• आश्विन ५ २०८१, शनिबार

मगर संघ स्थापना दिवसः एकताको दिवस

फाल्गुन १५ २०७७, शनिबार

भनिन्छ-‘थोपाथोपा पानी मिलेर विशाल समुन्द्र बन्छ ।’ झन समय र परिस्थितिले टाढिएका र अलग गरिएकालाई चेतना, समृद्धि र एकताको मालामा गाँस्न सक्यो भने अवश्य एकदिन घर, समाज र राष्ट्र मात्र होइन, विश्वजगतले विजयी र खुशी प्राप्त गर्न सक्छ । किनकि एकताजस्तो ठूलो शक्ति र खुशी संसारमा अर्को चिज केही छैन । जहाँ सम्पूर्ण मानवजगतको अस्तित्व र पहिचानलाई सहृदयका साथ सम्मान र आदर गर्न सकिन्छ । त्यहाँ खुशी र एकताको जग बलियो हुँदै शान्ति, समृद्धितिर लम्किंदै एउटा आर्दशमय संसारको विकास हुनसक्छ । हो, त्यसकारणले इतिहासको कालखण्डमा राज्यसत्ताले अलग गरेका र अस्तित्वविहीन पारेर टाढिएका मगर समुदायहरु आफ्नो इतिहास, भाषा, सांस्कृतिक संरक्षण र सम्बद्र्धनको लागि एकजुट भएको दिन नै मगर दिवस हो ।

आज विश्वभरि छरिएर बसोबास गर्दै आएका मगर समुदायले ३९औं मगर स्थापना दिवस बनाउन थालेका छन् । विगतमा राज्यसत्ताले मगर समुदायको पहिचान र अस्तित्वलाई नामेट पार्न खोजेको हुनाले त्यसलाई संरक्षण र सम्बद्धन गर्नको लागि यो दिवस मनाउनु परेको हो । आफ्नो गुमेको अस्तित्व र पहिचानलाई जोगाउनु पर्छ भनेर संगठित भएको दिन नै मगर दिवस हो । यो संगठित दिवसलाई एकताको दिवस पनि भनेर सम्बोधन गरिंदै आएको छ । त्यति मात्र नभई यो दिवस सम्पूर्ण नेपालीमा आपसी मित्रता, भाइचारा, बन्धुत्व, सद्भाव र सहिष्णुताको साथै मगरका बीचमा एकता सधैं कायम रहिरहोस् भन्ने उद्देश्य बोकेर अगाडि बढेको छ ।

आफ्नै पुर्यौली थातथलो जातीय भूमि (मगरात), मगर जातिले बोलिने तीनवटा मातृभाषा (ढुट, खाम वा पाङ र काइके),मगर जातिको धर्म (प्रकृतिपुजक, बौद्ध) मगर जातिको मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको बहुआयामिक पहिचान जसको आफ्नै सरल मगराँती जीवनशैली छ । जसलाई नेपालका आदिबासी मुलबासी मंगोल वा मगर जाति समुदायको रुपमा चिनिदै आएको छ । आफ्नो मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको मगर जातिको एकताको दिवस नै मगर दिवस भनेर चिनिदै आएको छ । नेपालमा रहेका विभिन्न जातजातिको आआफ्नै पहिचान र अस्त्तिव बोकेको छ जसलाई दीर्घकालिन पहिचान दिन र राष्ट्रको पहिचान बनाउन आज सबै जातजाति आफ्नो जातिलाई सचेत बनाउदै संगठित हुँदै गइरहेको छ । जसमा मगर समुदाय पनि एक हो । जसले आफ्नो जातीय पहिचान र इतिहासलाई राज्यको निर्णायक तहमा पुराउनु पर्छ भन्ने मगर समुदाय लगायत राज्यदेखि अस्तित्व र पहिचानविहीन हुन पुगेका जातजातिको संयुक्त आवाज पनि हो ।

नेपाल मगर संघ देशकै तेस्रो ठूलो जातीय संगठन हो । त्यसमध्ये आदिबासी जनजातिमध्ये सबैभन्दा ठूलो संघ नेपाल मगर संघ हो । जसको आफ्नै पहिचान छ ।

