मानव समाज सभ्य र समुन्नत बनाउनका लागि चेतना र संस्कारमा परिस्कार गर्नुपर्छ । त्यसका लागि युवा पिढीले समाजको नेतृत्व गर्ने र अर्को पिढीलाई थप खोज र निर्माणमा उत्प्रेणा दिंदै पुस्ता हस्तान्तरण गर्नुपर्छ । प्राकृतिक नियमहरुको जगमा टेकेर वैज्ञानिक र उन्नत चेतना र संस्कार निर्माण गर्ने दायित्व नयाँ पिढीको हुनुपर्ने हो तर विगतदेखि अहिले वैज्ञानिक भनौंउँदो युगसम्म आउँदा पनि मानव समुदायमा त्यो चेत र संस्कार विकसित हुन नसक्नु दुर्भाग्यको विषय हो ।
प्राकृतिक नियमहरुको रक्षा र विकास गर्दै मानव समाजलाई कसरी सभ्य, समुन्नत, समृद्धशाली र समानतामूलक बनाउन सकिन्छ भन्ने सोच र विचार नै उत्तम दृष्टिकोण हो । तर हालको मानिसहरुमा यो चेतनाको विकास तिब्र गतिमा हुन नसक्नु दुःखद कुरा हो । पैसा नै सब थोक हो, पैसा प्राप्तिका लागि जे गरेपनि हुन्छ भन्ने पुँजीवादी सोच लामो समयदेखि मानिसको दिमागमा हालिदिएका कारण यस्तो अवस्था आएको हो ।
यो सोचले मानवीय चेतको आधारमा जीवन र जगतलाई हेर्ने दृष्टिकोण नष्ट गरिदिन्छ ।
मानव समाजको सामुदायकीकरणको सुरुवात देखि नै समाज दुई वर्गमा विभाजित छ । बलियो र कमजोर । यसरी बलियोले कमजोरलाई दमित बनाउने र आफूले रजाई गर्ने संस्कार बसाल्दै लगियो । राज्य सत्ताको बल प्रयोग गरेर यस्तो विभदकारी अवस्थाको सर्जना गरिएको हो ।
बदलिंदो समय क्रमसँगै त्यसरी सताइएकाहरुले मुक्ति र समानताका लागि लडाईंहरु चल्दै आए । दमितहरुलाई दबाइदै जाँदा समाज हुँदाखाने र हुनेखाने गरी २ वर्गमा रुपान्तरित भयो । तर लडाईं सँगै मानिसहरुको चेतना विकसित हुन नसक्दा लडाईंहरु विजयको उत्कर्षबाट समुद्रको फेदितिर पुग्नेगरि ढलाउँदै लगियो । यसको मुख्य कारण नै दमित संस्कारबाट स्वतन्त्र हुन नसक्ने सामन्तवादी र निम्न पुँजीवादी चेतनाको कारण रह्यो ।
मानव संस्कार र समाजलाई युगसापेक्ष सभ्यताको शिक्षा दिने चेतना र संस्कारको विकास गर्नु हो । सत्य, तथ्य र न्यायको चेतमा नयाँ निर्माणको विगुल फुक्दै समाजलाई उन्नतीतिर डोर्याउने कुराको मापन गराउने मापनयन्त्र नै संस्कार हो ।
राजनीतिः
चेतना र संस्कारलाई समय सापेक्ष बनाउने र समाजलाई नेतृत्व दिने मुल नीति नै राजनीति हो । तर राजनीतिलाई सामन्ती निम्न पुँजीवादी चेत र संस्कारले नेतृत्व गर्दा आज संसारभर गरिखाने वर्गले दुःखित र दमित जीवन जीउन विवश छन् । यो अवस्था समाज विकासको उल्टो विषय हो । त्यही उल्टो विषयलाई सुल्टो बनाउने अभियानमा संसारका लाखौं मानिसहरुले जीवन दान गरेका छन् । तर विकसित भनिएको नयाँ युगमा पनि नव युवाहरु पुरानो चेत र संस्कार भन्दा माथि उठ्न नसक्ने प्रवृत्तिले गर्दा आजपनि संसारमा दुई वर्गबिच लडाईं लड्नु पर्ने दुर्भाग्यपूर्ण अवस्था जस्ताको तस्तै छ ।
पुरानो चेतबाट पीडितहरु गरिखाने वर्गमै रहन विवश छन् । त्यही दुर्भाग्यको सिकार हाम्रो देश र समाज स्वभाविकरुपले परेको छ । आज पनि देशका युवाहरुमा नयाँ चेतना र संस्कारको विकास हुन नसक्दा देशले पाउनु दुःख पाएको छ । आजको युगमा पनि युवाहरु कसैको अन्धभक्त झोले बन्ने, नेतृत्वलाई देवत्वकरण गर्ने र पैसामा बिक्ने प्रवृति हावि छ । यस्तै कारणले हालको मानव चेतना र संस्कार मात्र होइन राजनीति पनि दुर्गन्धित बनेको छ । जब राज्यको मुल नीति नै असफल भएर राष्ट्र नै विलिन हुने अवस्था आउँछ तब त्यो पैसा वा युवाहरुले देवता ठानेका नेतृत्वको के नै औचित्य रहन्छ र ?
