनु भयो ?’ ‘सरकार ! मैले होइन, जोगीले मुछेको छ । जोगीलाई कारवाही हुँदैछ ।’ ‘तपाईंले त्यो कारवाही हुँदाहुँदै किन पब्लिक वक्तव्य दिनु भयो ?’ भनेर राजाले गुनासो गरेको कुरालाई लिएर वीपीले भनेका छन्- ‘महाराजाधिराजले मलाई आदेश बक्सेको छ कि यो धर्म नमान्ने प्रधानमन्त्री र त्यसको सरकारविरुद्ध विद्रोह गरे हुन्छ भनिकन ऊ हिँडथ्यो ।’
राजा महेन्द्र र प्रधानमन्त्री कोइराला बीचको सम्बन्ध विच्छेदको अध्याय नै यहीँबाट सुरु हुन्छ । तर गोरखाकाण्ड र योगी नरहरिनाथ बीचको वास्तविकता त्यस्तो थिएन । ‘कर्मवीर महामण्डलले गरेको अनुरोध अनुसार रु. ५०० चन्दा श्री ५ महाराजाधिराज सरकारबाट बक्सेको छ’ भन्ने कुरा राजा महेन्द्रका सैनिक सचिव शेरबहादुर मल्लले लेख्नु भएको कागज योगीजीले बोक्नु भएको र त्यही कागजलाई अरुले पनि देखेको हुँदा त्यसैलाई राजदरबारबाटै कांगे्रसको विरोधमा जनतालाई विद्रोह गराउन योगीलाई पत्रदिई पठाइएको थियो भन्ने भ्रम खडा गराएर वीपी समक्ष पोल पुर्याइएका कारणले राजा र प्रधानमन्त्री बीचमा फाटो पार्नेे जालो बन्नगयो । योगीजीले आफ्नो नाम कुनै मार्वल वा शिलामा लेखाउनु भएन । तर उहाँको नाम नेपाली जनताको मनमनमा रहेको छ । योगीजीको सद्व्यवहारबाट जोकोही पनि प्रभावित हुन्थे ।
योगीजी भन्नुहुन्थ्यो- ‘कैलाश-मानसरोवरदेखि हिन्दमहासागरसम्म जसको राज्य र घर छ त्यो हिन्दु हो ।’ विश्व विकासको जग जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो । मनु यहीँ जन्मेका, वेद यही जन्मेका, उपनिषद तराईमा बनेका हुन् । हाम्रा पुर्खाहरु कतैबाट आएका भनिन्छ, हाम्रो मूलथलो यही हिमवतखण्ड नेपाल हो । नेपाल नै सभ्यताको मूलथलो हो । मानव सभ्यताको थलो हिमालयको फेद हो । हामीले हाम्रो राष्ट्रियतालाई गौरव सम्झनु पर्दछ । हामी यहीँका रैथाने हौं, भगुवा होइनौं । हाम्रो देशलाई हामीले नै समृद्ध बनाउन सक्नुपर्दछ । विदेशी सहायताले हामीलाई बिगार्छ । काम गर्दा सानो हुन्छु भन्ने भावना राख्नु हुन्न ।’ योगीजी ऋषितुल्य हुनुहुन्यो । योगी नरहरिनाथमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली समाजमा अमर हुनुहुन्छ ।