• मंसिर १७ २०८१, सोमबार

तपाईं-हामीलाई नुन खुवाउने साल्ट ट्रेडिङ र लक्ष्मीदासको व्यवसायीक यात्रा

फाल्गुन २२ २०७७, शनिबार

तपाईंसँग सुन छ कि छैन भनेर मैले सोधे भने सजिलै छ वा छैन भनेर तपाईं उत्तर दिन सक्नुहुन्छ तर तपाईंले आजसम्म नुन खानु भएको छ कि छैन भनेर मैले सोधें भने तपाईं मलाई उल्टै प्रश्न गर्नु हुनेछ कि, तपाईं कस्तो खाले मानिस हो ? नुन खानु भएको छ कि छैन भनेर सोध्नु हुन्छ भनेर उल्टै मलाई नै बेवकुफ बनाउनु हुनेछ । सुन नभएपनि मानिसको जीवन चल्छ तर नुन नखाएर जीवन धान्ने कुरा मानिसले कल्पना पनि गर्न सक्दैन । यसर्थ अन्नका विविध परिकार जस्तै नुन पनि हाम्रो जीवन हो ।

कसैले व्यापारको सिलसिलामा कुनै कुनै ठाउँमा ‘नुनदेखि सुनसम्म’ भनेर आहान हालेको पनि सुन्नु भएकै होला । देख्दा वा मूल्यका हिसाबले सुन महंगो वा महत्पूर्ण देखिएला तर मानिसको जीवनमा नुनको जस्तो महत्वपूर्ण स्थान सुनको छैन । देशमा सुनका विभिन्न काण्ड भइरहेका हुन्छन् तर नुनको कुनै काण्ड भएको आजसम सुनिएको छैन तर नेपालमा एकचोटी नुनको ठूलो काण्ड भएको थियो । त्यो थियो वि.स २०२० साल ।

२०२० साल पहिले देशमा नुन बेच्ने एउटा पनि आधिकारीक निकाय थिएन । कसैले भोटबाट भोटेनुन ल्याएर बेच्थे भने कसैले ढिकेनुन भारतबाट ल्याएर बच्थे । सो भन्दा पहिले नुनको व्यापार खुल्ला जस्तो थियो । नेपालीले खाने नुनमा आयोडिन मिसाइएको हुँदैनथ्यो अनि मानव शरीरलाई चाहिने आयोडिनको पूर्ति नहुँदा नेपालीहरुलाई गलगाँड आउने र बच्चाहरु लाटो-लठेब्रो हुने लगायतका समस्याहरु थिए । अर्कोतिर नुनको एउटै दर भाउ समेत थिएन । भोट र भारतबाट ल्याएको नुनलाई व्यापारीहरुले जहाँ जसरी जुन मूल्यमा सक्यो त्यही मुल्यमा बेच्थे । तर २०२० सालमा नेपालमा नुनको व्यापार र वितरणमा क्रान्ति भयो ।

अब भने एकद्धार प्रणालीबाट नुनको आयात र वितरण हुन थाल्यो । किन की सोही वर्ष नेपालमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको स्थापना भयो । यही घटना नै सामान्य मानिसका लागि नुनकाण्ड थियो । सकारात्मक कोणबाट सो पहललाई नुनकाण्ड भनिएको हो, अन्यथा बुझ्न जरुरी छैन । आउनुहोस् अब नेपालमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन कसरी किन स्थापना भयो र यसको स्थापना गर्नेहरु को-को हुन् जानौं ।

कर्पोरेशनको स्थापना

माथि नै भनियो कि, २०२० सालमा देशमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको स्थापना भयो भनेर । सो वर्षमा नुनको व्यापारलाई एकीकृत गर्ने उद्धेश्यले तत्कालिन राजा महेन्द्रबाट हुकुम भयो । आपूर्ति मन्त्रालय अन्तर्गत रहेको उद्योग विभागका प्रमुख गेहेन्द्रदेव (कसै कसैले ज्ञानेन्द्रदेव पनि भन्ने गरेको पाइन्छ) पाठकले देशमा नुनको व्यापार गरिरहेका मानिसहरुको भेला गरे । नुन बेचिरहेका आनन्दमान सुब्बा, लोकनाथ बाजे, सिद्धि गुर्जु, कनकमणि दीक्षित, खड्गमान गुर्जु, रतिराम र लक्ष्मीदास मानन्धर सो सरकारद्वारा आयोजित नुन व्यापारीको भेलामा सहभागी भए । यी सातजना त्यतिबेलाका नुन व्यापारीहरुमध्ये लक्ष्मीदास मानन्धर मात्रै हाल जीवित छन् । (जसको बारेमा यसै लेखमा चर्चा गरिनेछ) ।

