अधिकांश महिलाका लागि महिनावारी निकै पीडादायी हुने गर्छ । यो वेलाको थकान, कम्जोरीपन, पेट दुखाइ, मुड परिवर्तन आदि कारणले जतिसुकै स्वस्थ महिलाले पनि आलस्य महसुस गर्छन् । स्वास्थ्य अवस्था कमजोर भएका महिलाका लागि त महिनावारी निकै नै पीडादायी बन्ने गर्छ ।
महिनावारीका वेला हुने पीडा र आलस्यपनलाई व्यायाममार्फत कम गर्न सकिने स्वास्थ्यविद्हरूले सुझाब दिएका छन् । यो समयमा गरेको व्यायामले पछिसम्मै स्वास्थ्यमा निकै फाइदा गर्ने उनीहरूको भनाइ छ । महिनावारीको समयमा व्यायाम गर्दा शारीरिक फिटनेस, हृदयाघात नियन्त्रण हुने, स्ट्रोक, अर्थाइटिस, ओस्टियोपोरोसिस, मधुमेहजस्ता समस्या नियन्त्रण गर्न मद्दत पुग्ने भनाइ छ ।
महिनावारीको वेलामा व्यायाम गर्दा शरीरमा हार्मोनको स्तरमा परिवर्तन आउँछ र शारीरिक असर कम गर्न सहयोग गर्छ । व्यायाम गर्दा शरीरमा एन्डोफ्रिन उत्पादन हुन्छ जसले शरीरमा प्राकृृतिक दुखाइ कम गर्छ । यद्यपि, महिनावारीका वेला व्यायाम गर्दा शरीरमा बढी भार भने पार्नुहँुदैन ।
महिनावारीका वेला व्यायाम गर्नुका फाइदा
व्यायाम गर्दा शरीरमा उत्पादन हुने एन्डोफ्रिनले मुड परिवर्तन गर्नुका साथै बारम्बार भइरहने ‘मुडस्विङ’मा राहत दिन्छ । थकान र टाउको दुखाइ कम गर्छ । रक्तसञ्चारमा सुधार गरी महिनावारीमा जाने रगत व्यवस्थित गर्छ । योसँगै अधिकांशले महिनावारीको समयमा झेल्ने डिस्मोनोरिया कम गर्न राहत दिन्छ ।
विशेषज्ञहरूका अनुसार सामान्यतया रगत बग्न कम भएपछि कार्डियोभस्कुलर एक्सरसाइज जस्तै दौड, जगिङ, स्टेयर क्लाइम्बिङ गर्नुपर्छ । यी एक्सरसाइजले शरीरमा एन्डोफ्रेन हार्मोनहरू उत्पादनमा बढावा दिनुका साथै शरीरको तापक्रमसमेत सन्तुलनमा राख्छ । यो समयमा हार्मोनमा परिवर्तन आउने हुँदा शरीरमा विभिन्न परिवर्तन देखा पर्छन् ।
तर, महिनावारीको समयमा जटिल खालको एक्सरसाइज भने गर्नुहँुदैन । जस्तै, रनिङ वा जगिङ गर्दा पाँचदेखि १० मिनेट मात्रै उपयुक्त हुन्छ । योसँगै घरमै सामान्य योगा र व्यायाम गर्न सकिन्छ । यो समयमा दिक्क लाग्ने वा मुड फ्रेस नहुने हुँदा शरीर तन्काउने सामान्य खालका व्यायाम उपयुक्त मानिन्छ । विज्ञहरूले शरीरलाई भार नपर्ने गरी ब्रिस्कवाक, रनिङ, स्विमिङ, योगा, एडोमेन एक्सरसाइज, वेट लिफ्टिङ, डान्सजस्ता व्यायाम गर्न सकिने सुझाब दिएका छन् ।
एजेन्सी