• मंसिर ११ २०८१, मंगलवार

नेप्सेमा ४० अंकको सुधार, बजारमा सट्टेबाज हावी भएको अनुमान

फाल्गुन १७ २०७७, सोमबार

काठमाडौँ । सेयर बजारमा सट्टेबाज हावी हुँदा नेप्से परिसूचकमा अस्थिरता देखिएको छ । साताको पहिलो दिन ८० अंकले घटेको बजारमा दोश्रो दिन पुनः ४० अकले सुधार आएको छ । संस्थागत लगानीकर्ताले सेयर बिक्री गर्नु, सेयर बजार भन्दा बचत पत्र लगायतका ट्रेजरी बिलमा त्यस्ता संस्थाले लगानी बढाउन थालेपछि बजार बढेको आकलन गरिएको थियो । तर पुनः बजारमा सुधार आएको छ । एक दिन घट्ने र अर्को दिन बजार बढने कार्यमा सट्टेबाजहरुको चलखेल भएको अनुमान गरिएको छ ।

सोमबार नेप्से २ हजार ५ सय १५ दशलमव शून्य ३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन हुने ‘सेन्सेटीभ इण्डेक्स’ १ दशलमव ४५ प्रतिशत अर्थात् ६ दशमलब ४७ अंकले बढेको छ । ट्रेडिङ समूहको परिसूचक सबैभन्दा उच्च ३ दशमलमव ३२ प्रतिशतले बढेको छ । त्यस्तै होटल र टुरिजम समूहको परिसूचक पनि २ दशलमव ७१ प्रतिशतले बढेको छ भने वित्त कम्पनी समूहको परिसूचक २ दशमलव शुन्य ४ प्रतिशतले बढेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयरको अधिक कारोबार भएको छ । निफ्राको सेयर मूल्य ४ दशलमव १३ प्रतिशतले बढेर अन्तिम कारोबार मूल्य ५२९ रुपैयाँ कायम भएको छ । यस्को मात्रै ४४ करोड ४८ लाख ५२ हजार ६ सय ४७ रुपैयाँको सेयर कारोबार भएको छ । निफ्रापछि ठूलो कारोबार भएका कम्पनीमा शिखर इन्स्योरेन्स, ग्लोबल आइएमइ बैंक, नेपाल बैंक लिमिटेड तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।
बढी कमाउनेमा चन्द्रागिरि हिल्स रहेको छ । चन्द्रागिरी हिल्सको सेयर मूल्य ९ दशलमव ९० प्रतिशत बढेर अन्तिम कारोबार मूल्य ४५५ रुपैयाँ पुगको छ । कर्पोरेट डेभलपमेन्ट बैंक तथा बरुण हाइड्रोपावरको सेयर मूल्य क्रमशः ८ दशलमव १२ र ६ दशलमव ७९ प्रतिशतले बढेको छ । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र आशा लघुवित्तको सेयर मूल्य पनि ६ प्रतिशतभन्दा माथिले बढेको छ । नेप्सेमा २ सय ९ कम्पनीको ५ अर्ब ६९ करोड २३ लाख १६ हजार आठ सय ३१ रुपैयाँ मूल्यका १ करोड १८ लाख ३८ हजार चार सय ८८ कित्ता सेयर ७० हजार तीन सय ३९ कारोबारमार्फत् खरिद–बिक्री भएको छ ।