काठमाडौं । यो वर्ष कामको लागि कोरिया जाने प्रतिक्षा सूचीमा रहेका १० हजार मध्ये पाँच हजार जनालाई मात्र लाने तयारी गरिएको छ । ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमका अनुसार कोरीया जानको लागि पाँच हजारको हाराहारीमा नेपाली युवाहरु सबै प्रक्रिया सकेर बसेका छन् । कोरियन भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइन्छ भन्ने सुनिश्चितता नहुने भन्दै प्रतीक्षा सूचीमा नाम चढेर लेबर कन्ट्रयाक्ट आएपछि मात्र जान पाइने उनको बताए।
कोरोना भाइरसका कारण थलिएको वैदेशिक रोजगारी अझै राम्ररी उठ्न सकेको छैन । सबै प्रक्रिया सकेर बसेका नेपाली युवाहरु गन्तव्य मुलुक जान पाएका छैनन् । दक्षिण कोरियाको लागि भाषा परीक्षा पास गरेर बसेकाहरु कहिले जान पाउने भन्ने निश्चित भने अझै पनि रहेको छैन ।
सन् २०२० को लागि भएको भाषा परीक्षामा सहभागी ९२ हजारमध्ये करिब १२ हजार उत्तीर्ण भएका थिए । दुई वर्षअघि नै भाषा परीक्षा पास गरेका मध्ये केही अझै पनि भिसा कुरिरहेका छन् ।
कोरोनाका कारण कोरिया सरकारले अन्य देशबाट जाने श्रमिकहरुलाई प्रवेशमा रोक लगाएकाले नेपालीहरु जान नपाएका हुन् ।
रोजगारीका लागि पठाउन नेपालले त्यहाँको श्रम मन्त्रालयसँग समन्वय गरिरहेको छ । कम्बोडिया लगायतका देशबाट केही श्रमिक कोरिया गए पनि त्यो ‘ट्रायल’को रूपमा लगिएको छ । नेपालबाट पनि कोरिया जानको लागि तयार भएकालाई छिट्टै लैजाने तयारी गरिएको छ । कोरियाको रोग नियन्त्रण महाशाखाले नेपाललाई उच्च जोखिममा राखेका कारण अझै नेपालबाट कामदार पठाउन सकिएको छैन ।
सन् २०२१ मा पनि भाषा परीक्षा हुने भएको छ । कोरिया रोजगारीको लागि भाषा परीक्षाको तयारी गरिरहेको पनि इपिएस कार्यालयले जनाएको छ ।