जसले नेपालको आर्थिक, राजनीतिक, तथा समाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै समग्र राष्ट्रको विकास निर्माणमा टेवा पुराउँदै आएको छ । मगर जातिको विशेषता भनेको सोझो, मेहनती, इमान्दार, देशभक्त, कर्मठ, विश्वासिलो हुन् । नेपालमा संख्यात्मक हिसाबले हेर्दा पनि मगर नै जनसंख्या भएको ठूलो समुदाय हो । मगरको थर तथा उपथर अन्य गैरमगरसंग मिल्ने र मिलाउने भएको हुँदा जनगणनाले सही तथ्यांक दिन नसकेको अवस्था हाम्रासामु जगजाहेर छ । यस विषयमा गहिरिएर अन्धयनन अनुसन्धान हुनुपर्छ तर हुन सकिराखेको छैन । जसको यर्थातता भन्नु पर्दा जनसंख्यामा पनि राजनीतिकरण भएको घटना हाम्रा अगाडि धेरै छन् । यस विषयमा सचेत हुनु पर्ने हाम्रा अभिभावको काँधमा आइपर्छ । संगठनको जिम्मेवारीलाई समाल्दै र आफ्नो अस्त्वि र पहिचानलाई राष्ट्रियकरण गर्न हाम्रा अभिभाव कदापि चुक्नु हुँदैन किनकि अधिकार मागेर पाइँदैन खोसेर लिनुपर्छ भन्ने कुरामा सधैं हेक्का राख्नुसक्नु पर्छ ।

मगर समुदाय किन मगर दिवस मनाउँदै आइरहेका छन् भन्ने बारेमा कतिपय नयाँ पिढि होस् या त वास्तविक सूचनादेखि टाढा रहेका मगर समुदायले नबुझेका हुनाले पनि मगर दिवसलाई मगर समुदायको चाडको रुपमा लिनु पर्छ भन्ने कुरा मगर समुदायमा सुनिन आउँछ । तर फागुन १५ मगर समुदायको चाड नभएर मगर समुदाय एकजुट भएको दिन हो । जुन दिन मगर समुदायको एकता भएको दिन भनेर बुझ्नु आवश्यक छ । तर जनसंख्याको आधार यति ठूलो मगर समुदायलाई आफ्नो दिवसको बारेमा जानकार नहुँदा यस दिवसलाई चाडपर्वको रुपमा बुझिरहेको अवस्था छ । मगर जातिको आफ्नै पहिचान भएको चाड मागेसकराती हो, जुन चाडमा मनाउँदा प्रकृति पुजन गरिन्छ । वनजंगलमा पाइने कन्दमुल, सखरखण्ड, गेडागुडी खाने गरिन्छ । किनकि, हामी मगर जाति प्रकृतिप्रेमी छौं र प्रकृतिको छत्रछायामा हुर्किएर आज यो अवस्थामा आइपुगेका छौं । त्यसैले पनि मगर समुदायको मुख्य चाड भनेकै माघेसकराती पर्व हो । जसका लागि नेपाल सरकारले राष्ट्रिय चाडको घोषणा गरी बिदासमेत दिएको छ ।

त्यसैगरी मगर दिवस मनाउनुको मुख्य कारण के हो त भन्ने विषयमा मगर समुदाय र गैरमगर समुदाय, शुभचिन्तक र आम नेपालीलाई चासोको विषय पनि बन्दै आएको छ । कतिपयले यो दिवसका बारेमा राम्रोसँग बुझेका छन् भने कतिपयले यो दिवसको बारेमा बुझ्न खोजिरहेका छन् । विषयगत यो दिवस मनाउनु मगर जातिको आफ्नै पहिचानलाई जोगाउनु र समग्र मगर समुदायलाई सचेत बनाउँदै आफ्ना हकअधिकार र पहिचानलाई स्थापना गर्नु हो । जसले गर्दा समग्र देशको विकासले गति लिनेछ । मगर संघको सांगठनिक इतिहास हेर्दा वि.सं. १९९७ सालमा प्रवास दार्जलिङदेखि सुरु भएको हो । तर संघको औपचारिक स्थापना भने वि.सं. २०३८ सालमा भएको हो । जसले मगर दिवस मनाउंदै ३९ औं मगर स्थापना दिवस आज विश्वभर मनाउँदैछ ।

राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयपश्चात् वि.सं. २०१२ सालमा गुल्मी जिल्लाको भार्से गाउंमा क्या.पदमबहादुर घर्तिमगरको अध्यक्षतामा वृहत मगर भेला गरिएको थियो । त्यस भेलाले पश्मिाञ्चल स्तरीय वृहत मगर सुधार समिति गठन पनि गरयो । यसरी म्याग्दीको औलो गाउँमा हर्कजीत पुनमगरको अध्यक्षतामा मगरको हकहितका लागि एउटा समिति गठन भएको मगर इतिहासविद बताउँछन् । त्यसपछि वि.सं. २०१४ सालमा तनहुंमा जिने आलेमगरको सहयोगमा वृहत कार्यक्रम सम्पन्न भएको थियो । वि.सं. २०२८ सालमा मुलुकभरबाट काठमाडौंमा आएर अध्ययनरत विद्यार्थीलाई एकजुट गर्दै बाग्लुङ्ग जिल्लाका खिलध्वज श्रीसमगरको संयोजकत्वमा लाङघाली परिवार संघ खोलेको पाइन्छ । त्यसपछि डा. हर्षबहादुर बुढामगरको अध्यक्षतामा वि.स. २०३६ सालमा लाङ्घाली परिवार संघ गठन गरियो । मगर इतिहासविदका अनुसार वि.सं. २०३८ सालमा बुटवलमा केन्द्रीय भेला गरी हेमबहादुर पुनमगरको अध्यक्षतामा नेपाल लाङ्घाली परिवार संघको प्रथम तदर्थ समिति गठन भयो ।

त्यसपछि २०३९ साल फागुनको १४,१५मा तनुहँको दमौलीमा प्रथम केन्द्रीय महाधिवेशन गरियो । जुन महाधिवेशनले हेमबहादुर पुनमगरलाई अध्यक्ष चयन गरिएको थियो ।

यसरी मगर संघको सांगठनिक रुपमा परिवर्तन आउँदै गर्दा वि.सं. २०४२ सालमा नेपाल लाङघाली परिवार संघको नाम परिवर्तन गर्दै नेपाल लाङघाली संघहुंदै दोस्रो महाधिवेशन सम्पन्न भएको पाइन्छ । जुन महाधिवेशनबाट कविराज पुनमगरलाई अध्यक्षमा चयन हुनुभएको थियो । त्यसैगरी वि.सं. २०४२ सालमा मानध्वज रानामगरको अध्यक्षतमा तेस्रो महाधिवेशन गरियो । २०४७ सालको निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्यसंगै र बहुदलीय ब्यवस्थाको आगमनमा वि.सं. २०४८ सालमा नेपालका पूर्वमन्त्री एवं आदिबासी जनजाति वरिष्ठ नेता गोरेबहादुर खपाङ्गीमगरको अध्यक्षतामा गठित समितिले पुरानो नाम नेपाल मगर लाङघाली परिवार संघलाई परिवर्तन गरी “नेपाल मगर संघ” नामाकरण गरियो ।

यसरी लाङ्घाली परिवार संघबाट नेपाल मगर संघमा आइसक्दा देश र विदेशमा रहेका मगर समुदायलाई एकीकृत, संगठित र संरक्षित गर्न गठन भएको मगर संघलाई आज आएर फागुन १५को वार्षिक रुपमा मगर समुदायको जन्म भएको दिवसको उपलक्ष्यमा मनाउन थालिएको हो । यसरी मगर संघको मूल उद्देश्य र लक्ष्य लाई आत्मासात् गर्दै जातीय चेतना, जनजागरण, इतिहास, भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण, संबद्र्धन र कला जीवनप्रतिको खोजी, समाजिक विकासका कार्यशैली, कार्यदिशा र कार्ययोजनाको थालनी मगर समुदायले गर्दै आइरहेको छ ।

त्यसैगरी इतिहासविद् एमएस थापाको भनाइअनुसार नेपालका मूलबासी नै मगर हुन् भनेर किटान गरेका छन् । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा पहिला नेपालमा धेरै मगर राज्य थिए र कालीगण्डकीदेखि दायाँ अथवा पूर्वति र १२ वटा र बायाँ पश्चिमतिर १८ वटा मगर राज्य थिए । जुन राज्यलाई १२ मगरात र १८ मगरात भन्ने गरिन्थ्यो । ती राज्यमध्ये धेरै शक्तिशाली राज्य पाल्पा र गोर्खा थिए । जुन राज्यमा मगर राजा थिए । ती समयमा राजा, मन्त्री, भारदार, निजामती कर्मचारी, सेना तथा सरकारी निकायमा सबै मगरको पहुँच थियो । जुन समय मगर भाषा, धर्म, संस्कृति, भेषभुषा तथा पहिचान अपार शक्तिको रुपमा स्थापित थियो । जब पृथ्वीनारायण शाहले नेपाल एकीकरण तथा १०४ वर्षे राणा शासनकालमा मगरको हकअधिकार, भाषा, धर्म, संस्कृति, भेषभुषा तथा पहिचान गुमराह पारी शून्य स्थितिमा परिणत गराए । धेरै धनी मगर तथा राज्यका विभिन्न निकायका वरिष्ठ पदाधिकारी गैरमगर जातिमा पयालन भए । जसले गर्दा मगरको हकअधिकार र पहिचान शून्यस्थिति र अझै भयावह स्थिति सिर्जना हुनगयो ।

