वर्षा हुन छाड्यो । पट्यारलाग्दो गर्मी कम हुँदै गयो । शरद ऋतुको समय आयो । हजारीवाग जेलको वातावरण एकदमै रमणीय बनिरहेको थियो । हाम्रो वार्डमा केही नयाँ युवा तथा उत्साही साथी थपिए । बन्दी साथीको संख्या बढिरहेको थियो । यो हाम्रालागि खुशीको कुरा थियो । बन्दी सबैलाई सानो र साँगुरो ठाउँमा एकैसाथ कोचेर राखेको थियो । मध्यमखाले गर्मी अझै पनि कम भएको थिएन ।
दोपहरपछि हामीहरु एकैक्षण भएपनि आँखा चिम्लने गर्दथ्यौं । गर्मीका कारण शरीरमा आलस्य आउँथ्यो । एकक्षणको निद्रापछि हामी उठ्थ्यौं । त्यसपछि कबड्दी, हाइजम्प आदि खेल्थ्यौं । जेलमा रहेका चन्चले यवतीमध्ये बिल्किश नाम गरेकी एक १९ वर्षीया मुसलमान युवती पनि थिइन् । बिल्किशले हाम्रो जीन्दगीलाई बढि खुसी र उल्लासमय बनाएकी थिइन् ।
उनी आफ्नो छिमेकी हिन्दु केटासँग पोइल गएकी रहिछन् । पोइल जानुभन्दा पहिले एक आपसमा दुवैबीच प्रेमपत्रको आदानप्रदान भएको रहेछ । यसका साथै नोकरमार्फत् एकापसमा खबर पठाइपठाई मायाप्रेम गर्दारहेछन् । पछि उनीहले भागेर विवाह गरेछन् ।
केटीको अभिभावक रहेका उनका कान्छा बाको उजुरीमा उनीहरु दुवैलाई जेलमा हालिएको थियो । उनको कान्छा बाको यो मुद्दामामलाको काममा मुश्लिम समुदायले सहयोग गरेका थिए । उनको कान्छा बाबुले धम्की दिने गरिरहेका थिए । उनले सुनाइरहेका थिए कि यदि दुवै जनाले जिल्लाको भूमिभित्र पाइला टेकेछन् भने दुवैलाई ढुङगाले हानेर मारिनेछ । साम्प्रदायिक दङ्गा हुने डरले मजिष्ट्रेटले उनीहरुलाई धरौटीमा छोड्न मानेका थिएनन् । उनीहरुलाई छोडिदिएमा उनीहरुको जीवन खतरामा पर्ने निस्चित थियो ।
बिल्किशको लोग्नेमाथि अपहरण र बलात्कारको आरोप लगाइएको थियो । तर यो आरोपमा कुनै सत्यता थिएन । यो पुष्टि हुँदैन थियो पनि । तर यसका लागि बिल्किश आफैंले आफ्नो खुसीले बिबाह गरेको हो भनेर बयान दिनु पर्दथ्यो । बिल्किशले उमेर ढाँटेको भनेर उनको उमेर थाह पाउनका लागि महिला डाक्टरसँग डाक्टरीजाँच पनि गराइएको थियो ।
१८ वर्षभन्दा कम उमेरकी महिलालाई ‘नाबालक’ भनेर सम्झिइन्थ्यो । यस उमेरमा विवाहको लागि अभिभावकसँग अनुमति लिनुपर्दथ्यो । तर विल्किश यति ठूली भइसकेकी थिइन् कि उनले आफ्नो पति आफूखुसी छनौट गर्न सक्दथिन् । उनले मलाई सबै कुरा भनेकी पनि थिइन् । उनका अनुसार स्कुलको पढाइ लगभग सिद्धिदै थियो । उनका काकाले उनको सौतेला भाइसँग विवाह गरिदिने भनी समय तय गरिसकेका थिए । यस्तो अवस्थामा उनी आफ्नो प्रेमीसँग घरबाट भागेकी थिइन् ।
