• मंसिर ११ २०८१, मंगलवार

विश्व राजनीतिमा नायकको खोजी

फाल्गुन १२ २०७७, बुधबार

सर्वप्रथम राजनीति खेल्ने नेता वा जननायकको लक्षणबारे चर्चा गर्न आवश्यक छ । कुनै लक्ष प्राप्तिका लागि कुनै ब्यक्ति र समाजको नेतृत्व वा समाजको अग्रणी ब्यक्तिको रुपमा चिनिनु हो । जसमा दयालुपना, क्षमाशीलता, बलवान, धीर, आत्मप्रशंसारहीत, गाम्भीर्य, ज्ञानी, विवेकी, निष्पक्षता, चातुर्य, ओजश्वी, आकर्षक, लालित्यजस्ता गुणले ओतप्रोत भएमा मात्र जनप्रिय हुने गर्दछन् ।

चञ्चल, लोभी, अहङ्कारी, एकोहोरो, अविवेकी नेता राजनीतिमा टिक्दैनन् । आफ्नो गल्तीलाई ढाकछोप नगरी समाजको अगाडि राख्दै पुनः सच्चिएर अगाडि बढ्ने नेता नै जनप्रिय हुन्छ । राजनीति गर्ने नेताले राजनीति शास्त्र अध्ययन गर्न नपाए पनि कम्तीमा आफ्नो समाज र राज्यको अवस्था बुझेर राज्य सञ्चालन गर्ने सिद्धान्त र नियम देश र देशवासीका हितमा विविध कार्य गर्नुपर्छ । विपक्षका कुरालाई पनि सुनेर विकास र निर्माणका कार्यमा अगाडि बढ्दा राम्रो हुनजान्छ । राजाको नीतिलाई राजाको चरित्र भने पनि हुन्छ । जे भने तापनि राजनीति खेल्ने नेताको आत्मा विचित्र र अकल्पनीय हुन्छ । नीति शास्त्रमा पनि यस्तै भनिएको छ । जसरी आर्य नारी सजाय र इज्जतको डरले दुर्बल अंगहीन पतिको पनि अनुशरणमा बस्दछिन् ।

त्यसरी नै संसारमा प्रायः मानिस दण्ड र सजायको डरले नै आफ्नो काम निश्चितरुमा गर्दछन् । उनीहरुको भावले पुरस्कार र सजायको पनि सम्बन्ध राख्दछ । त्यो कुरा सरल र कठिन स्वभावबाट स्पष्ट हुनेगर्छ । यद्यपि यस्ता धेरै कुरा नेतृृत्वकर्ता र व्यक्तिमा पनि निर्भर रहन्छन् । राजनीति समयअनुसार परिवर्तन हुन्छ भन्छन् । त्यसैले माथि उल्लेख गरिएका गुण सबैमा लागु नहुन पनि सक्छन् ।

नमिठो शब्दमा भन्नुपर्दा राजनीति गर्ने चरित्रहीनजस्तो अनेक रुपहरु धारण गर्न सक्छन् भन्ने पनि सुनिन्छ ।

तर यो कुरा सबैको हकमा लागु नहुन पनि सक्छ । उनीहरु कहिले साँचो र कहिले झुठो पनि बोल्छन् भन्छन् । कहिले रुखो त कहिले प्यार गरी बोल्छन् पनि भन्छन् । उनीहरु मौका हेरेर हिंश्रक र निर्दयी पनि हुन्छन् भनिन्छ । सायद आफ्नो वर्गको हितमा बोल्दा यस्तो अवस्था आउन सक्छ । समय र आवश्यकताअनुसार त्यस्तो हुन्छ होला । नेताहरुमा हुनसक्ने गुणहरु विविध छन् । जस्तो उनीहरु कहिले सन्त झैं देखिन्छन्, त कहिले दानी पनि देखिन्छन् । कहिले भ्रष्टाचारी, लोभी र मक्खीचुस देखिन्छन् । अझ हालको स्वार्थी दुनियाँमा निस्वार्थरुपमा राजनीति गर्ने मान्छे त पाउनै गाह्रो भइसक्यो ।

राजनीतिको कार्य कहाँबबाट सुरु भएहोला भनेर सबैलाई चासोको विषय भएको छ । यसबारेमा खोजतलास गर्दा उत्तर वैदिक कालमा पुग्नुपर्ने हुन्छ । पहिले वर्गविहीन समाज थियो । नारी र पुरुष गरी दुई फरक लिंगका वर्ग थिए । स्वतन्त्रसँग घुमन्ते र फिरन्ते जीवन बिताउँदै जाँदा ईसापूर्व २५०० तिर पामिर प्रदेशतिर गएभने अर्र्को दल पामिर उत्तरपश्चिमतिर गए जहाँँ पुराना आर्यहरु बस्दथे । तीमध्ये केही रुसको पश्चिमतिर बढे । यी आर्यको बिचमा फुट पैदा भयो । एउटा सन्तान इरानी आर्य र अर्को सन्तान हिन्दी आर्य हुन गए । हिन्दी युरोपीयको आदिम निवास पूर्व मंगोलिया जतिको थियो ।

