राजनीतिक सङ्गठनमा गाली र तालीको राजनीतिलाई प्रश्रय दिने हामी जनता नै हौँ । नेपालको राजनीतिक इतिहासलाई नियाल्दा नेताका लागि राजनीतिक संगठनको अभ्यास गर्ने एउटा मैदान मात्रै भयो । वि.सं. २००७ पछि हाम्रो देशले राणाशासन विरुद्ध लड्यो । जनतालाई राणाशासनविरुद्ध लड्न प्रेरित गरियो । तर यो पक्कै नै उपलब्धिमूलक बन्यो । यो आन्दोलन साँच्चै देश र जनताका हितार्थ थियो । जनस्वार्थमा, राष्ट्रिय स्वार्थमा आधारित थियो, पदस्वार्थमा होइन । २०१५ ले प्रथम पटक बहुमतको सरकार पाइरहँदा राजा महेन्द्रद्वारा ३० वर्षे पञ्चायती शासनलाई जन्माइदिए ।
फेरि जनताले बहुदलीय व्यवस्थाको माग गर्नुपर्यो । प्रजातन्त्र पुनर्बहाली भएपछि भनियो- अब समृद्धि, सुशासन र विकासको मियो गतिलो हुन्छ । आखिर जनतालाई कागलाई बेल पाक्यो, हर्ष न विस्मात् । खै ७० वर्षसम्म पनि परिवर्तनको अर्थ के हो कुन्नि आभास हुनै सकेन । समयले, सञ्चारले, प्रविधिले जति जनतालाई टाठोबाठो बनायो, त्यसरी राजनीतिले कहिल्यै सचेत र सक्षम बनाएको इतिहास नबनेको देख्दा पनि यो मुलुक राजनीतिक अभ्यासको एउटा मैदान मात्रै बनिरहेको छ । माओवादीले १२ वर्ष जङ्गलमा बसेर जुन कुराको माग गरेको थियो, त्यो पनि सत्तास्वार्थमा पुग्दा नपुग्दै धुजा धुजा भयो । अहिले पहुँचमा हुनेले छुट्टाछुट्टै नेताको टोपी ओढेर हिँडे । हिजोको कुरा र आजको व्यवहारमा कुनै तालमेल नै छैन ।
आखिर व्यक्तिस्वार्थले जनतासँग गरेका प्रणलाई चटक्कै भुलाइ दियो ।
यसै क्रममा गणतन्त्रका लागि भनेर २०६२-०६३ को जनआन्दोलनले राजतन्त्रलाई फाल्यो, त्यो पनि एउटा पृथक कित्तामा आयो । जनताका छोराछोरीलाई जनताले नै नेतृत्व गर्नुपर्छ भनियो । राजा र प्रजाको भावनामा निरङ्कुश, तानाशाही, एकतन्त्रको खतरा रहिरहन्छ भनियो । त्यो एउटा हदमा सही अवश्य थियो । तर विडम्बना त्यसो पनि भइरहेको छैन । विपन्नले सम्पन्न हुने बाटो नहुँदा पीडा नै भोग्नु परिरहेको छ । अझैं जनता ओडारमा बस्छ । अनकन्टार पाखामा वर्षभरि काम गर्दा तीन महिना खान नसकेर तड्पिन्छ । ऋण गरेर विदेसिन्छ । देश रेमिट्यान्स लिन्छ, तर आत्मनिर्भरताको विकासका लागि न काम गर्छ, न काम गर्नेलाई प्रोत्साहन गर्छ । बरु जनतालाई मेनपावरले, ठगले, पदमा बसेकाले चुसिरहन्छन् । घरमा लालाबाला रोइरहन्छन् ।
राजनीतिक क्रममा नौ महिने सरकारको नाम पाएका सत्ता परिवर्तनधारी मानिस आज पनि उसै रूपमा पदीय स्वादका निम्ति लडिरहेका छन् । पदको लडाइँलाई ‘जनताका निम्ति’ हो भनिरहेका छन् । विकासका कुरा गर्दै पद टिकाउने र धुत्ने होडबाजी बडो नाटकीय गतिमा दगुरिरहेको छ । हामी जनता कसैलाई ताली र कसैलाई गाली दिन तम्सिरहेकै छौँ । तथापि, स्थिर प्रजातान्त्रिक सरकारको अपेक्षामा २०७४ सालमा झण्डै बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अर्को तमासा गर्यो । संसद विघटन गर्यो अनि सडकमा दुई कित्ता बनेर करोडौँ उडाए । जनतालाई हैरानी दिनसम्म दिए आखिर अदालतको निर्णय निर्णायक रहेछ त केका लागि तमासा हो कुन्नि !
