• मंसिर ११ २०८१, मंगलवार

सुन्दर हुनलाई स्वस्थ शरीर र सन्तुलित आहार हुनुपर्छ : व्युटिसीयन पार्वती बराल

फाल्गुन ११ २०७७, मंगलवार

आजभोली मानिसहरुलाई सुन्दर कसरी हुने भन्ने चिन्ताले सताइरहन्छ । मानिसहरु गोरो हुनुमा मात्रै सुन्दरता देख्छन् । ओठमा लिपिस्टीक लगाउनु वा कपालमा जेल लगाई बासनादार बनेर हिंड्नुलाई राम्रो भएको बुझ्ने पनि गर्दछन् । तर साँझ-विहानका लागि खाने कुरा जुटाउन मुस्किल हुनेहरुका लागि सुन्दरता के हो  ? यो भने गम्भीर प्रश्न हो । त्यसकारण सुन्दरतालाई बुझ्ने आ-आफ्नै तरिकाहरु छन् । यो विषय गम्भीर हो । तर मानिसको भौतिक शरीरको सुरक्षा गर्न र अरुले देख्दा राम्रो कहलिनका लागि गरिने तयारीहरु पनि सुन्दर बन्ने तरिकाहरु हुन सक्छन् । सायद यसै आवश्यकतालाई मनन् गरेर जताततै व्युटिपार्लरहरु खुलेका होलान् । व्युटिपार्लर चलाएर र मानिसहरुलाई सुन्दर बनाएपछि लिइने सेवाशुल्कले जीवनमा आवश्यक पर्ने खर्च जुटाउन मद्धत पुग्छ भन्ने कुरा धेरैलाई पत्यार नलाग्न पनि सक्छ तर यो कुरा साँचो हो । खासमा यो पेसामा के कस्ता समस्या छन् र के कस्ता फाइदाहरु छन् ? यस बारेमा गोलमिडियाका सम्वाददाताले व्युटिसीयन पार्वती बरालसित कुरा गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सारसंक्षेपः  सम्पादक

 तपाईं पार्लर खोलेर सौन्दर्य पेशामा लाग्नु भएको कति भयो ?

म यो पेशामा लागेको २०७० सालदेखि हो । अहिले ८ वर्ष जति भयो ।

पार्लर अब गाउँगाउँमा पनि खुल्न थाले, कत्तिको परिवर्तन आएको छ मानिसको आफ्नो सौन्दर्य चेतमा ?

पार्लर पहिले सहरी क्षेत्रमा मात्र थिए । अहिले ग्रामीण भेगमा पनि यसको विस्तार भैरहेको छ । मानिसमा आफ्नो सौन्दर्यप्रतिको चासो बढ्दो छ । ग्रामीण भेगका मानिसमा पनि सौन्दर्य बोधहुँदै गएको छ । जनचासो बढ्दै गएको छ ।

कसरी आकर्षित हुन पुग्नु भयो यो व्यवसायमा ?

मेरो सानैदेखि सौन्दर्यप्रति चासो थियो । राम्रो हुन निकै मन पथ्र्यो । राम्रा कुरा निकै मन पराउने र खेल्ने गर्दथे । पढाइ जारी रहँदा पनि म उत्तिकै सचेत र आकर्षित भैरहे सौन्दर्यप्रति । पढाइ सकिएपछि हामी महिलाले केही त गर्नैपर्छ भन्ने लाग्यो । मलाई आफै स्वावलम्वी बन्ने र आत्मनिर्भर हुने चाहना थियो । परनिर्भर भएर बस्नु र जीन्दगी बिताउनु त्यति राम्रो होइन भन्ने लाग्थ्यो ।

घरपरिवारबाट कत्तिको सहयोग छ, तपाईलाई ?

