संसारमा देशहरु बन्ने र भत्किने गरिहन्छन् । विश्व परिघटना, राजनीति र कतिपय स्थानीय जनताको आवश्यकताले पनि भूगोल टुक्रिने र जोडिने गर्दछन् । दार्जिलिङ कसरी भारतमा गाभिन गयो ? भन्ने विषयमा आज सामान्य चर्चा गरिनेछ । दार्जिलिङ भारतको पश्चिम बङ्गाल राज्यको एउटा सहर र नगरपालिका हो । हिमालयको काँखमा समुद्र सतहदेखि २१ सय मिटर उचाइमा रहेको दार्जिलिङ ‘पर्वतकी रानी’को नामले चर्चित छ । यो ठाउँ प्राकृतिक हिसाबले धेरै सुन्दर तथा जलवायुको हिसाबले पनि अति स्वस्थकर रहेको छ । सुन्दर दार्जिलिङ कुनै बेला नेपालको अधीनमा थियो भने कुनै समय पाकिस्तानले पनि यहाँ झण्डा गाडेर आफ्नो दाबी गरेको थियो । आज हामी यो भूगोल कसरी भारतमा गाभिन पुग्यो ? भन्ने बारेमा चर्चा गर्ने छौं । दार्जिलिङको नाम बौद्धमार्गी पुजारी दोर्ज र हिन्दूमार्गी शिवको लिङ्गको समिश्रणबाट बनेको भनाइ रही आएको छ ।
स्थानीय भाषामा दोर्जको अर्थ ईन्द्रको बास र लिङ्गको अर्थ स्थान रहने भएकाले दार्जिलिङको नामाकरण पनि ईन्द्रको बासस्थान भन्ने अर्को भनाइ पनि रहेको छ । चिया, सानो रेल र शिक्षाका कारण प्रसिद्ध दार्जिलिङमा नेपाली भाषीको बसोबास बाक्लो रहेको छ । इतिहास हेर्दा पृथ्वीनारायण शाहले देश बनाउने क्रममा सन् १७७० मा सिक्किमसित लडाइँ गरेर सिक्किमको पश्चिममा मेची नदीदेखि पूर्वमा रहेको टिस्टा नदीसम्मको झण्डै ४ हजार वर्ग माइल नेपालको साम्राज्यमा गाभेको थियो ।
व्यापार गर्ने निहुँ पारी भारतमा आएर शासन गरेर बसेका अंग्रेजको एक व्यापारी समूह इष्टइण्डिया कम्पनी र भारतमाझ सन् १८१६ मार्च ४ सुगौली सन्धि गरी युद्ध सकिएको घोषण गर्दै नेपालले पहिले सिक्किमसित जितेका सबै ४ हजार वर्ग माइल इलाकाको अतिरिक्त आफ्नो कब्जामा रहेका अल्मोडा, मन्सुरी, नैनीताल र सिमलाजस्ता सुन्दर भूभाग इष्टइण्डिया कम्पनीलाई सुम्पिनु परेको थियो । सन् १८२९ मा नेपाल र सिक्किमबीच सीमा विवाद सुल्झाउन इष्टइडिया कम्पनी सरकारका जनरल लोहिड र ग्रेण्ड नजामक २ अंग्रेज सिक्किमतिर जाँदा बाटोमा परेको राम्रो भूभाग देखेर मोहित भए, कञ्चनजङ्घा हिमाल देखेर लोभिए ।
