• मंसिर १२ २०८१, बुधबार

राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा देऊ : विवेकशील साझा

फाल्गुन १२ २०७७, बुधबार

काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपतिले गरेको असंवैधानिक संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि विज्ञप्ति जारी गर्दै विवेकशील साझाले अब नैतिकताका आधारमा उनीहरुले तत्काल राजीनामा दिनु पर्ने बताएको हो ।

‘विवेकशील साझा पार्टी अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्दछ। विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी सांसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्दछ।
त्यसै गरी संविधानको रक्षा गर्ने दायित्वलाई रतिभर ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई रबर स्ट्याम्प सरह सदर गर्दै साथ दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनु पर्दछ।’ प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘अन्यथा राष्ट्रपति पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर भण्डारीलाई पदमुक्त गर्न संसद्‌मा रहेका सम्पूर्ण दल र सांसदहरूलाई हामी आह्वान गर्दछौँ।’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीले पछिल्लो समय असंवैधानिक ढंगले गरिएका सम्पूर्ण नियुक्ति खारेज गर्न पनि माग गरेको छ ।