यिनीहरुका सन्तान तिब्बत, मंगोलिया, चीन, कोरिया र जापानतिर बस्न थाले । यसैगरी भारतीय आर्यहरु अफ्गानिस्तान (गान्दाहार प्रदेश) उपत्यकामा पुगे ।

अनि सिन्धु उपत्यकाका सभ्य जातिसँग लडाइँ लडे । यद्यपि असुरहरु चतुर र बलवान थिए । हजारौं वर्षसम्म नागरिक जीवन बिताउँदै गर्दा उनीहरु आर्यहरुबाट पराजित हुन पुगे । विजय भएपछि आर्यहरु आराम गर्र्न मन पराउनेजस्ता कार्यहरु विलासी हुँदै गए । अरुलाई कजाएर अधिक धन आर्जन गर्न थाले । यस्तो हुँदै जाँदा समाजमा वर्ग देखापर्न थाल्यो । समाजमा धनी र गरिव गरी २ वर्ग देखापर्न थाले ।

पुँजीवादको उत्पति :

पुँजीवाद भनेको धन आर्जन गर्ने तरिका हो । पुँजीको बलमा बहुसंख्यक मानिसको श्रमको फलप्रति विभिन्न उद्योग र कारखानाबाट, वस्तुको व्यापारबाट सञ्चित हुँदै गरेको धन बढ्दै जाँदा पुँजीवादको उत्पति भएको हो । उत्पादनमा लगाइने धनप्रति ब्यक्तिको निजी अधिकार, प्रभाव वा त्यसको व्यवस्थामा ब्यक्तिगत पुँजीको प्रभुत्व रहनुपर्छ भन्ने विचार नै पुँजीवाद हो । (नेपाली शब्द भण्डार) पुँजीलाई सर्वेसर्वा मान्ने पुँजीपति जमिनदार बने, तब निर्धाहरु भूमिहीन बन्दै गए । बरोजगार बन्दै जाँदा धेरैलाई भोकमरीले सताउँदै गयो । शोषण गर्ने पुँजीपति गरिबका लागि बिराना बन्दै गए । ती निर्धा र निम्न वर्गका मानिसलाई दास, कमारा र कमारी बनाउँदै गए । उनीहरु विस्तारै पशु झैं किनबेच पनि हुन थाले ।

पुँजीपतिले उनीहरुलाई आपसमा लडाएर मनोरञ्जन पनि लिन थाले । हुँदैजाँदा पुँजीपतिले मानिसलाई बली दिनेसम्म पनि गर्न थाले । अंग्रेज स्वभावतः चलाख भएका कारण उपनिवेशवादको सुरुआत त्यहाँबाट भएको देखिन्छ । बिस्तारै गोरा जातिका मान्छेले काला जातिका मान्छेलाई दासको ब्यवहार गर्न थाले । सयौं वर्षसम्म उनीहरुमाथि पशुवत ब्यवहार गरियो । बेलायती ब्यापार गर्ने नाममा भारत पसेर कपडाको मिल खोलेपछि कछुवा गतिमा आएका उनीहरु बिस्तारै त्यहाँको सबै क्षेत्रमा आफ्नो आधिपत्य नै कायम गरे ।

जतिबेलादेखि पुँजीपतिको हैकम र गरिबको बेहालका कारण संसार संत्रस्त थियो । यसले गर्दा अरुलाई कजाई आफू भोगविलासमा बस्ने, रम्ने, खाने र अरुलाई खाने, आफू नै कजिएर आफै खाने, चाप्लुसी गरी खाने, अर्काको कमाइमा धानिने, अर्काको काम गरेपनि भोकै बस्नु पर्ने, कामै नपाएर मागेर खानुपर्ने र केही नपाएर आकाश मुनी नै मृत्युवरण गर्नुपर्ने वर्गमा विभाजन हुँदै गयो ।

एकातिर अशिक्षाले जनसंख्याको बृद्धि हुनु पनि भोकमरीको समस्या रहन गयो । अंग्रेजहरु ब्यापार गर्ने नाममा भारत पसेपछि यो समस्या झन बढ्दै गयो । भारतमा अंग्रेज प्रवेश गर्नुपूर्व अरबीयनहरु इस्लाम धर्म प्रचार गर्न पाइला टेके । उनीहरुले सर्वश्व हरण गरे पनि आर्यहरुको अस्तित्व नामेट पार्न प्रयास गरे । यसो गर्दा आर्यहरुमा त्रास फैलन गयो । इस्लाम धर्मले जरो गाडेर खोक्रो भइसकेको भारतमा अंग्रेज पुनः इसाई धर्म लिएर २०० वर्षसम्म शासन चलाए । भारतमा पुँजीवादी चिन्तक अंग्रेज मौलाए । भारतमा भौतिक विकासको मूल पनि फुटाए ।