सुरुमा नुन अखाद्य खालको समेत वितरण गरियो । मूल्य पनि जथाभावी भयो । नुन पनि ढिकेनुन र भोटेनुन गरी २ खाले थिए । साथै जनतालाई नुनमा आयोडिन मिसाएर पनि वितरण गर्नुपर्यो भनेर सरकारले भेलामा सहभागी नुन व्यापारीहरुलाई प्रस्ताव गर्यो । व्यापारीहरुलाई सहमत गराएर विभागका प्रमुख पाठकको अध्यक्षतामा सोही वर्ष साल्ट ट्रेडिङ्ग कर्पोरेशनको स्थाापना भयो । सातजना व्यापारी सो कर्पोरेशनका सदस्य भए । नेशनल ट्रेडिङ्ग र वाणिज्य विभागले एक-एक भाग शेयर राखेर तत्कालीन श्री ५ सरकारको २१%मा केही बढी र व्यापारीहरुको ७८%मा केही बढी लगानी गरेर यसको स्थापना गरियो । तत्कालिन रुपमा ७ जनाले २५ र २५ हजार रुपैयाँ हालेर व्यापारीहरु साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा आवद्ध भए । उद्योग विभागमा तत्कालिन महानिर्देशक पाठकको अध्यक्षतामा सातजना नुन व्यापारीहरु कर्पोरेशनका सदस्य भए । पछि सरकारले व्यापारीहरुलाई शेयर बढाउन भन्यो ।

जस अनुसार व्यापारीहरुले शेयर २५-२५ हजार थपेर ५० हजार पुर्याए ।

साल्ट ट्रेडिङ्ग स्थापना हुनुको मुख्य उद्धेश्य एउटै थियो, त्यो हो आयोडिनको कमीले जनतामा हुने रोगको निवारण र मूल्यमा एकरुपता कायम गर्नु । कर्पोरेशन स्थापना गर्नेमध्येका एकमात्र जीवित लक्ष्मीदास मानन्धर भन्छन् ‘यो कामको जिम्मा पनि सरकारले व्यापारीलाई नै दियो र सरकारले दिएको जिम्मा पुरा गर्न संस्था सफल पनि भयो ।’ तत्कालिन समयमा व्यापारीहरुले थपेको शेयरबाट नुन किनेर जनताको माग धान्न सक्ने अवस्था नहुँदा नेपाल सरकारले भारत सरकारसँग वार्ता गरेर तीन महिनासम्म उधारो नुन लिएर जनताको माग पुरा गरेको स्मरण गर्छन् मानन्धर । हाल देशमा कुनै संकट आइपरे वा नाकाबन्दी जस्तो समस्या आउन सक्ने कुरालाई मध्यनजर गरेर साल्ट ट्रेडिङ्ग कर्पोरेशनले देशलाई ६ महिनासम्म पुग्ने नुन जगेडा राखेको हुन्छ । २०४६ साल र ०७२ सालमा भारतले नेपमालमाथी नाकाबन्दी लगाउँदा समेत देशमा अभाव नभएको त्यही एउटा खाद्य पदार्थ थियो, नुन ।

कर्पोरेशनले कृषि मन्त्रालयको अनुमतिमा गैह्रअनुदानका अमोनियम सल्फेट, सिंगल सुपर फस्केट मल समेत विक्रिवितरण गर्ने गर्छ ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले त्यही वर्ष २ लाखमा १३ रोपनी जमिन किन्यो र आफ्नो भवन बनायो । देशभरका जनतालाई नुन खुवाउँदै गर्दा विभिन्न समयमा लिमिटेडले गोरखकाली रबर उद्योगमा लगानी गर्यो । नेपालकै पहिलो खाद्य उद्योग नेपाल वनस्पति घिउ उद्योग लिमिटेड, हिमाल खाद्य एवं प्याकिङ्ग उद्योग, नेशनल फाइनान्स लिमिटेड, सगरमाथा इन्सोरेन्स (बीमा) जस्ता संस्थाहरु स्थापना गरेर देशलाई उद्योगको बाटोमा अघि बढाएको थियो । देशमा नाकाबन्दी भएको वर्ष २०७२/०७३ मा लिमिटेडले ६१ करोड २४ लाख नाफा गरेको थियो भने २०७३/०७४ मा ७६ करोड ९३ लाख नाफा गरेको थियो ।

