• मंसिर १२ २०८१, बुधबार

प्रधानमन्त्री ओली प्रचण्ड-नेपाल पक्षका सांसद फकाउँदै, ओली पक्षमा गए मन्त्री पक्का

फाल्गुन १५ २०७७, शनिबार

१५ फागुन, काठमाडौं । सर्वोच्च अदालतले विघटित संसद पुनःस्थापना गरे पश्चात् नैतिकताको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने भन्दै चौतर्फी विरोध हुँदै आएको छ ।

नेपाली काँग्रेस, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल (प्रचण्ड–नेपाल) समूह, जनता समाजवादी पार्टी लगायतका साना राजनीतिक दल, राजनीतिज्ञ, नागरिक समाज, बुद्धिजीवी, प्राध्यापक, पत्रकार, लेखक, साहित्यकार, कलाकार र अधिकारकर्मीहरूले विभिन्न सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीको तत्काल राजीनामा हुनेपर्ने भन्दै माग गरेका हुन् ।

संसद पुनःस्थापना भएको ४ दिन बितिसक्दा पनि प्रधानमन्त्री पदबाट राजीनामा नदिएको भन्दै उनीहरूले ओलीको नैतिकतामाथि प्रश्न उठाएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रचण्ड—नेपाल समूह, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई लगायतका अन्य राजनीतिक पार्टीका नेताहरूले सार्वजनिक कार्यक्रम एवम् विभिन्न सञ्चार माध्यममा ओलीको राजीनामाको मागसमेत गरेका छन् ।

संसद पुनःस्थापना भए पश्चात् ओली प्रधानमन्त्रीको पदमा रहिरहन नहुने भन्दै विभिन्न क्षेत्रमा कार्यरत आमसर्वसाधारण नागरिक समेतले उनको राजीनामाको माग गरेका छन् । यसकासाथै उनको नैतिकतामाथि गम्भीर प्रश्न उठाएका छन् ।

बुधबार महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले ओलीले राजीनामा दिँदा राम्रो हुने बताएका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र डा.बाबुराम चट्टराईले पनि ओलीको राजीनामाको माग गरेका छन् भने अन्य साना राजजीतिक दलहहरू समेतले उनको राजीनामा हुनुपर्ने माग राख्दै चर्को आलोचना गरेका छन् ।

विभिन्न कार्यक्षेत्रमा कार्यरत आमसर्वसाधारण नागरिकले पनि सामाजिक सञ्चाल फेसबुक, ट्वीटर लगायतका अन्य सञ्जालहरूमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग राखेका छन् ।

तथापि ओलीले तत्काल राजीनामा नदिने भन्दै उनका प्रेस सल्लाहाकार सूर्य थापाले यसअघि नै सामाजिक सञ्चालमार्फत जानकारी दिईसकेका छन् । सल्लाहाकार थापाको कुरालाई आधिकारिक मान्ने हो भने ओलीले तत्काल राजीनामा नदिने जस्तो देखिन्छ ।

हुन त सूर्य थापा प्रायः प्रतिपक्षीलाई सनकका भरमा इबी साट्न बोल्ने र लेख्ने भएकाले यो कुरा आधिकारिक मान्न भने सकिदैन । तर, यस विषयमा ओली समूहको आन्तरिक छलफल जारीरहे पनि उक्त छलफलबाट आधिकारिक धारणा भने सार्वजनिक गरिएको छैन ।

तर, प्रधानमन्त्री ओली र उनीनिकट नेताहरूको अभिव्यक्ति सुन्दा उनले तत्काल राजीनामा नदिने संकेत प्रष्ट देखिन्छ । उनले शनिबार (आज) एक कार्यक्रममा बोल्दै २ वर्षसम्मका लागि आफू नै प्रधानमन्त्री रहने दाबी गरेका छन् ।

ओलीले नैतिकताको आधारमा राजीनामा दिनुको साटो उल्टै २ वर्षसम्मका लागि आफू नै प्रधानमन्त्री हुने दाबी गरेपछि प्रचण्ड–नेपाल पक्ष ओलीलाई कुनै पनि विकल्प बाँकी नराखी सत्ताबाट च्युत गर्ने निर्णयमा पुगेको छ ।