मनोरम हावापानी र बाक्लो चाँप, गुराँसले ढाकिएको प्राकृतिक नैसर्गिक सौन्दर्यले भरिएको दार्जिलिङ देखेर उनीहरुले सिक्किमका राजासित दार्जिलिङ माग्ने परिकल्पना गरे । औलोबाट बच्न र विरामी हुँदा गोराहरुको उपचारका लागि समेत दार्जिलिङ उपयुक्त स्थान ठहर गरी सन् १८३५ फेब्रुअरी १९ मा लोयडले सिक्किमी राजासित दार्जिलिङ माग गरे । मित्रताको प्रतीकमा राजाले स्वास्थ्य शिविर बनाउन भनी २५ फेब्रुअरीमा नै दार्जिलिङ कम्पनी सरकारलाई बुझाए । वार्षिक ३ हजार खजाना पाउने गरी जम्मा १३८ वर्ग माइल भूभाग मात्रै उपभोग गर्नेगरी दिइएको थियो ।
तर त्यस अधिकार पत्रलाई तोडमोड गरी इष्टइण्डिया कम्पनीले सिंँगै दार्जिलिङ कब्जा गर्यो । जसले गर्दा सिक्किम र कम्पनी सरकार र बीचको सम्बन्ध तितो र टर्रो भएको थियो । सन् १८२५ मा कम्पनी सरकार सिक्किम बीच लडाइँ पनि भयो । तिब्बत र चीनमा व्यवपार गर्ने उद्देश्यले भुटानमाथि प्रभाव जमाउनु पर्ने आवश्यकता अंग्रेजलाई थियो । आफ्नो प्रभाव जमाएर भुटान नियन्त्रणमा लिन भुटान तथा कुच बिहारको बीचमा लडाइँ हुँदा ब्रिटिस भारतले कमजोर कुच बिहारसित रहेका धेरै भुटानी इलाका भुटानलाई नै फर्काइदिए ।
जसले गर्दा भुटानसित अंग्रेज सरकारको मित्रताको गाँठो बलियो भयो । तर भुटानलाई अंग्रेजले सिक्किमको दार्जिलिङ छलकपट गरी हडपेको आभाष भएको थियो । सो डरले अंग्रेजदेखि भुटान टाढा हुन खोज्यो । सोही कारण सन् १८६४ मा त अंग्रेजले भुटानसित युद्ध नै गर्यो । लडाइँ गरेर सोही साल नोभेम्बर ११ मा भूटानको बङ्गाल डुअर्स, कालिङपोङ, पेसोक र देवाङ गिरी लगायत धेरै भूभाग र पहाडी इलाकामा दखल गर्यो । सन् १९१० जनवरी १० मा भुटानसित गरेको पुनाका सन्धिले कालिङ्पोङको लागि अंग्रेज सरकारले वर्षेनी १ लाख भाडा दिने गर्यो ।
तर पछि सन् १९४९ मा भारत र भुटानका बीचमा भएको नयाँ सन्धिले सालाना ५ लाख दिने कबुलियत गरेको पनि देखिन्छ । तसर्थ, कालिङवपोङलाई पट्टामा लिएको भूभाग भन्ने गरिएको थियो । सिक्किमका राजा र इष्टइण्डिया कम्पनी बीच पहिले गरिएको सन्धि रद्द गरेर १८६१ मर्च २८ मा ब्रिटिस सरकारले इष्टइण्डिया कम्पनी सित गरेको सम्झौता अनुसार दार्जिलिङ भूभाग छुट्टै इलाकाको रुपमा रहेको र सन् १९४७ मा भारत स्वतन्त्र हुँदा भारत र पाकिस्तान २ भागमा विभाजन गरेको तर त्यस विभाजनमा दार्र्जिलिङ कस्को जिम्मामा लगाउने बारे कुनै निर्णय नभएको देखेर १९४७ को अगस्ट महिनामा पाकिस्तानले दार्जिलिङ आफूले पाउनु पर्ने दाबी गर्दै ६ दिनसम्म दर्र्जिलिङमा आफ्नो झण्डा गाडेको थियो । यद्यपि भारतले सन् १९४७ अगस्तदेखि दार्जिलिङलाई आफ्नो भूभाग भन्दै सन् १९५० जुलाई ३१ मा नेपालसित शान्ति र मैत्री सन्धि गर्यो । यही सन्धिबाट नेपाल गुमाएको भूगोल हो, दार्जिलिङ ।