विभिन्न उद्योगधन्दा खोले । रेलहरु गुडाए भने पुलहरु पनि बने साथै पाश्चात्य संस्कृति पनि फैलाए ।

अन्तमा विराट भारतलाई फुटाए । यो थियो उनीहरुको विस्तारवादी चरित्र । अझ दुःखको कुरा त के भने धेरै ग्रन्थहरु लोप भए । वैदिक सनातन धर्म हल्लियो र ह्रास भयो । यता पूर्वतिर यस्तो दशा भइरहेको थियो भने पश्मिेली पुँजीवाद फैलाइरहेका थिए । श्रमिकहरुको श्रमको फल शोषण भइरहेको अवस्था थियो । यस्तो प्रकारको व्यवस्थाको ओखतीमुलो गर्न कार्लमाक्र्सले मजदुरको मुक्तिका लागि साम्यवादको चित्र कोरे । जसलाई उनले कम्युनको नाम दिए । कम्युन प्रणालीलाई पछि कम्युनिस्ट व्यवस्था भन्न थालियो । धनी र गरिबलाई समान बनाउने व्यवस्था हो, कम्युनिस्ट व्यवस्था । यो साम्यवादी व्यवस्था पुँजीवादीका लागि विष बन्यो । तर अन्तिममा यो एउटा दर्शनको रुपमा देखा पर्यो ।

संसारमा बिनाकारण कुनै पनि काम हुँदैन । जस्तै पुरानो बस्तु नष्ट नभई नयाँ बस्तु बन्दैन । पुरानो बस्तु नष्ट गर्न क्रान्ति गर्नु पर्छ । नष्ट गर्दा ध्वंस हुनजान्छ । जसरी कुनै बस्तु चुलियो भने त्यो एकदिन खस्कन्छ त्यस्तै पुँजीवाद चुलिएको छ । यो एकदिन खस्कन्छ । किनकि श्रमिकले मेहनतअनुसारको फल पाइरहेका छैनन् । कामको उचित फल नपाए उनीहरुले विद्रोह गर्छन् । विद्रोह गर्नु उनीहरुको रहर होइन, बाध्यता हो । त्यसकारण कोही धनी बन्ने र कोहीलाई खानै नपुगेर भोकै मर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । यो एउटा कुरिति हो । संसारको भूमि सबैको साझा हो । त्यसैले आर्थिक रुपले सबै समान हुनु पर्छ ।

रोजगारी सबैले पाउनु पर्छ । राज्यले सबै जनतालाई समान अवसर दिनु पर्छ ।

राज्यको ढुकुटी व्यक्तिको होइन । सबै जनताको बन्नु पर्छ । जातीय भेदभाव गरिनु हुँदैन । निम्न वर्ग र नारीलाई विशेष अधिकार दिनु पर्छ । धर्मको नाममा आर्थिक शोषण गर्नुहुँदैन । सामन्त र दलाल वर्गको पूर्णतः अन्त्य हुनुपर्छ । जमिन्दारको स्वायत्तता छिन्नु पर्छ । वन पैदावरबाट राष्ट्रलाई उन्नत पार्नुपर्छ । यी सिद्धान्त कार्लमाक्र्स र लेनिनले ल्याएका हुन् । तर यसभित्रका केही कुरा स्टालिनले मन पराएनन् । उनले केही संशोधन गर्न खोजे । रुसमा समाजवादको स्थापना गर्न खोजे, तर सफल भएनन् । त्यो शासन केही केन्द्रिकृतखालको भएकाले समस्या आयो । यसैगरी चीनमा पनि माओत्सेतुङले साम्यवादको अभ्यास गर्न खोजे । रुढीवादी संस्कारलाई हटाउने प्रयास गरे । तर माओको मृत्युपछि अलि समस्या आयो ।

माओको निधनपछि त्यहाँको शासनमा पुँजीपति हाबी भएका कारण व्यवस्थामा परिवर्तन आयो । उता रुसमा पनि त्यस्तै भयो । स्टालिनको निधनपछि उदाएका कम्युनिस्ट नामका पुँजीपतिले शासन व्यवस्थालाई पुरानै अवस्थामा फर्काएका कारण रुसमा कम्युनिस्ट शासन ढल्न पुग्यो । यसरी जताततैबाट असफल भएको पुँजीवादी व्यवस्थालाई हटाएर कम्युस्टि दर्शन अन्तरगत समानताको सिद्धान्त अनुसारको व्यवस्था बनाउन लागेका कम्युस्टिहरुमा पनि समस्या देखिएपछि अब नयाँ तरिकाले सोचेर विश्वलाई नै नयाँ सन्देश दिन सक्ने नयाँ दर्शन र नेतृत्वको खोजी आजको आवश्यकता बनेको छ ।