• मंसिर १२ २०८१, बुधबार

ओलीले आफू नै राज्य हुँ जस्तो गर्न थाले : दाहाल

फाल्गुन १५ २०७७, शनिबार

नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले आफू नै राज्य भएको जस्तो गरेको आरोप लगाएका छन् । ओलीतिरै इंगित गर्दै दाहालले छलछाम, जालझेल, खुराफात र बेइमानी दलालको चरित्र भएको बताए । कम्युनिस्ट आन्दोलन र वर्गको प्रसंग कोट्याँउदै दाहालले प्रधानमन्त्री ओली अर्कै वर्गमा पतन भएको बताए ।

‘केपी ओली हाम्रो वर्गमा रहेनन्,’ शिक्षक संगठनको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । पार्टी भित्रैबाट वर्ग उत्थान भएका व्यक्ति पनि विपरीत ध्रुवका एजेन्ट भएर आफ्नो वर्गलाई धोका दिइरहेको पनि उनले बताए । विश्व कम्युनिष्ट आन्दोलनमा यस्ता व्यक्तिले ठूला–ठूला प्रतिगमनलाई साथ दिएको दाहालले बताए । यही प्रवृत्ति नेपालमा लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने र कम्युनिष्ट आन्दोलनलाई नै कालो पोत्ने र धब्बा लगाउने गरी आश्चर्यजनक रुपमा देखा परेको उनको भनाई रहेको छ ।

दाहालले सहमति को सँग गर्ने र नगर्ने भन्ने व्यक्तिगत विचारको कुरा हो भन्दै पार्टी भनेको विधि र पद्धति भएको बताए । ‘मलाई इन्टरभ्यूमा पार्टी एकता हुन्छ कि भनेर सोधियो, विचार मिल्यो भने एकता हुन्छ, नभए हुँदैन,’ दाहालले भने । हिजो पनि विचारकै सन्दर्भमा मूलभूत रूपमा सहमति भएको दाहालले बताए । ‘विचार भावना सबै एकै ठाउँमा रहँदारहँदै किन दुई पार्टी बन्नुपर्याे भनेर मैले नै एकता प्रस्ताव राखेको हो । अनुहार हेरेर एकता भएको हैन,’ उनले भने, ‘शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धाबाट जाने भनेर एकता भएको हो ।’