काठमाडौं । सरकार–विप्लव पार्टीबीच ३–बुँदे सहमति भएपछि राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोह मार्फत् सार्वजनिक भएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अहिले भेटघाट कार्यक्रममा व्यस्त भैरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै समारोहमा शुक्रवार सार्वजनिक भएलगत्तै अहिले उनी के काममा व्यस्त छन् भन्ने आमचासोको विषय बनिरहेका बेला उनको यो भेटघाट कार्यक्रम चलिरहेको छ ।
राजनीतिक भेटघाटलाई प्राथमिकता दिइरहेका उनले नेपालका पार्टी नेताहरु, राजनीतिज्ञ, बुद्धिजीवी, पत्रकार तथा आमनागरिकसम्म भेटघाट गरिरहेका छन् । शनिवारबाट थालनी गरिएको उक्त भेटघाट कार्यक्रममा पार्टी र पार्टी कार्यकर्ताको रिहाइको विषय उनको प्राथमिकतामा परेको छ ।
शनिवार बिहानै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई उनको निवासमै भेटेर महासचिव विप्लवले सहमतिअनुसार आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई लगाएका झुट्टामुद्दाहरुको खारेजी र राजनीतिक बन्दीहरुको रिहाइको काम अघि बढाउन जोड दिएका छन् ।
शनिवार दिउँसो नक्खु कारागार पुगेर थुनामा राखिएका पार्टी सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सँग भेट गरेका छन् । पार्टीका अर्का नेता तथा प्रवक्ता प्रकाण्ड र वार्ता टोलीका सदस्य तथा केन्द्रिय सदस्य उदय चलाउने ‘दिपक’सँगै नक्खु कारागार पुगेका उनले नेता सुदर्शनसँग पार्टीले अहिले लिएको कार्यदिशाको बारेमा थप कुराहरु प्रष्ट पारेका थिए ।
तीन–बुँदे सम्झौतामा आफ्ना नेता तथा कार्यकर्ताहरुको विनाशर्त सकुशल रिहाइ परेकाले प्रक्रिया तत्काल अघि बढाउनका लागि गृहमन्त्री बादलसँगको कुराकानीमा राखिएको र यी कुरा प्रशासनिक रुपमा अघि बढाइसकिएको कुरा गृहमन्त्रीले राखेको पनि उक्त भेटका अवसरमा बताएका थिए ।
यसपछि जनतासँगको भेटघाट कार्यक्रम अर्को प्राथमिकतामा राखिएको उनी निकट स्रोतको भनाइ रहेको छ ।