काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको आज बस्ने तय भएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजे बैठक बस्ने तय भएको थियो ।
राजनीतिक गतिविधि र नेताहरुबीच आन्तरिक छलफल गर्नुपर्ने भएकोले आजको लागि निर्धारण गरिएको बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र विभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो । बुधबारको बैठकपछि नेताहरुले बिहीबार पनि बैठक बस्ने जानकारी दिएका थिए ।