आखिर न्यायालयको साख जोगिने गरी निर्णय आयो सबै तमासा चुपचाप छ । तर अब भागवण्डा सुरु हुने भय बढ्दो छ । संसद किनबेचको तमासामा प्रतिपक्षी दलको भूमिका रहने भए पनि जनता रमिते हुने नै हो । त्यसपछि, कुर्सी र पदको लडाइँमा लाग्ने नेताको कार्यशैलीलाई हेरेर हिजो सडकमा दुई कित्ता हुने तिनै जनताले भन्नेछन्- करायो करायो दक्षिणा हरायो अर्थात् जुन जोगी आए पनि कानै चिरेका अर्थात् हात्ती आयो हात्ती आयो फुस्सा । पत्रकारलाई मसला पनि मिलिरहन्छ अनि जनताका लागि चियाचुस्कीको गफ पनि । नयाँ भाँडामा पुरानैै वस्तुको भण्डारण मात्रै न हुने हो । अनि चुनाव आउनै लाग्छ- तब पनि उही कुरा आउँछन्, घोषणापत्रमा मथिङ्गल घोत्लिन्छ ।
आखिर मद्यपान गराएर गाडी चलाउन लगाउने र दुर्घटना नहोस् भन्ने पनि हामी जनता नै रहेछौँ । अहिलेको अवस्थामा प्रचण्ड-नेपाल समूहबाट प्रधानमन्त्री दाबी गरिरहँदा पनि उही पुरानै मान्छे नै आउने हुन् । त्यसपछि ओली पक्षले बदला लिन खोजिरहन्छ । दुवै कित्ता आपैmँमा सक्षम हुँदैनन्, तर पनि मिल्ने सम्भाव्यता झनै छैन । यसो हुँदा ओली र प्रचण्ड दुवै समूहका दोस्रो वर्गले नेतृत्व लिने तथा पुराना नेतृत्वले सल्लाहकारको भूमिका निर्वाह गर्दा बढी लाभदायी हुने देखिन्छ । प्रतिपक्षी दलले पनि यतिखेर स्थिरताका लागि साथ दिनु नै देशका लागि हितकारी हुने देखिन्छ ।
यद्यपि यी सबै अनुमानलाई राष्ट्रिय स्वार्थका तहमा मात्रै उपयोगी हुने देखिन्छ । तराजुमा राखेर आफैले आफूलाई जोखेर आत्मसमीक्षा गर्ने हो भने नेकपाको दुई कित्ताले पानीमुनिको ओभानो हुन मिल्दैन, बरु नव पुस्तालाई शक्ति दिएर मुलुकको भविष्यतिर ध्यान दिनु सबैभन्दा उपयुक्त विकल्प देखिन्छ । यद्यपि, संसदीय दलका हिसाबमा प्रचण्ड-नेपाल समूहमा पल्लाभारी हुने देखिन्छ । यो सरकारको दुई वर्ष पनि समयावधि छैन । यसो हुँदा अन्य कुनै दलसँग सत्तासमीकरण गर्दै अघि बढ्ने सम्भाव्यता बलियो भए पनि अस्थिरताको अभ्यास भने जारी रहनेछ ।
सांसद किनबेच हुँदा आउने चुनावमा पनि एउटा पार्टीलाई मात्रै बहुमत प्राप्त हुने देखिँदैन । गठबन्धनयुक्त सरकार बनाउने कुरामा सहमतिको अभाव भइरहने हुँदा नेपाली जनताले आगामी इतिहासमा पनि सहज राजनीतिक परिवेश पाउने नपाउनेमा ठूलो आशङ्का देखिन्छ ।
प्रजातन्त्र, लोकतन्त्र र गणतान्त्रिक युगका चरणक्रमले जनतामा सुख दिने परिवेश नबन्नुमा हामी जनता पनि उत्तिकै दोषी छौँ कि । ताली र गालीको दुई कित्तालाई मस्तिष्क मन्थन गर्दै छौँ । बलेको आगो ताप्ने र जस लिने कुरामा जो कोही अघि सर्छ । हुर्केको वृक्षको छहारीमा त जो कोहीले पनि शितलता प्राप्त गर्नुपर्ने हो नि त । तर, किन त्यसो भएन ? के हामीले सामाजिक सञ्जालमा आएका विचारमा निष्पक्षता र विमर्श भेट्यौँ ? निष्पक्षता प्राप्त गर्यौँ ? रचनात्मक विचार पनि पायौँ त ! हाम्रो सोच र वर्तमान वास्तविकताको फासलालाई नियाल्नु आवश्यक देखिन्छ ।