विलकिश निकै निडर केटी थिइन् । आफ्नो कान्छा बाको अनेक प्रकारका धम्कीबाट पनि उनी डराएकी थिइनन् । बरु यी सबै कुराविरुद्ध डटेर सामना गर्न सक्ने दृढ संकल्पको विकास गरिसकेकी थिइन् । मैले उनको यो संकल्पलाई तारिफ नगरिरहन सक्दैनथे । उनको कान्छा बाबाले उनलाई दैनिक भेट्न त्यति बेलासम्म आए, जति बेलासम्म विलकिशले ‘त्यो केटोलाई भेट्दैन’ भनेर भनिरहेकी थिइन् ।
यसपछि उनको कान्छा बाले सहायक जेलरलाई आफ्नो पक्षमा लिन सफल भए । उनले आफ्ना कुरा सहायक जेलरमार्फत् विलकिशसम्म पु¥याउन सफल भए । ती जेलर प्रायः हाम्रो वार्डमा आउथे । विलकिशसँग अर्कै सम्प्रदायमा विवाह गर्दा भविष्यमा धेरै दुःख पाइन्छ भनेर तर्साइरहन्थे । उनले विलकिशलाई चेतावनी दिइरहन्थे कि केटाको परिवारले न त उनले छोएको खान्छन्, न त पानी नै पिउनेछन् ।
यसको मतलब उनले ती केटीलाई हतोत्साहित गर्ने र उनको मनोबल गिराउने कोसिस गरिरहन्थे । उनको कुराको आशय थियो कि उनले गरेको कामप्रति पछुताएर केटाविरुद्ध झुठा बयान दिऊन् । कम्तीमा पनि बलात्कारको सजायस्वरुप उनको पतिले दस वर्षसम्म जेल पर्नुपरोस् । उनलाई कान्छा बाको घर फर्केपछि उनले गरेको अपराध वापत उचित सजाय पनि भोग्न परोस् ।
जेल कर्मचारीसँग बिलकिश र उनका पतिको मित्रता र दुश्मनी दुवै थियो । तर दुश्मनीको तुलनामा मित्रता अझ नराम्रो थियो । एउटा बूढो ब्राह्मण वार्डर थिए । यी खराब मनशायका मानिस थिए । अन्याय र अत्याचारका लागि र आफू अधीनमा रहेका कैदीको बीचमा फाटो ल्याई दुश्मनी बढाउने काम गरिरहन्थे ।
तर एउटा कुरा, उनले बिलकिश र उनको पतिसँग भने राम्रो व्यवहार गर्दथे । उनले सधैंभरि विलकिश र उनको पतिप्रति जेलमा नराम्रो नहोस् भनेर निकै ध्यान दिने गर्दथे । उनको यो अचम्मको व्यवहारको एक मात्र कारण थियो– एक हिन्दू केटाको साथ विलकिशको विवाह हिन्दूको जित र मुसलमानको हार थियो ।
तर पनि कुरा त यो सत्य थियो कि यदि ती ब्राह्मणकी छोरीले भिन्न सम्प्रदायमा बिबाह गर्दथिन् भने उनले कहिल्यै माफी दिने थिएनन् । उनी शायद बौलाहाजस्तो हुने थिए । भिन्नाभिन्नै समूहरुबाट पर्ने दबाबका बाबजुद विलकिश आफ्नो फैसलामा अडिग थिइन् । उनी जेलमा निरन्तर पाँच महिनासम्म लड्दै रहिन् । पाँच महिनापछि उनलाई अरु कुनै भिन्न इलाकामा गएर बस्ने सर्तसहित उनको पतिको साथ रिहाइ गरियो । सबैभन्दा विडम्बनाको कुरा त के थियो भने भारत आफैमा धर्मनिरपेक्ष राज्य हो र यसअनुसार उनले कुनै पनि अपराध गरेकी थिइनन् ।
(बेलायती लेखिका मेरी टाइलरको ‘भारतीय जेलमा मेरा वर्षहरु’ बाट अनुदित ।)