बिहानी पख । हुस्सुले डम्म ढाकेको थियो उपत्यका । रत्नपार्कको रिङमा रथ तान्दै गरेको घोडाचालको आवाज आयो– टक् टक् टक् … टक् टक् टक् … । रेडियोमा नियमित समाचार प्रसारण भइरहेको थियो । रत्नपार्क, सुन्धारा, दरबारमार्ग, त्रिपुरेश्वर र थापाथली शान्त थिए । भद्रकालीमा केही चहलपहल थियो- शाही सेनाको ।
‘‘कब्जा गरे, कब्जा गरे, माओवादीले दिउँसै कब्जा गरे ।’’
हकर पत्रिका बोकेर चिच्याउँदै दगुर्यो ।
‘‘समात्, समात्, समात् ।’’
पुलिस हकरलाई पछ्याउँदै कुद्न थाले । हकर मानिसको भीडमा हरायो । पुलिसले ‘चेनब्लक’ गरे । एकेक जनालाई तलासी लिन थाले । हुस्सु बाक्लो हुँदै गयो ।
‘‘कहाँ गयो, हकर ?’’
‘‘हामीलाई के थाह ?’’
‘‘लुकाएर पनि थाह छैन ।’’
‘‘हकर गोजीमा अट्छ ?’’
“झोला खोल्, झोला खोल् ।”
‘‘किन खोल्ने ?’’
‘‘ठट्टा होइन, खाउला तातो गोली ।’’
‘‘राणा शासन आयो कि के हो ?’’
‘‘त्रिपुरेश्वर, सेन्टर जेल थाह पाउँछेस् ?’’
‘‘गएकालाई थाह होला । केको हप्कीदप्की साधारण जनतामाथि ?’’
‘‘ए चोथाले आइमाई ? तेरो नाम, थर, ठेगाना ? सबै टिपा त ।’’
‘‘जया मालाकार, कुपण्डोल ।’’
‘‘ए म्याडम पो, नमस्कार हजुर, माफ् गर्नुहोला है ।’’
मान्छेको भीड अनियन्त्रित रूपमा बढ्न थाल्यो । पुलिसको ‘चेनब्लक’ टुट्यो । एकान, दोकान, मैदान । चारैतिर फैलियो- ‘माओवादी छापामारले दिउँसै सदरमुकाम कब्जा गरे । सदरमुकाममा जनअदालत स्थापना गरेर जनतालाई सेवा दिन थाले ।’
भीडमा चलेको गाइँय-गुइँयलाई पुलिसले रोक्न छेक्न सकेनन् । उनीहरू सडकको एक छेउँमा उभिएर कुरा गर्नथाले- ‘यस्ता प्रतिष्ठित मानिसले पनि माओवादीको तारिफ गर्छन् । काम त राम्रै गरेको छ कि क्या हो यार !’
‘‘जित्दै ल्याइरहेको छ । देशै खान बेर छैन ।’’
‘‘जो आए पनि हामी त ड्युटी गर्ने त हो, यार !’’
‘‘त्यही हो, बरू छिटो टुङ्गिए राम्रो हुने थियो । पुलिसको नियन्त्रणमा छैन अबको स्थिति ।’’
सबै पुलिस लुरूलुरू सिंहदरवारतिर लागे ।
सिंहदरवारमा निकै खैलाबैला थियो । प्रधानमन्त्री र राजाको बीचमा निकै खटपट् चलिरहेको थियो । प्रधानमन्त्रीले शाही सेना परिचालन गर्न चाहन्थे । राजा भने परिआए आफूले परिचालन गर्न सक्ने तर प्रधानमन्त्रीलाई सेना नदिने अडानमा थिए । सेना परिचालनबारे निकै विवाद र रस्साकस्सी चलेको थियो । राजा र प्रधानमन्त्रीबीच फोन वार्ता चल्यो-
‘‘सेना अन्तिम शक्ति हो, अहिल्यै परिचालन गर्नु हुँदैन ।’’
‘‘पुलिसले हार खाइसक्यो, सेना परिचालन नगरेर के गर्ने ?’’
‘‘विधानतः परिचालन गरौं ।’’
‘‘माओवादीको शक्ति बराबर भइसक्यो, सिध्याउने कसरी ?’’
‘‘तपाईले साथ दिनुप¥यो ।’’
‘‘म राजालाई शक्ति हस्तान्तरण गर्दैन । प्रजातन्त्र सुम्पदैन ।’’
‘‘पुलिस नै परिचालन गर्न क्षमता पुगेन, तपाईको ! केको सेना दिनु ?’’
‘‘त्यसो भए माओवादीसँग दरवारको मिलाप छ ।’’
‘‘कुरा त्यसो होइन, राष्ट्रिय एकताका लागि आह्वान गरिने छ ।’’
दिउँसोको समय निकै सनसनीपूर्ण रह्यो । पुलिस हेडक्वाटरबाट इमर्जेन्सीका लागि सतर्क रहन आदेश आयो । हल्लैहल्ला र खैलाबैलाले राजधानी गोधुली साँझसम्म तरङ्गित बनिरह्यो । स्थानीय जनताका आँखा र कान जान वा अनजानमा प्रहरी तथा सैन्य मुख्यालय रहेका स्थानतिर सोझिइरहेका थिए ।
‘साँझ ६.० बजेपछि अनिवार्य रुपमा सटर बन्द ।’ सन्ध्याको प्रवेश प्रतिवन्ध थियो । भित्तामा जताततै सूचना टाँगिएका थिए । काठमाडौंका घरहरुका मूल ढोकाहरुमा तेलको पालामा बत्ति बन छाडिसकेका थिए ।
दुकान तथा पसल ६.० नबज्दै बन्द गरिन्थे । रातसाँझ सडकमा भुस्याहा कुकुर एकापसमा लडाइँ गरेको आवाज मात्र सुनिन्थ्यो । त्यसै त द्वन्द्वकालीन दिन, त्यसमा पनि रात त अरुकै । भनिन्छ, रात गए अग्राख पलाए ।
मध्यरातमा नारायणहिटीमा ठूलो बिष्फोटनको आवाज आयो । क्षणभरमा कोठाकोठाका मोबाइल बज्न थाले । राजाको प्यारा मिलिटरी फोर्स थुनिएको सनसनीपूर्ण खबर चारैतिर फैलियो । राजपरिवार सबै मारिएको समाचार छायो । बीबीसी, सीएन्एन्, अल इण्डिया सबैले प्रत्यक्ष प्रसारण गरे । दरवारको आकाशमा मध्यरातमा चरा कराउँदै उडिरहेका दृश्यहरु देखिए टेलिभिजनमा । तर सरकारी सञ्चार माध्यममा केवल शोकधुन मात्र एकोहोरो प्रसारण भइरह्यो ।
क्षणभरमा देशभर कफ्र्यु जारी गरियो । काठमाडौंका गल्लीगल्ली र चोकमा शाहीसेनाको मार्चपास चल्न थाल्यो । विरोध जुलुश देशभर फैलियो ।
“कफ्र्यु, कफ्र्यु ?!”
राइफल पड्किएको आवाज आयो ।
“चार्ली … चार्ली … !”
“… … ! ”
“रोजर … रोजर … !
“… … … !”
इमर्जेन्सी साइरन बजाउँदै प्रहरी तथा सेनाका भ्यान सडकमा दौडन थाले ।
“नक्कली राजा मान्दैनौ ।”