• मंसिर १७ २०८१, सोमबार

पृथ्वीबाट लोपहुने पालो अब मानिसको

फाल्गुन १३ २०७७, बिहीबार

पछिल्लो समयमा प्रकृतिमा भैरहेका र मानिसले गरिरहेका क्रियाकलापको असर सबैभन्दा बढी मानव जातिमा परिरहेको छ । यसले मानवको संख्यात्मक वृद्धिमा पनि असर पार्न थालेको छ । चिकित्सकको पछिल्लो खोजीमा महिलाको डिम्बाशय उत्पादन हुने प्रक्रियामा कमी आइरहेको छ । उत्पादन भएका डिम्बहरुले पनि शुक्रकिटसँगको शेचन प्रक्रियामा क्रियाशीलता देखाउने कार्यमा निस्क्रियता देखाउन थालेका छन् ।

पुरुषको शुक्रकिटको क्रियाशीलतामा निकै शिथिलता आइरहेको छ । शुक्रकिटको संख्यामा पनि निकै कमी आइरहेको छ । चिन्ता त यतिसम्म पनि छाएको छ कि महिलामा बाँझो हुने र पुरुष नपुंशक हुने प्रक्रिया बढ्दो छ । यसले अब कतै आउँदो केही समयपछि पृथ्वीमा मानिस आफै नै लोप हुने जीवमा त पर्दै छैन भन्ने आशंका उब्जाएको छ ।

मानिसको जीवनमा यो आन्तरिक कुरासँगै बाह्य कुराले पनि निकै प्रभाव पारिरहेका छन् । विभिन्न रोगहरुको प्रकोपले मानिस आक्रान्त छ । शरीरमा स्वस्थता गुमाउँदै गएको छ । चर्को तनाव, रोजगारीको खोजी, एन्टीसेप्टिक औषधिको प्रयोग आदिका कारण उसको प्रजनन जीवन प्रभावित भैरहेको छ । त्यसो त प्रकृतिले सिर्जना गरेका संसारका जीवका विविध प्रजातिमध्ये मानिस मात्र संसारमा असंख्य वृद्धि भैरहेको छ । यसले पनि प्राकृतिक जैविक सन्तुलनमा नराम्रो प्रभाव पारिरहेको छ ।

पृथ्वीमा जीवहरुको जीवन-चक्र लामो समयदेखि निरन्तर चलिरहेको छ । यो जीवन-चक्रमा एकले अर्कालाई खाने गर्दछन् ।

जस्तै घाँस हरिणले खान्छ, हरिणलाई ब्वाँसोले खान्छ, ब्वाँसोलाई बाघले खान्छ अनि बाघ मरेपछि विरुवाले त्यसको सडेगलेको शरीरबाट आवश्यक तत्व लिन्छ । त्यो बाट हुर्किएको घाँस फेरि अर्को हरिणले खान्छ । यसले चेक एण्ड ब्यालेन्समा राखेको छ प्राणी जगतलाई । तर मानवले सबैलाई खाइरहेको छ । यसको स्वभाविक मृत्यु बाहेक प्राकृतिक जीवनचक्रसँग यसको सम्बन्ध क्रमशः विच्छेद हुँदै गएको छ ।

जव मानिस प्राकृति तथा त्यसले निर्माण गरेको जीवन चक्रसँग टाढा बनाएर आफूलाई बढि कृत्रिमतातिर लैजान कोसिस गर्छ, ठीक त्यसैबेला मोहेन्जोदाडो र हरप्पा तथा सिन्धु घाँटीको नष्ट भएका सभ्याताको नजिक पुर्याउँछ । यो निकै डरलाग्दो अवस्था हो । नष्ट भएका यी सभ्याताको तात्कालीन संसार विच्छेदित अवस्थामा थियो । देश तथा महामदेश आजको जस्तो विज्ञान, प्रविधि र सामाजिक तथा आर्थिक आवश्यकताले अभिन्न भै जोडिएको थिएन । उनीहरु एकअर्कासँग भिन्न मात्र थिएनन् कि भेटघाट र परिचयसम्म पनि थिएन ।

