• मंसिर १७ २०८१, सोमबार

एक करोड लगानीमा बनेको नाचघर निर्माणको अन्तरकथा

फाल्गुन ११ २०७७, मंगलवार

दाङ, ११ फागुन
घोराही उपमहानगरपाालिकाको केन्द्र घोराही बजारदेखि झण्डै ६ किलोमिटर उत्तर पूर्वमा रहेको ‘घोरदौरा’ गाउँ । पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लुम्बिनी प्रदेश सरकारले पहिलो पटक नयाँ योजना बुन्यो नाचघर निर्माण गर्ने । दुई वर्ष अघि लुम्बिनी प्रदेश सरकारले छनौट गरेको नाचघर निर्माणका लागि गत आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गर्यो । एक करोडको लगानीमा बनेको भनिएको नाचघरमा अनियमितता भएको गुनासो सुनिँदै आएको छ । निर्माण सम्पन्न नहुँदै सामाजिक सञ्जालमा प्रदेश सरकारको नियत माथि नै प्रश्न गरिएको छ ।

निर्माण कम्पनीका अनुसार भर्खरै निर्माण सम्पन्न भएको भनिएको यो घरको लागत भने निकै अस्वभाविक देखिन्छ । साँस्कृतिक नाचघर हेर्न आएका चारजना स्थानीय महिलाहरुले यो त बाख्राको खोर जस्तो पनि भएन भनेर घरप्रति कटाक्ष गर्दै थिए । भिरालो जमिनलाई एक्साभेटर प्रयोग गरेर सम्याइएको छ । पश्चिम तर्फको खाल्डोदेखि सम्याइएको जमिनको सतह बराबर गर्नका लागि पर्खाल उठाइएको छ । त्यही पर्खाल उठाउने क्रममा दुईवटा कोठा निर्माण गरिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिका अनुसार यी दुई कोठा नाच्ने कलाकारहरुको ‘ड्रेस चेन्ज’ का लागि बनाइएका ‘ड्रेसिङ रुम’ हुन् ।

त्यही पर्खालमाथि नाच्नका लागि स्टेज निर्माण गरिएको छ । स्टेजको ओत टिनको छानो छ । स्टेज नजिकै पूर्वतर्फ दर्शक दिर्घा छ । दर्शक बस्नका लागि ढुंगाको पेटी बनाइएका छन् । स्थानीयस्तरमै प्रसस्त मात्रामा ढुङ्गा पाइने भएपनि कम्पनीले बाहिरी जिल्लाबाट ढुङ्गा खरीद गरेको बताएको छ ।

“दर्शक बस्ने पेटीमा प्रयोग गरिएका ढुंगा जिल्ला बाहिर रुकुम, रोल्पा र प्यूठानबाट ल्याइएका हुन्”

यो घर निर्माणको निगरानी गरेका वन कार्यालयका इन्जिनीयर कृतिसिङ जिसीले भने । ढुंगा खरिद अनि ढुवानीका लागि पनि महंगो पर्न गएको उनको भनाई छ । दर्शक बस्नका लागि निर्माण गरिएको स्थानमा ओतभने छैन । घाम वा पानीलाई दर्शकहरुले कसरी छिचोल्ने स्थानीय महिलाहरुले भने ‘यस्तोमा बसेर कसले नाच हेर्छ, घामले छाला जान्छ, पानीले भिजाउँछ । नाचघरदेखि पूर्वतिरको भिरालो जमिन बर्खायाममा उत्तिकै बाधक बन्ने देखिन्छ ।