घरपरिवारबाट असाध्यै सकारात्मक सहयोग पाएकी छु । मेरो हजुरले सम्पूर्ण काममा पूरै सहयोग गर्नुहुन्छ । अरु सबैबाट पनि सहयोग पाएकी छु ।

यो व्यवसायबाट सहज जीविकोपार्जन संभव छ ? नेपालमा त यो नयाँनयाँ पनि हो ।

पार्लर व्यवसायबाट जीविकोपार्जन एकदमै संभव छ । यो पेशा निकै संभावनायुक्त पेसा हो । निकै राम्रो पनि छ । अहिले कोरोना महामारीका कारणले केही कमी देखिए पनि यसले फेरि गतिलिन थालेको छ । यो पेसा महिलाका लागि उपयुक्त र राम्रो आयआर्जन हुने पेसा पनि हो ।

सेवाका साथै तालीम पनि दिने गर्नु भएको छ ?

मेरो पार्लरमा सेवा लिनका लागि पाल्नुहुने सबैलाई सन्तुष्ट हुने गरी सौन्दर्य सेवा दिन सकेकी छु । सीप सिक्न चाहने नयाँ सिकारुका लागि बेलाबेलामा तालीमको पनि व्यवस्था पनि छ ।

सौन्दर्य सेवा लिइसकेपछि सेवा शुल्क दिन सेवाग्राही कत्तिको तयार हुन्छन् ?

मेरो ८ वर्षको अनुभवमा मकहाँ आएका सेवाग्राही सन्तुष्ट भएर नै गैरहनु भएको छ । मलाई पनि उहाँहरु बेखुशी भए झैं लाग्दैन । त्यस्तो व्यवहार पनि गर्नु भएको छैन । कतिपय त खुशी भएर बढि शुल्क दिएर जाने गर्नुभएको पनि छ । सेवा दिएकोमा प्रशंसा पनि गर्नुहुन्छ । एकपटक आउनु भएका सेवाग्राही फेरि पनि आइराख्नु भएको छ ।

यहाँ आउने सेवाग्राही कुन उमेर समूहका बढि छन् ?

लिंगका हिसाबले महिला नै आफ्नो सौन्दर्यप्रति बढि सचेत भएको पाएकी छु । त्यसमा सानी बच्चीदेखि युवती र बूढी महिलामा पनि सौन्दर्य मोह उत्तिकै हन्छ । मैले मेरो पार्लरमा यो कुराको व्यवहारतः अनुभूत गर्न पाएकी छु । त्यसो त सौन्दर्यप्रति आकर्षित नहुने को होला र ? मैले सेवा दिने मौका पाएकामा बच्चाबच्चीदेखि युवती र पाको उमेर समूहका महिलासम्म हुनुहुन्छ । मकहाँ प्लस टु सिध्याएर बसेका बहिनीहरु, कर्मचारी महिला तथा युवती केही बढी आउनु हुन्छ ।

यो पेसा कष्टकर छ, होइन ?

यो व्यवसायमा निकै मेहनत गर्नुपर्छ । दुःख त भैहाल्छ, तर हरेक दिनमा सेवा दिएवापत सेवाग्राही खुशी हुँदा र प्रशंसा गर्दा संगालिएको अनभूतिले त्यसमा मल्हम लगाउँछ । आफूलाई पनि सुखद अनुभूति हुन्छ ।

तेस्रो लिंगीको सौन्दर्य चाहना कत्तिको रहेको पाउनु भएको छ ? आउनु भएको छ कहिलेकाहिं ?

नेपालमा तेस्रो लिंगीलाई आधिकारिक पहिचान दिएपछि उहाँहरुलाई धेरै सहज भएको छ । उहाँहरु पनि सौन्दर्यमा निकै सचेत भएको देखिन्छ । तेस्रो लिंगीको संख्या पनि कम नै छ, नेपालमा । मैले मेरो पार्लरमा उहाँहरु आएर सेवा दिने मौका पाएकी छैन ।

तपाईंहरुले प्रयोग गर्ने सौन्दर्य प्रसाधनमा रसायनको प्रयोग कत्तिको भएको पाउनु भएको छ ?