कर्पोरेटको चुक्ता पूँजी हाल ९ करोड ८० लाख ७६ हजार पुगेको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडमा हाल सर्वसाधारणको २१% र ७९% नेपाल सरकारको लगानी रहेको छ । सार्क राष्ट्रहरुमध्ये नेपाल नै जनतालाई सबैभन्दा सस्तोमा नुन उपलब्ध गराउन सफल देश हो । यसको नेतृत्व साल्ट ट्रेडिङ्ग कर्पोरेशनले गर्दै आएको छ । जुनदेश (भारत) बाट नुन आयात गरिन्छ त्यही देशको भन्दा सस्तोमा लिमिटेडले नेपालमा नुन वितरण गरिरहेको छ । देशमा अरु सबै समानहरुको मूल्य पटक-पटक उतारचढाव भइरहेको हुन्छ तर देशभर एउटै मूल्यमा पाइने खाद्यवस्तु भनेकै त्यही नुन हो । यसको मात्रै मूल्य नेपालमा स्थिर छ ।

एकमात्र जीवित संस्थापक

२०२० साल भाद्र २७ गते स्थापना भएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका एकमात्र जीवित संस्थापक लक्ष्मीदास मानन्धर विगत १० वर्षदेखि यो संस्थाका संचालक समिति अध्यक्ष रहेको छन्, आउनुहोस् मानन्धरको जीवनका उकाली ओरालीहरुलाई बुझ्ने प्रयास गरौं ।

बाल्यकाल

काठमाडौँको ठहिटीमा वि.स.१९८५ सालमा उनी जन्मँदा काठमाडौँ यस्तो कहाँ थियो र ? त्यो बेलाको समय र संसार अर्कै थियो । बालक लक्ष्मीदास पाठशाला नभएको त्यो समयमा बाबुआमाले किनिदिएका किताब बोकेर शिक्षाको उज्यालो घाम प्राप्तिको लागि गुरुकहाँ धाउन थाले । शिक्षा लिँदैजाँदा उनले ५ पास गरेको मान्यता पाए । गुरुकुलबाट ५ पासको मान्यता प्राप्त गरेका मानन्धरले विद्यालय स्थापनापछि ११ पासको मान्यता समेत पाए । अहिलेको जमाना होइन उहिलेको समयमा ११ पास गर्नु चानचुने कुरा थिएन ।

laxmi-dash-manandhar
लक्ष्मीदास मानन्धर

सरकारी जागिर

१४ र १५ वर्षको हुँदा ११ पास गरेका मानन्धरले सरकारी हाकिमको जागिर पाइहाले । सरकारको खरिदार पदबाट सरकारी जागिर शुरु गरेका लक्ष्मीले त्यतिबेलाको समय अनुसार कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले । सो समयमा खरिदार नै कार्यालय प्रमुख हुने चलन भएपनि उनलाई किन हो सरकारी जागिर भन्दा व्यापार गर्न नै राम्रो लागेर २ वर्ष खाएर सरकारी जागिर छोडिदिए । १८ वर्षको उमेरमा हाकिम भएका उनी २० वर्षकोहुँदा जागिर छोडेर घर आए ।

जागिर छोडी व्यापारमा

भन्नेहरुले भन्ने गर्छन् कि जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ । सरकारी जागिर छोडेर घर आएका युवक लक्ष्मीदास मानन्धर खुद्रा व्यापारमा लागे । सायद उनी जागिरको नभएर व्यापारकै लागि जन्मिएका थिए । राजनैतिकरुपमा राणा शासनको अन्त्यसँगै काठमाडौँको ठहिटीमा खुद्रा व्यापार शुरु गरेका मानन्धर आखिर व्यापारी तथा उद्योगी नै भएर कहलीय । खुद्रा व्यापार, कपडाको व्यापारहुँदै भोटेनुन अनि सबै नुनको व्यापार गर्न थाले । नुनको व्यापार नै उनको जीवनको चिनिने पहिचान बन्यो । नुनको व्यापार गर्दै गर्दा उनले आफ्नो सामाजिक दायित्व पनि भुलेनन् । ठमेलमा मानन्धरहरु मिलेर आफ्नो भाषा नेवारी भाषाको विद्यालय स्थापना गरे । राणा शासन अन्त्यसँगै उनीहरुले काठमाडौँमै शान्ति शिक्षा मन्दिर नामको विद्यालय २००७ सालमा स्थापना गरे ।

