• आश्विन १३ २०८१, आईतवार

सफलताका सात सिंढिहरु

फाल्गुन १३ २०७७, बिहीबार

सफलता के हो ? यसको परिभाषामा विविधता छ । कसैले चित्तशुद्धिमा हासिल गरिएको सफलता मात्र सफलता हो भन्दछन् । अरु कसैले भने धनसम्पत्ति कमाउनमा हासिल गरिएको सफलता नै सफलता हो भन्छन् । कसैले ज्ञानभन्दा ठूलो सफलता केही होइन भन्छन् । कसैले विज्ञानमा हासिल गरिएको सफलता मात्र सफलता ठान्छन् । नेपालका मूर्धन्य नाटककार वालकृष्ण सम त यतिसम्म भन्दछन् कि ‘ज्ञान मर्दछ हाँसेर, रोइ विज्ञान मर्दछ ।’ तर पनि मानिस सफलताका लागि सधै व्यस्त हुन्छ, व्यग्र हुन्छ र चिन्तित हुन्छ ।

संसारमा रहेका भौतिक सम्पत्ति र वौद्धिक सम्पत्तिको मेल नै आजको संसारको सफलता हो । कुनै एक व्यक्तिको पनि यसैमा सफलता निहित छ । धन भएर मात्र भएन, वुद्धि पनि उत्तिकै आवश्यक छ । वुद्धि भएर मात्र पनि भएन, धन पनि निकै आवश्यक छ । हिन्दीमा एउटा उखान छ-‘अकिल तो है, लेकिन कौडी नै है ।’ त्यसैले धन र वुद्धिको मित्रवत संयोजन र प्रयोग नै सापेक्षतामा सफलता हो ।

यसका लागि :

१. गर्ने कामको दिमागमा चित्र कोर्नुस् :

मानिसले काम गर्ने भन्छ । तर काम गर्नका लागि दिमाग चल्नु पर्छ । दिमागले सिकाएको काम क्रमबद्धतामा व्यवहारमा उतार्नु वास्तविक काम हो । त्यसैले हातले वा मेसिनले काम गर्नु पूर्व दिमागले काम गर्नुपर्छ । कामको योजना दिमागमा सेट गर्नुपर्छ । यसले सोच्ने र गर्ने कामलाई परिपक्व बनाउँदै लैजान्छ । मानिसमा परिपक्वता आउनु ठूलो कुरा हो । त्यसैले गाउँघरमा भन्छन्- ‘आगो ताप्नु मूढाको कुरा सुन्नु बूढाको’ ।

२. सिर्जनशील हुनुहोस् :

काम गर्दा जे पहिले सोचिएको छ, त्यो त्यही रुपमा लागू नहुन सक्छ । यसका लागि आफू सधैं सतर्क तर लचिलो हुनु पर्छ । काम गर्दा सोच परिपक्व बन्दै जान्छ । खारिन्छ र नयाँ रुपमा विकास हुन्छ । अंग्रेजीमा भनिन्छ- ‘डु द सेम थिङ बट डिफरेन्टली अर्थात् काम उस्तै हो, तर भिन्न तरिकाले गर ।’ काम गर्दा गर्दै ज्ञान आर्जन हुन्छ । त्यसैले भनिन्छ- ‘कामले काम सिकाउँछ ।’

३. सहज र मजाको मानिस हुनुस् :

यसका लागि मानिस रंगिलो, फरासिलो, सहकार्य गर्ने खालको हुनुपर्छ । आफू जत्तिको भावनात्मक हुन सकिन्छ, त्यत्ति नै आफूसँग काम गर्ने मानिसको भावना बुझ्न सकिन्छ । जब भावनाको मेल हुन्छ, तब काममा स्पिरिट र गति पैदा हुुन्छ । यसका लागि गरिने काममा साथीहरुको सुझाव लिनोस् र काम गर्नका लागि उनीहरुलाई प्रेरित गरिरहनोस् ।

४. दृढ हुनुस् :

काम गर्दा ढुक्क र निर्धक्क भएर लाग्नु पर्छ । आफूलाई विश्वास गर्नु पर्छ र आफूले गर्न लागेको काममा विश्वास हुनु पर्छ । काम गर्दा बिग्रन्छ, भत्कन्छ । तर निरन्तरता दिनु पर्छ । यसका लागि धैर्यता चाहिन्छ । लक्ष्य निर्धारण गरिरहनोस् र सहयोग लिइरहनोस् ।

५. इच्छाशक्ति बलियो बनाउनोस् :

इच्छाशक्तिले मानिसलाई काममा निरन्तर लागिरहन सहयोग गर्छ । यसले निकै प्रेरणा पनि दिन्छ । यो प्रेरणा कमका लागि सबैभन्दा नजिकको सहयोगी हुन्छ । यसमा मनोविज्ञानको भूमिका ठूलो हुन्छ । काम आफैमा प्रयोग हो । यसले प्रयोगात्मक अभ्यास खोज्छ ।

६. समस्या आफूभित्र खोज्नुस् :

अरुलाई कम दोष दिनोस् । किनकि अरु त सहयोगी न हुन् । आफ्नो गल्ती खोज्नुुस् । खिन्न नहुनुस् । आफू कुनै चुनौतिसँग लडिरहेको सम्झनुस् । विजयको अपेक्षा गर्नुस् । संयमित हुनुस् । प्रतिस्पर्धामा नडराउनुस् ।

७. विकल्प र संभाजना देखिरहनोस् :

कुनै पनि काम सफल पार्न विभिन्न विकल्पको सोच गरिरहनोस् । एउटा नभए अर्को उपाय थालिहाल्नोस् । संभावनालाई बढाइरहनोस् । निराशा प्रकट नगर्नुस् । यी सात कुरा ख्याल गरे जीवनमा सफलता हात लाग्छ ।