आजको मानव समाज यदि लोप भयो भने यो संसार नै लोप भएको मानिने छ । किनकि यो एकै प्रकृति, मिश्रित नस्ल, एउटै शैली, समान खानपिनमा गैसकेको छ । एउटै खालको महामारीबाट पनि मानिस बच्न सकिरहेको छैन । कोभिड–१९ तात्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पले भने झैं ‘चिनियाँ भाइरस’ मात्र पनि रहेन र चीनले भने झैं वुहान संयुक्त सैन्य अभ्यासमा आएका अमेरिकी सेनाले छाडिदिएको ‘अमेरिकी भाइरस’मा मात्र सिमित रहेन । यसले संसारका जुनसुकै ‘जीन’मा रहेका मानव प्रजातिमाथि विजय गरेरै छाड्यो । लाखौंको ज्यान खाँदै नयाँनयाँ संस्करणमा फैलिइरहेको छ ।

भनिन्छ मानव जाति डाइनोसर जस्तै एकै पटक लोप हुने छ । यसै सन्दर्भमा मानव जाति अबका दिनमा लोप हुने जीवको पालोमा परेको स्पष्ट संकेत गर्ने केही महत्वपूर्ण आधार वा कारकहरु निम्न रहेका छन्

१. आकाशबाट खस्ने भीमकाय उल्का पिण्ड :

मानिस संसारमा सबैभन्दा असुरक्षित प्राणीको कोटीमा पर्न गएको छ । अक्सफोर्डस्थित मानव जातिको भविष्य नामक एक संस्थामा अनुसन्धान गरिरहेका अनुसन्धाता एन्डर्स स्यान्डवर्ग भन्छन् : मानव जातिको अगाडि एउटा यस्तो खतरा छ, जसले मानवको सिंगो कथा नै सिध्याउँछ ।’ उनको यो भनाइले नयाँ स्ट्रोइड उल्का खस्नेतिर संकेत गरिरहेको छ ।

विज्ञान तथा प्रविधिको सहयोगले हामीले दैनिक आकाशबाट ठूलाठूला उल्का पिण्ड खस्ने र खसिरहेका तथ्य बोध गरिरहेका छौं, देखिरहेका छौं पनि । डाइनोसर यसकै कारणले लोप भएको मानिन्छ । मानिस पनि योबाट बच्न सक्ने देखिन्न । वैज्ञानिक लुइस र वाल्टर एवारेजले डाइनोसर यसै कारणले लोप भएको पत्ता लगाएका थिए ।

२. रासायनिक मलखादको प्रयोग :

मानिस लोप हुने अर्को कारणमा रासायनिक मलखादको प्रयोग हो । रासायनिक मलखादको प्रयोगले जलचर प्राणीहरु समुद्रमा दैनिक हजारौं र लाखौंको संख्यामा लोप भैरहेका छन् । यसले मानिसमा पनि प्रत्यक्ष असर पारिरहेको छ ।

भनिन्छ, यदि रासायनिक मलखादको विकास नगरिएको भए हाल संसरमा रहेको ८ अर्ब जनसंख्यामध्ये करीब ४ अर्ब खाद्यान्न संकटका कारण मरिसकेका हुने थिए । तर यही रसायनिक मल मानिस लगायत संसारका प्राणी जगतका लागि मृत्युको कारण बनिरहेको छ ।

३. सुस्ताउँदो जीवन चक्र र प्रजातिको लोप :

प्रकृतिले निर्माण गरेको स्वाभाविक जीवनचक्र मानवको बाक्लो उपस्थितिका कारण निकै प्रभावित हुन गएको छ । विज्ञान तथा प्रविधिका कारण मानिस अरु कुनै पनि जीवले सहजै हराउन नसक्ने जीवमा परिणत पनि भएको छ । यो मानवका लागि सुरक्षा भए पनि अरु जीवका लागि र प्रकृतिका लागि ठूलो समस्याको विषय हो । मानिसले सबैको भक्षण गर्ने तर मानव भक्षणका लागि अरु जीव असक्षम हुनु प्राकृतिक जीवन-चक्र विपरीत कुरा हो ।

४. जलवायु परिवर्तन :

मानिस प्रकृत्तिप्रदत्त उत्पादन हो । प्रकृति नरहे मानव रहन पनि संभव छैन । मंगलग्रहमा मानव नहुनुको कारण पनि प्रकृति नरहनु हो । पृथ्वीमा अहिले मानव मैत्री वा जीववनस्पतिमैत्री वातावरण नष्ट गरिदै छ । यसको मूल कारण जनसंख्याको वृिद्ध र यसको अवैज्ञानिक व्यवस्थापन हो । अर्थशास्त्री माल्थसका अनुसार पृथ्वीमा ठूल्ठूला महामारी वा दैवी प्रकोप आएर बढ्दो जनसंख्याको व्यवस्थापन गरिदिन्छ ।