शान्ति शिक्षा मन्दिर विद्यालयलाई जग्गा अपुग भएकोले फेरि माननन्धरले २०१८ सालमा ३ रोपनी जागा आफैले किनेर सो विद्यालयलाई दान गरे । त्यो समयमा उनले १८ हजारमा ३ रोपनी जग्गा किनेर विद्यालयलाई दिएको सम्झन्छन् । ३५ वर्षको उमेरमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको संस्थापक सदस्य बन्न पुगेका उनी विगत लामो समयदेखि लिमिटेडको संचालक समिति अध्यक्ष रहेका छन् । ४-४ वर्षमा चुनाव हुने कर्पोरेशन लिमिटेडको तेस्रो कार्यकाल उनको २ वर्ष समय बाँकी छ अब । राष्ट्रिय बौद्ध संस्था तथा विश्व बौद्ध भ्रातृत्व संघको नेपाल क्षेत्रीय केन्द्र, धर्मोदय सभाका १६ वर्षदेखि वरिष्ठ उपाध्यक्ष रहँदै आएका मानन्धरले दर्जन बढी देशहरुको भ्रमण गरिसकेका छन् । उद्योगी एवं व्यापारी मानन्धरका काठमाडौँमा मोजा उद्योग, भैरहवामा कोल्ड स्टोर, प्लाष्टिक झोला तथा थैला उद्योग, मकैको च्याँख्ला उद्योग, बुटवलमा पेट्रोल पम्प आदि व्यवसायहरु संचालनमा रहेका छन् ।

राजनीतिमा प्रवेश

राजनैतिक परिवर्तनसँगै वामपन्थी विचार अंगालेका मानन्धरलाई तत्कालिन नेकपा एमालेले २०४८ सालमा राष्ट्रिय सभामा सदस्यको लागि उम्मेदवार बनायो जसका प्रस्तावक वामपन्थी नेता पद्मरत्न तुलाधर थिए तर उनले राष्ट्रिय सभामा एक भोटले पराजित हुनुपर्यो । त्यतिबेला एमालेले एक्लै जित्ने सम्भावना थिएन, त्यसकारण उनलाई जिताउन पशुपति शमसेर राणासँग कुरा भएको थियो तर भोट गर्नेबेला पशुपतिले धोका दिएका कारण त्यो चुनाव हारेको गुनासो गर्छन् मानन्धर । सो चुनावबाट बल्ल उनलाई राजनैतिक नशा लाग्यो । अब उनी एमालेका कट्टर नेता भए । २०५८ सालमा एमालेकै तर्फबाट उनी फेरि राष्ट्रिय सभा सदस्यका उम्मेदवार भए । यो पटक भने उनले राष्ट्रिय सभामा बाजी मारे । राजदरबार हत्याकाण्ड भएको वर्ष राष्ट्रिय सभामा चुनिएका उनी पछि उद्योग वाणिज्य समितिका सभापति समेत भए । राष्ट्रिय सभामा उनले ६ वर्ष बिताए ।

जीवनको  उत्तरार्द्ध

२ छोरा र ३ छोरीका पिता मानन्धर हाल साल्ट ट्रेडिङ्ग कर्पोरेशनले उपलब्ध गराएको गाडीमा लिमिटेडको कार्यालय जाने–आउने गर्छन् । तर कोरोना भाइरसको महामारीकै बेला गत साउन ५ गते अकश्मात घरकै भर्याङ्गबाट चिप्लिएर लड्दा ९२ वर्षीय वयोवृद्ध उद्योगी एवं व्यापारी मानन्धरको दायाँ खुट्टाको हड्डी भाँचियो । भारतको अहमदावाद गएर ४ वर्ष पहिले फलामको डल्लो हालेको त्यही खुट्टामा फलामकै डण्डी हालेर आए । हाल सहयोगीको सहारामा दैनिक जीवन चलाइरहेका मानन्धरलाई हाम्रो पनि स्वास्थ्य लाभको कामना ।