यसका लागि उक्त पक्ष अन्तिम विकल्पमा पुगेको स्रोतको दाबी छ । स्रोतले ओलीसँग कुनै पनि नैतिकता नभएका कारण उनलाई प्रधानमन्त्री पदबाट च्युत गर्नुबाहेक अर्को विकल्प नभएको बताएको छ ।

यसका लागि सबैभन्दा उत्तम विकल्प अविश्वासको प्रस्ताव भएकाले त्यसका लागि आफ्नो पक्ष तयारी गर्दै गरेको प्रचण्ड–नेपालका एक नेताले बताए । उनका अनुसार ओलीलाई अपदस्थ गर्न अविश्वासको प्रस्ताव नै उत्तम हुन्छ ।

यसका लागि प्रचण्ड–नेपाल पक्षले भने नयाँ सत्ता समिकरणका लागि नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गरेका थिए । तर, छलफलमा काँग्रेस र जसपाले तत्काल सत्ता साझेदारीका लागि आफूहरू तयार नभएको प्रतिक्रिया दिएको छ ।

उक्त प्रतिक्रियासँगै नेकपाको प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल पक्षका सांसदहरूको खिचातानी सुरु भएको छ । प्रचण्ड–नेपाल पक्षले यसअघि नै आफूसँग सांसदहरूको बहुमत भएको बताउँदै आएको छ भने प्रधानमन्त्री ओलीले पनि आफ्नो पक्षमा सांसदको बहुमत भएको दाबी गरेका छन् ।

तर, संसदमा अविश्वासको प्रस्ताव पेश गर्नका लागि प्रचण्ड–नेपाल पक्षसँग बहुमत पुग्ने देखिदैन । जसका लागि यो पक्षले ओली पक्षका सांसदहरू तान्न अनेकन् कोसिस गरिरहेको छ ।

उसले अविश्वासको प्रस्ताव पेश गरि प्रधानमन्त्रीलाई अपदस्थ गर्न सांसदहरूको तानाखिचीमा लागेको छ । आफूसँग अविश्वासको प्रस्ताव पेश गर्नका लागि बहुमतको संख्यामा सांसद नपुग्ने भएकोले प्रचण्ड–नेपाल पक्ष ओली पक्षका सांसद फकाउन लागेको छ ।

प्रधानमन्त्री ओली पक्ष पनि कसरी हुन्छ प्रचण्ड–नेपाल पक्षका सांसद आफ्नो पक्षमा तानेर प्रचण्ड–नेपाल पक्षलाई अल्पमतमा पार्ने र अविश्वासको प्रस्ताव फेल गराउने पक्षमा छ ।

यसका लागि उसले आफ्नो समूहमा प्रवेश गर्ने वा प्रचण्ड–नेपाल पक्षका सांसदलाई मन्त्री पद दिने पक्का गरेको छ । ओली पक्षका एक नेताका अनुसार आफूहरूले प्रचण्ड–नेपाल पक्षका जोकोही सांसद आफ्नो पक्षमा आएमा मन्त्रीमा नियुक्त गर्ने पक्का छ ।

प्रचण्ड–नेपाल पक्षका केही सांसद आफ्नो पक्षमा आउन लागेको समेत उनले दाबी गरे । यसका साथै उनले आफूहरूले उक्त समूहका सांसदहरू आफ्नो पक्षमा ल्याउनका लागि सल्लाह भैरहेको बताए ।

यदि प्रचण्ड–नेपाल पक्षका सांसद ओली पक्षमा प्रवेश गरे भने मन्त्री पद देलान् वा नदेलान् त्यो भन्न सकिदैन । तर, ओली पक्षका सांसद प्रचण्ड–नेपाल पक्षमा आए र सांसदहरूको बहुमत पुर्याए यही फागुन २३ गते बस्ते प्रतिनिधि सभा बैठकमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुनेछ । त्यसपछि सत्ताको नयाँ कोर्स सुरु हुनेछ ।