• बैशाख १९ २०८२, शुक्रबार

ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा दाहाल-नेपाल पक्ष

फाल्गुन २२ २०७७, शनिबार

प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नेकपा दाहाल-नेपाल समूहले गृहकार्य अघि बढाएको छ । शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ ।

समूहले आफू निकटका सांसदको बैठक राखेर ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो । संसदीय दलको नेता चयन भएपछि दाहालले अविश्वास प्रस्ताव ल्याउन ओलीले बाध्य पारेको बताए ।

‘बहुमत सदस्यले मलाई संसदीय दलको नेताका रूपमा चयन गर्नुभएको छ । यसलाई मैले चुनौतीको रूपमा लिएको छु । आवश्यक परे ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बाटोतर्फ अग्रसर हुनुपर्छ’, दाहालले बैठकपछि भने । उनले अहिले नै प्रधानमन्त्री बन्ने हतार नभएको र अन्य दलसँग छलफल गरेर अघि बढ्ने बताए । ‘अहिले हामी छलफलमै छौं । संसद विघटन गर्ने कदमलाई अलोकतान्त्रिक, स्वेच्छाचारी भनेर सडकमा गएका दलसँग मुद्दाका हिसाबले हाम्रो सहकार्य हुन्छ ।

छलफलमा छौं, एक-दुई दिनमा टुंगो लाग्छ,’ दाहालले भने । अविश्वास प्रस्तावसम्बन्धमा दाहाल–नेपाल समूह कांग्रेसको निर्णय कुरेर बसिरहेको छ ।
शुक्रबारको संसदीय दलको बैठकमा १ सय ११ जना सांसदले हस्ताक्षर गरेको बताइएको छ ।

‘अहिले एक सय ११ जना सांसदको हस्ताक्षर भएको छ । चारजना अझै आउँदै हुनुहुन्छ’, सांसद यज्ञराज सुनुवारले भने । उनका अनुसार संसदीय दलमा बहुमत पुगेकाले संसदीय दलको नेतामा दाहाललाई चयन गरिएको हो ।

दाहाल-नेपाल समूहले संसदीय दलमा समेत बहुमतमा नरहेका प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्ने जनाएको छ । तर ओलीले राजीनामा दिने पक्षमा नभएपछि दाहाल-नेपाल समूहले कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यको प्रस्ताव गरेको छ ।

जनता समाजवादी पार्टीले सहयोग गर्ने जनाए पनि कांग्रेसले निर्णय गरिसकेको छैन । दाहालले भावी प्रधानमन्त्रीको विषय एक-दुई दिनमा टुंगो लाग्ने बताएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।