• मंसिर १२ २०८१, बुधबार

प्रधानमन्त्री ओलीले राजीनामा नदिने, दिनैपरे आन्दोलनमा उत्रिने

फाल्गुन १३ २०७७, बिहीबार

१३ फागुन, काठमाडौं । विघटित संसद पुनःस्थापित पश्चात् नैतिकताको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग राख्दै चौतर्फी चर्को विरोध भएको छ ।

नेपाली काँग्रेस, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल (प्रचण्ड-नेपाल) समूह, जनता समाजवादी पार्टी लगायतका साना राजनीतिक दल, राजनीतिज्ञ, नागरिक समाज, बुद्धिजीवी, प्राध्यापक, पत्रकार, लेखक, साहित्यकार, कलाकार र अधिकारकर्मीहरूले विभिन्न सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीको तत्काल राजीनाको माग गरेका हुन् ।

संसद पुनःस्थापना भएको ३ दिन बितिसक्दा पनि प्रधानमन्त्री पदबाट राजीनामा नदिएको भन्दै उनीहरूले ओलीको नैतिकतामाथि प्रश्न उठाएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रचण्ड—नेपाल समूह, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई लगायतका अन्य राजनीतिक पार्टीका नेताहरूले सार्वजनिक कार्यक्रम एवम् विभिन्न सञ्चार माध्यममा ओलीको राजीनामाको मागसमेत गरेका छन् ।

संसद पुनःस्थापना भए पश्चात् ओली प्रधानमन्त्रीको पदमा रहिरहन नहुने भन्दै विभिन्न क्षेत्रमा कार्यरत आमसर्वसाधारण नागरिक समेतले उनको राजीनामाको माग गरेका छन् । यसकासाथै उनको नैतिकतामाथि गम्भीर प्रश्न उठाएका छन् ।

बुधबार (हिजो) महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले ओलीले राजीनामा दिँदा राम्रो हुने बताएका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र डा. बाबुराम चट्टराईले पनि ओलीको राजीनामाको माग गरेका छन् भने साना राजजीतिक दलहहरू समेतले उनको राजीनामा हुनुपर्ने माग राख्दै चर्को आलोचना गर्दै आएका छन् ।

विभिन्न कार्यक्षेत्रमा कार्यरत आमसर्वसाधारण नागरिकले पनि सामाजिक सञ्चाल फेसबुक, ट्वीटर लगायतका अन्य सञ्जालहरूमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग राखेका छन् ।

तथापि ओलीले तत्काल राजीनामा नदिने भन्दै उनका प्रेस सल्लाहाकार सूर्य थापाले यसअघि नै सामाजिक सञ्चालमार्फत जानकारी दिएका छन् । सल्लाहाकार थापाको कुरालाई आधिकारिक मान्ने हो भने ओलीले तत्काल राजीनामा दिने कुनै सम्भावना देखिदैन ।

हुन त सूर्य थापा प्रायः प्रतिपक्षीलाई सनकका भरमा इबी साट्न बोल्ने र लेख्ने भएकाले यो कुरा आधिकारिक मान्न भने सकिदैन । तर, यस विषयमा ओली समूहको आन्तरिक छलफल जारीरहे पनि उक्त छलफलबाट आधिकारिक धारणा भने सार्वजनिक गरिएको छैन ।

कतिपय विज्ञको टिप्पणीअनुसार ओलीसँग नैतिकता नै नभएकोले उनी स्वेच्छाले राजीनामा नदिने भएकोले अन्य कुनै विकल्प रोज्नुपर्ने बताउँछन् । यद्यपि आफूहरू यस विषयमा तत्काल विकल्प नखोज्ने र ओलीले राजीनामा नदिए बाध्य भएरै विकल्प रोज्ने बताउँछिन्, प्रचण्ड—नेपाल समूहकी नेत्री ‘पम्फा भुसाल ।’

प्रधानमन्त्री केपी शर्मा ओली र उनी इतरका नेताहरूको अभिव्यक्ति सुन्दा ओली तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिने मूडमा छैनन् । हुन त संसद पुनःस्थापना भएको १३ दिनपछि संसदको पहिलो बैठक बस्ने नै छ । उक्त बैठकबाट ओलीले निकास नदिए प्रचण्ड—नेपाल समूहले थप विकल्प खोज्ने छ ।

तर, ओलीनिकट मानिने पूर्वमन्त्री एवम् सांसद महेश बस्नेतका अनुसार प्रचण्ड—नेपालले जुनसुकै कदम चाले पनि प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् । उनका अनुसार सत्ताको निरन्तरताका लागि ओली नै विकल्प भएको बताए । पार्टी एकीकरण गरेर भए पनि प्रधानमन्त्रीको निरन्तरता ओलीले नै दिने नेता बस्नेतको दाबी छ ।

यद्यपि आफूहरू सत्ताबाट बाहिरिनु परेमा आन्दोलन गर्ने ओली समूहका केही नेताले बताएका छन् । उनीहरू भन्छन्, —‘प्रचण्ड—नेपालको विचलन कार्यशैलीका कारण देशमा अस्थिरता पैदा भएको छ । प्रधानमन्त्रीले राजीनामा दिएमा वा अरू कुनै नेता प्रधानमन्त्री भएमा पुनः देशको अवस्था गम्भीर मोडमा उभिने भएकाले ओलीज्यू नै प्रधानमन्त्रीका लागि उत्तम हुनुहुन्छ ।’

यदि ओली ज्यूलाई पदच्युत गरिएको खण्डमा आफूहरू कडा आन्दोलनमा उत्रिने ओली इतरका नेताहरूले प्रचण्ड—नेपाल समूहलाई चेतावनी दिएका छन् । उक्त चेतावनीबाट आफूहरू एकरत्ति नडराउने प्रचण्ड—नेपाल समूहको दाबी छ ।