तर पनि हामी मानवको यस्तोखाले व्यवस्थापनका लागि तयार छैनौ । हामी स्वीकार गर्न पनि सक्दैनौ । तर यसले निम्त्याएको अर्को पक्ष प्राकृतिक संशाधन दोहन र दुरुपयोगको कुरा भने स्वीकार गर्दछौं ।

५. जैविक तथा वानस्पतिक विविधताको विनास :

मानिसले जैविक तथा वानस्पतिक विविधताको विनास गरेर आफ्नो प्रजातिको महासंकट निम्त्याइरहेको छ । यो शताब्दीको अन्त्यतिर समुद्रमा माछा पाइन छाड्ने छन् । धेरै वनस्पति लोप भैसकेका हुने छन् । हाम्रो खानामा एकै प्रकारका कुरा रहनाले सन्तुलित आहाराको कमी हुने छ । मानिस सुविधा भोगी र लोभी भएकाले यसले सबै चीज नष्ट गरेर थुपारेर राखी विविध जैविक तथा वानस्पतिक प्रजाति नष्ट गरिसक्ने देखिन्छ । यसले मानव जातिलाई नै उल्टै ठूलो हानी गर्ने छ ।

६. महामारीको आगमन :

हामीकहाँ कोरोना महामारी आउँदा त यति डरलाग्दो अवस्था सिर्जना भएको छ । अबका दिनमा योभन्दा कडा महामारी आएका खण्डमा मानिसको ठूलो संख्या र उस्तै परे सिंगो मानव जाति नै सखाप हुने देखिन्छ । फ्लु प्रजातिको महामारीसम्म मानिसले अहिले पचाउन निकै गाह्रो भैरहेको छ ।

७. लोभ र ईष्र्या :

मानिसका हातमा नयाँनयाँ विज्ञान र प्रविधि निर्मित कुराहरु परिरहेका छन् । घातक अस्त्रहरु पनि निजी हातमा परिरहेका छन् । रसायनिक अन्वेषण र वस्तुहरु पनि मानिसका हातमा परिरहेका छन् । अहिले विकसित देशका ल्यावमा डरलाग्दा भाइरस निर्माण भैरहेका छन् । पृथ्वी सिध्याउने बमहरु पृथ्वीमै स्टोर गरिएका छन् ।

मानिस आफैमा लोभी छ, पापी छ र इष्र्यालु पनि । यसको क्षणभरमा सनक चढेछ भने जे पनि गर्न तयार हुन्छ । अबका शासक हार्न जानिरहेका छैनन् । बरु जे पनि प्रयोग गर्न र सिध्याउन तयार छन् । मूर्ख र मूर्खताले शासन गर्न थालेको छ । विनम्रता र सरलता कमजोरी ठानिन थालिएको छ । संसारमा ज्ञानले नभई पैसाले राज गरिरहेको छ । पैसा भए जे पनि गर्न सकिने भन्ने मान्यता जर्बजस्त विकास हुन थालेको छ । अहम् शासक र विवेक शासित हुन थालेको छ । यसले मानव जीवन खतरामा पारेको छ ।

८. बढ्दो अन्तरीक्ष प्रतिस्पर्धा :

अबको दुनियाँ अन्तरीक्षमा छ । मंगलग्रहमा पुग्न हरेक देशहरु प्रतिस्पर्धामा छन् । उनीहरु खोजभन्दा पनि को पहिले पुग्ने र कब्जा जमाउने भन्ने होडमा छन् । उनीहरुका लागि पृथ्वी एक प्रयोगशाला हुन पुगेको छ । यहाँका जीवनोपयोगी साधनस्रोत आकाशमा उडाउन तल्लिन छन् । त्यो पनि प्रतिस्पर्धामा । यसले पृथ्वी सकिने र नासिने अवस्थामा जाँदै छ ।

९. परमाणु बम परीक्षण:

अहिले परमाणु बम परीक्षणको होड चलिरहेको छ । किनकि शक्ति त्यसैमा छ । मानिसलाई, संस्थालाई र सरकार तथा राज्यलाई एकअर्कामा शक्ति प्रदर्शन गर्नु छ । देखाउनु छ, देखिस भन्नु छ । यदि होइन भने एउटा देशमा परमाणु बम भए त मानव जातिका लागि पुगिहाल्यो धेरै किन चाहियो । त्यसैले वैज्ञानिक आफै स्वीकार गर्छन् परमाणु बम मान्छे मार्नका लागिमात्र निर्माण भएको हो । माथि उल्लेख गरिएका कुरामा हामी सतर्क भएनौ भने अबको विनास हुने पालो मानिसको हो ।