• बैशाख १९ २०८२, शुक्रबार

जलविद्युतको सुरुङमा पुरिएर २ मजदूरको मृत्यु

फाल्गुन २२ २०७७, शनिबार

मध्यतमोर जलविद्युत आयोजनाको सुरूङभित्र काम गरिरहेका दुईजना मजदूरले शनिबार ज्यान गुमाएका छन् । ताप्लेजुङमा निर्माणाधीन सुरूङभित्र काम गरिरहेको अवस्थामा ढुंगा खसेर लाग्दा अमर विश्वकर्मा र सन्तोष बानियाँको मृत्यु भएको आयोजनाका भूगर्भविद् सूर्य लिम्बूले जानकारी दिए ।

ज्यान गुमाउने अमर २२ वर्षका उदयपुर निवासी हुन् भने २८ वर्षका सन्तोष भोजपुरका हुन् । भूगर्भविद लिम्बूका अनुसार आयोजनाको मिक्वाखोला गाउँपालिका-२ बाट फक्ताङलुङ गाउँपालिका १ सावादिनतर्फको सुरूङ खन्न उनीहरू खटिएका थिए ।

‘उहाँहरू सुरूङ खन्ने क्रममा भित्रै हुनुहुन्थ्यो’, लिम्बूले भने,‘त्यही क्रममा ढुंगा झरेर उहाँहरूलाई पुरेको हो ।’ उनका अनुसार उनीहरूको शव निकाल्ने तयारी भइरहेको छ ।