नेपाली गीत संगीतको क्षेत्रमा नयाँनयाँ रेकर्ड राख्ने क्रम बढेको छ । यस्तो नयाँ रेकर्ड हालका दिनहरुमा खासगरी गीतको भिडियोहरुमा देखा पर्ने गरेको छ ।
यसरी रेकर्ड बन्नु भनेको गीत राम्रो भयो भने स्रोता तथा दर्शकहरुको माया पाउँछ भन्ने समेत हो । शब्द, संगीत र स्वरको तादाम्यता साथै सोही अनुसारको भिडियोको संयोजन र सन्तुलन भयो भने दर्शक तथा स्रोताहरुको माया बटुल्न समय लाग्दैन भन्ने कुराको उदाहरण पछिल्लो चोटी केन्द्र मोसन पिक्चर्सको प्रस्तुति रहेको ‘टाढा भएपनि’ बोलको गीत रहेको छ ।
‘टाढा भएपनि’ गीतको भिडियोले नेपाली युटुबको इतिहासमा एउटा नयाँ रेकर्ड राखेको छ । १५ दिनमा १ करोड पटक हेरिएको नयाँ रेकर्ड राखेको सो भिडियोले १८ दिनमा १ करोड पटक हेरिने भिडियोको रेकर्ड राखेको ‘फूलबुट्टे सारी’को रेकर्ड तोडेर थोरै समयमा १ करोड पटक हेरिने म्यूजिक भिडियोको रेकर्ड आफ्नो पक्षमा पार्न सफल भएको हो ।
उर्गेन दोङले लेखेको सो गीतको शब्दलाई दोङ आफैले संगीत दिएका तथा स्वयमले नै संगीत संयोजन समेत गरेका छन् । सरगम स्टुडियोमा रेकर्ड भएको सो गीतलाई अस्मिता अधिकारी र उर्गेन दोङले स्वर दिएका छन् । महिला भर्सनको स्वरुपको रहेको सो गीतको भिडियोमा नायक पल शाह र नायिका मलिका महतले अभिनय तथा रोमान्स गरेका छन् ।
भिडियोको निर्देशन विवेक रसाइलीले गरेका छन् भने सम्पादन उज्ज्वल जोसीले सम्पन्न गरेका छन् । सो गीतले युटुवमा अपलोड भएको २४ घण्टामा ९ लाखभन्दा बढी पटक हेरिएर एकैदिनमा सबैभन्दा धेरै हेरिने नेपाली म्यूजिक भिडियोको रेकर्ड समेत तोडेको थियो । दर्शकहरुको अपार माया पाएको भन्दै अभिनेता पल शाहले खुशी व्यक्त गरेका छन् ।
यसअघि सोही गीतलाई उर्गेन दोङले पुरुष भर्सनमा गायर भिडियो समेत बनाएका थिए । पुरुष भर्सनको भिडियोमा निर्देशन दोङ आफैले गरेका थिए भने प्रदिप लामा मोक्तान र याङ्जी दोङ लामाले अभिनय गरेका थिए ।