• मंसिर १३ २०८१, बिहीबार

अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : प्रम ओली

फाल्गुन २१ २०७७, शुक्रबार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब अन्तिम किस्तामा शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टी र सरकारका बीच शुक्रवार सम्पन्न शान्ति वार्ता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले वार्ताको यो प्रक्रिया र सहमति नेपालमा स्थायी शान्ति स्थापनाका लागि अन्तिम किस्ता भएको बताएका हुन् ।

सरकार र विप्लव नेतृत्वको पार्टीका बीचमा कार्यदिशा तथा कार्यक्रमका हिसाबले फरकफरक सोच र काम गराइका प्रक्रिया रहँदारहँदै पनि सफलतापूर्वक सम्पन्न भएको यो सहमति आफैमा अभूतपूर्व रहेको प्रम ओलीको दाबी छ । देशमा जनताले शान्ति कायम होस् र सुखसमृद्धि आओस् भनी चाहना राखेकाले सहमतिको यो दिन सबैका लागि नयाँ भएको कुरामा जोड दिए ।

सहमतिले एक नयाँ युगको सुरुआत गरेको र यसले नेपाललाई अबका दिनमा शान्ति र समृद्धितर्फ डोर्याउने कुरामा जोड दिंदै यो सहमति एक साहसिक कदम भएको भन्दै प्रम ओलीले विप्लव नेकपाको यो अवतरण फोर्स ल्याण्डिङ वा क्र्यास ल्याण्डिङ नभई सेफ ल्याण्डिङ भएको बताए ।
उनले आफूहरुले नगरा बजाएर वार्ता नगरेको तर वार्तालाई वार्ता जस्तै गरी लामो समयदेखि चलाउँदै आएकाले आज यो सफलताको धरातलमा खडा हुन सकेको रहस्यको पनि खुलासा गरे ।