काठमाडौं । सिंगापुरमा शांग्रि-ला ग्रुपद्वारा सञ्चालित तारे होटल जेन ताङ्लिन र होटेल जेन अर्कार्डगेटवेमा रोबोट जेनो र जेनाले ग्राहकहरुलाई सेवा दिइरहेका छन् । उनीहरुको सेवाबाट ग्राहकले आनन्द लिइरहेका छन् । निर्माण भएको तीन वर्षदेखि उनीहरु सञ्चै छन् ।
उनी दिन गए, यिनी दिन आए । अब त रोबोटको पनि सञ्चो विसञ्चोका कुरा हुन थाले । मानिस रोबोटको साथी हुन थाल्यो । सिंगापुरका यी रोबोटले आगन्तुक वा ग्राहकको स्वागत गर्ने र चाहेका सेवा उपलब्ध गराउने गरिरहेका छन् । एशिया महादेशमा जापानमा रोबोटले पहिले देखि नै सेवा दिन थालेका छन् । तर सिंगापुरमा भने यो नयाँ नयाँ प्रयोग हो ।
यी रोबोट एक मिटर मात्र अग्ला छन् । यिनीहरुको मुख्य काम भनेको ग्राहकले चाहेका सामान लिएर कोठाको ढोकासम्म पुग्नु हो । ग्राहकले चाहेका र अर्डर गरेका कुरा १५ मिनेटभित्रै यिनीहरुले पुर्याउने गर्दछन् । यिनीहरुले साढे चार किलो सम्मको सामान सजिलै बोक्न सक्छन् ।
तिनीहरु एक घण्टामा साढे दुई किलोमिटरसम्म हिंड्न सक्छन् । तिनले वाइफाइ पनि चलाउन सक्छन् ।
जापानमा पछिल्लो चरणमा विकास गरिएको रोबोट मानव आकृति र डाइनोसर आकृतिमा देख्न सकिन्छ । हेन ना होटलमा रहेका मानिस आकृतिको रोबोटले विभिन्न तीनवटा भाषा बोल्दछ भने डाइनोसर आकृतिमा रहेको रोबोटले होटलमा ग्राहक चेक इन र चेक आउट हुँदा नमस्ते गर्दछ ।