काठमाडौं । सर्वोच्च अदालतले आज गरेको फैसलाले नेपालको राजनीतिमा धेरै तरङ्ग पैदा गरेको छ । प्रतिनिधि सभा पुनस्थापना गर्न आदेश गरेको आजको फैसलाले देश अब कता जाने हो भन्ने बहस चल्न थालेका छन् । सामाजिक सञ्जालहरुमा यसको विपक्ष र पक्षमा निकै आश्चर्यजनक टिकाटिप्पणीहरु व्यक्त भएका छन् । यो फैसलासँगै देशमा मुठभेड पो सुरु हुने हो कि भनेर आशंका गर्नेहरु पनि छन् भने प्रम ओलीलाई निकै गालीका शब्दवाणहरु पनि पोखिएका छन् ।
यसैबीच सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको विरुद्ध आदेश दिएसँगै सुरक्षा निकाय पनि उच्चसकर्तकमा रहेको बुझिएको छ । आजको फैसलालाई लिएर ओली समूह र प्रचण्ड-माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा तैनाथी बढाइएको हो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले बताएअनुसार सर्वोच्चको फैसला आउने संकेतका आधारमा ११ देखि १७ फागुनसम्मका लागि विशेष सुरक्षा योजना लागु गरिएको थियो । त्यही अनुसार उपत्यकाका संवेदनशील क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको अर्यालले बताए । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालका अनुसार उपत्यकाका निषेधित क्षेत्रहरुसहित ठाउँठाउँमा प्रहरी तैनाथी बढाइएको छ । ‘भिड जम्मा हुनसक्ने र कुनै अप्रिय घटना नहोस् भनेर हाई अलर्टमा बसेका हौं’, प्रहरी अतिरिक्त महानिरीक्षक पालले भने ।
सुरक्षा संयन्त्रले संसद पुनस्र्थापना भएको अवस्था र नभएको अवस्थामा कस्तो सुरक्षा तैनाथी गर्ने भन्ने तयारी पहिल्यै गरेको थियो । संसद पुनस्र्थापना भएको अवस्थामा प्रदर्शन र झडपको सम्भावना कम हुने सुरक्षा अधिकारीहरूको विश्लेषण थियो । सर्वोच्च अदालतले मंगलबार विघटित प्रतिनिधिसभा पुनस्र्थापना गर्न आदेश दिएको छ । सँगै १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।