मैले हर्बल उत्पादनका सौन्दर्य प्रसाधन बढि प्रयोग गर्ने गरिरहेकी छु । सौन्दर्य प्रसाधनमा केही मात्रामा रसायन पनि मिसाइएको हुन्छ । तर यसमा छालालाई हानी नगर्ने छालामैत्री रसायनको नै प्रयोग गरिएको हुन्छ । प्रयोग गरिएका यस्ता रसायन प्रमाणित गरेर असर नगर्नेलाई मात्र अनुमति दिइएको हुन्छ ।

तपाईंको सोचमा सौन्दर्य भनेको के हो ?

सौन्दर्य सबैका लागि अति आवश्यक कुरा हो । सुन्दर केटी पनि हुन सक्छ र केटा पनि हुन सक्छ । केटा र केटीको सौन्दर्य अभिव्यक्त गर्ने भाषिक शब्दाबलीमा भिन्नता हुन पनि सक्छ । तर सौन्दर्य दुवै लिंगका लागि उत्तिकै महत्वपूर्ण कुरा हो । सौन्दर्यले मानिसमा आत्मस्वाभिमान तथा आत्मविश्वास ल्याउँछ ।

पार्लरमा सेवा लिन आएका दिदी बहिनीहरुले तपाईंसँग सामिप्यमा रहँदा महिला हिंसाका कुरा गर्नुहुन्छ ?

कसै कसैले गर्नु हुन्छ । महिला हिंसाको कुरामा मैले पाएको चुरो कुरा भनेको उहाँहरु परनिर्भर हुनु नै हो । महिलामा आर्थिक आत्मनिर्भरताका कुरा नहुँदासम्म शायद महिला हिंसा कम भएर जाँदैन होला । अरु कारणले पनि महिला हिंसा हुने गरेको छ । तर मुख्य रुपमा आर्थिक कारण नै हो ।

सेवाग्राहीले आफ्नो शारीरिक स्वस्थतालाई कत्तिको ध्यान दिएको पाउनु भएको छ ?

हो, सौन्दर्य भनेको अनुहारमा उज्यालोको लेपन मात्र होइन । अनुहारको छालामा चमक ल्याउनु मात्र पनि होइन । सौन्दर्य भनेको सिंगो शरीर स्वस्थ, चुस्त र तन्दुरुस्त रहनु र राख्नु पनि हो । त्यसका लागि सन्तुलित आहार विहार, मानसिक तनावको कमी र पारिवारिक मेलमिलाप जरुरी छ ।

के गरेमा यो पेसालाई अझ आकर्षक र मर्यादित बनाउँदै लान सकिएला ?

यो व्यवसाय उत्तम व्यवसाय हो । यो मानवीय व्यवसाय पनि हो । तर पछिल्लो चरणमा यसमा विकृतिहरु पनि आइरहेका छन् । पछिल्लो समयमा मसाजलाई पनि यही पार्लर क्षेत्रभित्र पारिएको छ । कहिलेकाहिं विकृतिका कुरा बाहिर आइरहेका र धेरैलाई चिन्तित बनाइरहेका छन् । यसका लागि सिंगो समाज सचेत हुन जरुरी छ । सरकारले पनि यो विषयमा गम्भीरतापूर्वक ध्यान दिनु पर्छ । सचेतना नै सबैभन्दा ठूलो कुरा हो ।

अन्त्यमा केही कुरा राख्न चाहनु हुन्छ कि ?

मैले सबैलाई र विशेष गरी महिला दिदी बहिनीहरुलाई आफू आत्मनिर्भर हुन प्रयास गर्नुस् भन्न चाहन्छु । काम तपाईले चाहेको अंगाल्नुस् तर आफू सक्षम र स्वाभिमान हुनुस् ।