भुइँमान्छेको आवाजलाई भिडले सम्बोधन गर्दैन । सबाल्टर्न वर्गको वास्तविकतालाई व्यवहारद्वारा बदल्न नसक्ने र जसले सम्बोधन गर्न खोज्छ, उसले पनि एउटालाई गाली गरेर शत्रुता मात्रै बढाउने अभ्यास भइरहेको देखिन्छ । तल्लो स्तरका मान्छेका लागि बोलिदिने मान्छेको खडेरी छ । जसले बोल्छन् तिनले अर्को वर्गलाई गाली गर्न सिकाइरहेका छन् तर जीवनस्तर अभिवृद्धिमा उत्प्रेरणा दिएका छैनन् । साथ र हौसला दिएनन् । बरु त केवल आफ्नो पक्षमा रहेर वकालत गर्ने झुण्ड बनाउने दाउ थापिरहेका छन् । यसर्थ नेपालमा ताली र गालीको संस्कार मौलाएको छ ।
चाकडीबाजको शैली नयाँ बोत्तलमा पुरानै रक्सि भरिएको झैं मात्र छ ।
समाजवादको खोक्रो नारा बोकेर राजनीतिक पदलोलुपतामा नेकपाभित्रका माथिल्ला ओहोदाका नेतृत्वले खोजेको भाग नपाएपछि जनतालाई लडाए । कमसेकम राम्रो मान्छेलाई रोजौँ तर व्यक्तिस्वार्थ र व्यक्ति समर्थनको संस्कारलाई साथ नदिने बुद्धिको विकास पनि गरौँ । कुनै पनि पार्टीले कस्को चुलो बल्दैन, को दुःखी छ भनेर तिनलाई पहिचान गर्ने र सहयोग गर्ने होडबाजी गरेको कहिल्यै देख्न पाइएको छैन । हिजो २००७ सालदेखि २०४६, २०५२ देखि माओवादी द्वन्द्व, ०६२÷०६३ को आन्दोलन हुँदै अस्थिर सरकारको क्रमिकतादेखि आजसम्म जनताले गरेका दर्जनौँ आन्दोलनको परिघटनाले एउटै लक्ष्यमा पाइलो टेक्न खोजेको हो- स्थिर शान्ति र उच्च समृद्धि र विकास ।
पार्टीभित्रको लडाइँ र मुलुकको विकासको गतिलाई कुर्सी र सत्तामोहको लिप्साले कसरी धकेल्छ भन्ने पाठ सिकेर आत्मआलोचना गर्नु पनि अपरिहार्य देखिन्छ । जनताको दिमाग भुटेर उही स्वार्थको ढोल पिट्ने होडबाजीमा जनताले उसै गरी सधैँभरि एउटै कोण र शैलीबाट साथ दिनु सान्दर्भिक नहुने पनि त रहेछ । पार्टी चाहिन्छ तर गुट चाहिँदैन भन्ने हिम्मत बोकेर कसैले कसैसँग पनि असहयोगको भावना राख्ने हिम्मत गर्नुपर्ने रहेछ । हिजोको भिड वास्तवमा यही कित्तामा चुक्यो । विभाजित दुई शक्तिले आपूmलाई जतिसुकै पानीमुनिको ओभानो बनाउने प्रयास गरे पनि त्यो सबै जनअभिमतमाथि गरिएको नृशंस हत्या हो भन्ने बुझ्न सकेको भए नेतृत्व सम्हाल्नेले बाध्य भएर मिल्नुपर्ने स्थिति आउँथ्यो ।
अपशोच ! त्यस्तो भएन । जनताले नेता छान्ने हो । जनता र नेता दुवैले मुलुकको समृद्धि चाहन्छन्, तर नेताले यश लिन चाहन्छ । जनतामा असल नेताको आशा हुन्छ तर नेतामा आफ्नो स्वार्थमा पनि जनताको साथको अपेक्षा हुँदा भोट र समर्थन किन्ने प्रवृत्ति हुन्छ । नेताका कुरा विकासवादी भए पनि काममा स्वार्थको पोको मिसिन्छ । यस मानेमा ताली र गालीको शैलीलाई मन्थन गरौँ । खाली विरोध र खाली समर्थन होइन, समीक्षा पनि गरौँ बरु नयाँ पुस्तालाई अघि बढ्न उत्साह दिऔँ ।
चाहे जुनसुकै गुटको कुरा होओस्, यी स्वार्थजनीन लडाईँमा साथ दिएर हामीले आगोमा घिउ थप्न थाल्दा अपशकुन हुने रहेछ भनेर पनि सिकौँ । कतिपय सन्दर्भमा त असमर्थन पनि देशका लागि हितग्राही हुने रहेछ । यसर्थ अब त स्वार्थ र गुटको विपक्षमा रहेर तिनको असहयोग गर्ने फरक सोचको खाँचो बढेको छ । परिणामतः गुटमा हिँड्नेलाई चेतावनी मिल्छ भन्ने अभ्यास होओस् । यो जनताको हातमा रहेको सुअवसर हो जुन कुरा आजभन्दा ७० वर्षपहिलाको प्रजातन्त्रकालदेखि नै प्राप्त थियो । यो अङ्कुराइरहेको संवैधानिक मूल्यलाई हुर्काउने बाटोमा एकजुट होऔँ ।