सन्धिको धारा ८ मा ब्रिटिस सरकार र नेपाल सरकार बीच पहिले भएका सबै सन्धि सम्झौता तथा लिखत रद्द गरिएको भन्ने इतिहास छ । यस अर्थमा नेपालले ब्रिटिसलाई पहिले सुम्पेका सबै भूभाग नेपालकै हुन आएको र ती क्षेत्रमा रहेका सबै नेपाली भाषी नागरिक नेपालकै भएको प्रष्ट हुन्छ । वास्तवमा दार्जिलिङ दख्खलको रुपमा भारतको भएपनि संवैधानिक हिसाबले भारतभित्र नरहेको देखिन्छ । त्यसैले दार्जिलिङका गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले गोर्खाल्याण्डको आन्दोलनका बेला दार्जिलिङ मालिक बिनाको भूभाग हो भनेको थियो । एक समयमा भारतका भुपूविदेश मन्त्री दिनेस सिंहले समेत दार्जिलिङ पार्वत्य क्षेत्र भारतमा नगाभिएको खुलासा पनि गरेका थिए । नेपाल र इष्टइडिया सरकार बीच भएको सन् १९५० को सन्धिको धारा ७ अनुसार पर्वतीय नेपाली प्रवासी नेपाली बारे स्पष्ट छैन ।
भारतले पहिलेदेखि बस्दै आएका नेपालीहरुलाई नागरिक ठान्दैन । यता भारतमा पहिलेलेखि बस्दै आएका नेपालीलाई भारतीय ठान्दछ । यस्तैयस्तै ऐतिहासिक विवाद र मनोमालिन्य नेपाल र भारत बीच अझै धेरै नै छन् । नेपालले भारतलाई सधै असल मित्रका रुपमा लिन्छ, तर भारत भने छिमेकीको व्यवहार गर्दैन । मित्र त झनै ठान्दैन । हिजो भएका सीमा सन्धिहरुमा आज संशोधन गर्नुपर्ने अवस्था छ । तर यस बारेमा भारत कहिल्यै पनि सकारात्मक भएन । सिमानामा रहेका विवाद पनि मिलाउन चाहेन । नेपालको सयौं स्थानमा भारतले भूमि मिचेको छ । तर यो कुरा स्वीकार्न ऊ चाहन्न । दक्षिण एसियाको हिरो र शक्तिशाली ठान्ने भारत छिमेकी देशलाई चिढ्याइ रहन चाहन्छ ।
अरु देशको भूमि मिचेर साँढे बनिरहन चाहन्छ । प्रमाण जुटाएर बसेर सीमा समस्या हल गर्न पनि भारतीय शासकका लागि रुचिको विषय बनेन । हुँदाहुँदा नेपालको सत्ता राजनीतिमा आफ्नो स्थान खोज्दै आएको भारतले नेपाली शासक वर्गलाई सधैं आफ्नो नजिकमा राखिरहन चाहन्छ । र आफूले भनेको मान्ने बनाइरहन चाहन्छ । यतिमात्रै होइन, भारतले सिंगो दक्षिण एसियाका देशहरुलाई नै आफ्नो सुरक्षा छाताभित्र राख्न चाहन्छ र राखिरहेको छ । जुन अवस्थाले नेपाललाई मात्रै होइन, दक्षिण एसियाली अन्य मुलुकहरुलाई पनि आत्मनिर्भर बन्नबाट रोक्छ । भारतबिना नेपाल जीउन गाह्रो हुने अवस्थामा पुर्याउँछ र पुर्यारहेको छ । के यसबारेमा हालका नेपाली सत्ताधारी विचार पुर्याइरहेका छन् ? छैनन् । किन कि व्यवहारले त्यस्तै देखाउँछ ।