युगौंदेखिको यो गम्भीर प्रश्नले आज पनि उत्तरको खोजिमा सुदुरक्षितिजको एउटा आँखिझ्यालबाट चियाइरहेको छ । हो आज युवाहरुमा नयाँ चेतना र संस्कारको खोज अनुसन्धान, निश्कर्ष निकाल्ने र समाजलाई वैज्ञानिकिकरण गर्दै लग्ने चेत पलाउन सकिरहेको छैन । जसका कारण पुरानै चेतना र संस्कार सहितको नेतृत्वबाट दमित मानसिकताले हामी र हाम्रो राजनीति दुर्गन्धित भएको छ ।
यसरी समाजलाई उन्नत र समानतामूलकरुपमा उभ्याउन संस्कारको वैज्ञानिकरण गर्न नयाँ खोजका खानी नवयुवाहरु उठ्न जरुरी भइसकेको छ । नव युवाहरुले कसरी सोच्छन् र खोजको विषयमा प्रवेश गरी के निश्कर्ष निकाल्छन भन्ने कुराले त्यो समाजको चेतना र संस्कार विकासको निर्धारण गर्दछ । त्यसैले चीनीयाँ नेता माओत्सेतुङले एक सन्दर्भमा भनेका छन्, ‘युवाहरु हो यो देश तिमीहरुको हो, हुन त हाम्रो पनि हो तर खासमा तिमीहरुकै हो किनकी तिमी उदाउँदो सूर्य हौ, हामी अस्ताउँदो’ ।
भन्नुको मतलव युवाको चेतनाले समाजमा बसाउने संस्कारले समाजलाई जुन प्रभाव पार्छ वृद्धहरुको चेतनाले कम पार्छ । किनकी युवाहरुमा नयाँ चेतना र संस्कारको विकास छिटोछिटो हुन्छ । वृद्धहरुमा पुरानै चेत र संस्कार रहेको हुन्छ । त्यसैले समाजलाई अगाडी बढाउने नै नयाँ चेतनाले हो । पुरानोले त अस्ताउँदो बाटो पकड्छ वा गति लिन सक्दैन । रगत देख्न नसक्ने तर मासु खान खोज्नेहरुको जमात पनि संसारमा धेरै नै छ ।
यो भनेको समाज बदल्नका लागि दुःख नगर्ने तर विकसित समाज खोज्ने प्रवृतिलाई लक्षित गरेर भनिएको हो । दुःख नगरेरै सुख खोज्ने तर त्यसका लागि आफूले दुःख नगर्ने चिन्तन नै निम्न पुँजिवादी चिन्तन हो । नेपाल पनि यही स्वार्थग्रसित चेत र संस्कारको सिकार बनेको । त्यसैको प्रभावमा लक्ष्यहीन भएर पैसा र शक्तिको खोजिमा चेतहीन मानिसहरु दौडिरहेका छन् । यो चेतले नै उनीहरुलाई कसैको अन्धभक्त भारदार बनेर आफू, समाज र राजनीतिलाई नै बद्नाम गराइरहेको छ । दुर्गन्धित बनाइरहेको छ ।
यदि देश र समाजलाई साँच्चिकै विकसित गर्ने हो भने बिनाकुनै आग्रह पूर्वग्राहका साथ अघि बढ्नुपर्छ । सत्य, समानता, न्याय र समृद्धिको लागि नयाँ चेत र संस्कारको आवाज बोक्ने साहस युवाहरुले गर्नुपर्छ । त्यसो गर्न कसैको अन्धभक्त पिछलग्गु बन्नु पर्दैन । मात्र सही विचारबाट निर्देशित भए पुग्छ । त्यसैले युवाहरुले एकपटक गहिरो गरि सोच्ने बेला आएको छ । अविकसित विकसित बनाउन र बदल्ने आँट र अठोट गर्नै पर्छ । बरु यतातिर सोच्न र लाग्न समय ढिला भइसकेको छ ।