यसरी २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापित भयो । त्यसपछि केही बुद्धिजीवी मगरले ससानो झुण्डमा संगठित हुँदै गएर आज मगर संघ मात्र होइन, मगर संघको भातृसंघ पनि गठन भएको छ ।

जसमा नेपाल मगर विद्यार्थी संघ, नेपाल मगर महिला संघ, युवा संघ, मगर भूपू सैनिक संघ, मगर लेखक, संघ, राष्ट्रिय मगर संघ, लोकत्रान्तिक मगर संघ, मगर मुक्ति मोर्चा, मगर रेडियोकर्मी संघ, मगर चलचित्रकर्मी संघ, नेपाल मगर बौद्ध सेवा समाज, विभिन्न सम्पर्क तथा समन्वय समिति लगायत, भाषिक, साहित्यिक, धार्मिक, सामाजिक, राजनीतिक, सांस्कृतिक संघजस्ता मगर संघसँगै सम्बन्धित निकाय राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै यी संघ क्रियाशील रहेका छन् । यसरी मगर जातिले आफ्नो गुमेको र गुमराह गरिएको मौलिक अधिकारलाई स्थापित गर्न मगर दिवस मनाउँदै आइरहेको छ । जसको नतिजाले र संगठनले गर्दा आज राज्य समेत मगर समुदायको आवाजलाई सुन्न बाध्य भइरहेको छ ।

यो दिवसको अर्को ठूलो उपलब्धी भनेको नेपालका प्रथम शहिद क्याप्टेन लखन थापामगरलाई राज्यले समेत प्रथम शहिदको रुपमा घोषणा गरिसकेको छ । यदि मगर समुदाय एकजुट नभएको भए सायद यो सम्भावना हुदैन थियो होला । हामीले बुझ्नु पर्ने कुरो एकतामा कति ठूलो शक्ति छ भन्ने कुरा सधैं बुझ्न जरुरी छ । किनकि, राज्यसत्ता जहिले पनि निरंकुश शैलीमा प्रस्तुत हुनेगर्दछ । तर जनता आफ्नो पहिचान र अस्तित्वलाई बचाउन सधैं सकारात्मक ढंगले अघि बढ्न जरुरी छ र राज्यलाई खबरदारी गर्नुपर्छ । आफ्नो पहिचानलाई जोगाउदैन, अरुको अस्त्तिवलाई पनि सहकार्य गर्दै सम्मान गर्न भने कदापि बिर्सिनु हुँदैन ।

किनकि, सम्पूर्ण मानव जाति नै हामी एकै घरका परिवार हौं भन्ने भावना र सोंचको विकास गर्न जरुरी छ । एकले अर्कोलाई आत्मसम्मान गर्दै हातमा हात मिलाएर अघि बढ्न सक्यो भने एउटा समुदाय र देश मात्र होइन समग्र विश्वजगत नै सुख शान्ति, समृद्धि विकासको मार्गतिर लम्कनेछ । देश लोकतान्त्रिक संघीयतामा गइसकेको छ । तर राज्यसत्ताबाट अहिले पनि सिमान्तकृत र पछाडि परेका जनताले सहज र सरल तरिकाले आफ्नो हकअधिकार प्राप्त गर्न सकेका छैनन् । यो विषयमा राज्य गम्भीर हुनु जरुरी छ । अर्को कुरो, स्वयम् दबिएर हेपिएर पछाडि परेका समुदाय आफ्नो अस्त्तिव र पहिचानलाई जोगाउन समग्र राष्ट्र विकासको लागि एकजुट भएर अघि बढ्नु पर्छ ।