बर्खायाममा पानी परेको अवस्थामा उक्त नाचघरसम्मै भेल बग्ने देखिन्छ । भौतिक संरचनाको बनोट र यसमा लागेको भनिएको लागत निकै अस्वभाविक देखिएपनि यसको अनुगमनको जिम्मा पाएको वन कार्यालयले भने निर्माण लागतमा कत्तिपनि तलमाथि नभएको दाबी गरेको छ । भिरालो जमिन सम्याउन, पश्चिम तर्फबाट पर्खाल उठाएर जमिनको सतह बराबर बनाउँदा ठूलो खर्च लागेको वनको दाबी छ । “पश्चिम तर्फको खाल्डोबाट पूर्व तर्फको जमिनको सतहसम्म बराबर बनाउँदा धेरै खर्च लागेको छ, त्यो आरसीसी पर्खालमा मात्रै ४० लाख रुपैयाँ जति खर्च भएको छ” वन कार्यालयका इन्जिनीयर जिसीले भने । त्यसैगरी उनका अनुसार स्टेजमा प्रयोग गरिएका ‘प्यूठानी’ ढुंगा अत्याधिक महंगा हुन् । “प्यूठानी ढुंगा प्रयोग भएका छन्, महंगो ढुंगा खरिद र ढुवानीमा पनि धेरै लगानी लाग्यो” उनले भने । यसैगरी स्टेजको ओतमा प्रयोग भएको छानो पनि उत्तिकै महंगो पर्न भएको उनको भनाई छ ।

“छानोमा प्रयोग भएको मेटेरियल’ काठमाडौँबाट ल्याइएको हो, यसैगरी उक्त स्थानमा पानीको व्यवस्था छैन, घोराहीबाटै पानी ढुवानी गर्नु पर्ने भएकाले रकम महंगो परेको हो” इन्जिनियर जिसीले भने । भौगोलिक असुविधाले पनि खर्च स्वाभाविकै बढि पर्न गएको उनले दाबी गरे । नाचघर निर्माणका लागि एक करोड रुपैयाँ खर्च भैसक्यो तर यो घरले पूर्णता भने पाइसकेको छैन । एक करोडमा पनि सम्पन्न नभएपछि यो आर्थिक वर्षमा थप ६० लाख रुपैयाँ बजेट लुम्बिनी प्रदेश सरकारले विनियोजन गरिसकेको उनले जानकारी दिए ।

नाच हेर्नका लागि जाने दर्शकहरुका शौचालय निर्माण लगायत दर्शक बस्ने थलो थप बढाउनका लागि उक्त रकम खर्च गर्ने निर्माण कम्पनीले जनाएको छ । अहिले थपिएको बजेटबाट पुरुष र महिलाकालागि छुट्टाछुट्टै शौचालय निर्माण गरिने छ । निर्माण कम्पनीका अनुसार भिरालो स्थान भएकाले दर्शकको सुरक्षाका लागि बार लगाइने छ, भने दर्शकहरु बस्ने थलोलाई थप बिस्तार गरिने छ । जिल्लामा हुने कार्यक्रममा परम्परागत नृत्यको प्रवद्र्धनका लागि नाचघर बनाउने लक्ष्य प्रदेश सरकारको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले स्थान चयन गरे घोराही उपमहानगरपालिका १८ घोरदौरा ।

मुख्यमन्त्रीले त्यहाँबाट हिमाल पनि देख्न पाइने र घोराही बजार क्षेत्रपनि पुरै देख्न मिल्ने भएकाले यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि चयन गरेका हुन् । तर घोराहीदेखि उत्तर पूर्वमा रहेको घोरदौरा सम्म पुग्नका लागि कच्ची धुलाम्य सडक छ । घोराहीमा भएको कार्यक्रमका सहभागीहरुलाई नाच देखाउनका लागि मात्रै ६ किलोमिटर पहाड छिचोल्नु पर्छ । भौगोलिक विकटतासँगै नाचघर निर्माण गरिएको थलोमा पिउने पानी सम्मको व्यवस्था छैन । नत पक्की सडक नै । योजनाको डिपिआरमा भने पक्की सडक र पिउने पानीको व्यवस्थापन पनि समेटिएको छ । डिपिआरलाई समेत वास्ता नगरी घोरदौराको डाँडोमा निर्माण गरिएको नाचघरको औचित्य निर्माण कम्पनीले पुष्टि गर्न जरुरी देखिन्छ ।