• मंसिर ११ २०८१, मंगलवार

‘शीत युद्ध’पछि ‘मित युद्ध’: सीमाबाट फिर्ता लगिए भारतीय-चिनियाँ सेना

फाल्गुन १० २०७७, सोमबार

लद्दाखदेखि जम्मु-काश्मिरसम्मको हिमाली सिमानालाई लिएर केही समय पहिलेदेखि एकआपसमा ‘मल्ल युद्ध’ गरिरहेका छिमेकी देश भारत र चीनले आआफ्ना सशस्त्र सेनालाई उक्त क्षेत्रबाट पछि हटाएका छन् । मल्लयुद्धबाटै दुई देशीय द्वन्द्वको व्यवहारतः व्यवस्थापन हुन जाने स्थितिको थालनी हुने देखिएपछि भारत र चीनले तत्काल ‘अस्तित्वरत’ शीत युद्धलाई मित युद्धमा परिणत गर्ने प्रयासको थालनी गरेका छन् ।

दुवै छिमेकी देशका सेना दुवै देशको आआफ्ना सीमा विवादलाई लिएर एकआपसमा अति नै आक्रामक र बदलाभावले प्रेरित हुन थालेपछि संभावित दुर्घटनालाई मध्यनजर गरी उक्त सीमा इलाकाबाट फिर्ता गरिएका हुन् । यसको पछाडि धेरै कुराले काम गरिरहेका छन् । कतिपय घरेलु कुरा छन् भने अन्य कतिपय अन्तर्राष्ट्रिय परिवेशका विषय पनि छन् । सीमाबाट दुवै देशका सेना हट्नु र हटाइनुमा सिर्जित नयाँ परिस्थितिले काम गरेको छ ।

अमेरिका-चीन सम्बन्धमा सुधार:

अमेरिका-चीन सम्बन्धमा सुधार आउनु भारतका लागि एक महत्वपूर्ण अन्तर्राष्ट्रिय परिस्थिति अन्तर्गत पर्दछ । दुई देशीय सीमाको अन्तरविरोध मात्र हेर्यौं भने यो विशुद्ध भारत-चीनको विषय हो । तर भारत-चीनबीचको सीमा विवाद यी दुई देशका कारणले मात्र चर्किएको थिएन । यो त अमेरिकाको इण्डो प्यासिफिक रणनीति अन्तर्गतको चासो, अमेरिका-भारत अलाइन्स र चीन-अमेरिका बीचको तनावले पनि निम्त्याएको थियो । तात्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पले लिएका चीन विरुद्धको अमेरिकी रणनीति तत्कालको कार्यनीतिक बनाउन खोज्दै थिए । यसले भारतमा दबाब सिर्जना गरिरहेको थियो र अमेरिकी रणनीतिमा सघाउन भारतलाई भनिरहेको थियो । यसले स्वाभाविक रुपमा चीन-भारतबीचको सम्बन्धमा कटुतालाई प्रश्रय दिइरहेको थियो । परिणामतः सीमाका इलामा अनपेक्षित घटना घटिरहेका थिए । अहिले अमेरिकामा जो बाइडन राष्ट्रपति चुनिएका छन् । उनी चुनिएपछि चीन-अमेरिका बीच सम्बन्धमा सापेक्ष नरमपन आई सुधार हुँदै गएको छ । अमेरिका-भारत एउटै अलाइन्समा भएकाले चीनप्रति अमेरिकाले नरम नीति अख्तियार गर्दा भारत पनि चीनसँग उत्तिको साह्रो आक्रामक हुन सक्दैन ।

मोदीको ‘लुक इष्ट, एक्ट इष्ट’को नीति:

भारतीय प्रधानमन्त्री मोदी बढि रणनीतिक रुपमा सोच्ने र रणनीतिक काममा जोड दिने नेता हुन् । उनीभन्दा पहिलेका प्रधानमन्त्री पीवी नरसिंह रावले निर्माण गरेको ‘लुक इष्ट’को नीतिलाई उनले ‘एक्ट इष्ट’ थपेर कार्यान्वयनमा ल्याउने पहल गरेका हुन् । यसले पनि भारत-चीनको सम्बन्धमा पहिलेका सरकारभन्दा सहज, सरल र मित्रतामा लैजान ठूलो सहयोग पुर्याइरहेको छ । कहिलेकाँही प्रम मोदी र उनको राज्य प्रशासनका बीचमा खटपट आएको व्यवहारिक रुपमै अनुभूत हुन्छ । यो प्रम मोदीको रणनीतिक सोच र प्रशासनको कार्यनीतिक सोचको बीचमा अभिव्यक्त ‘ग्यापिङ’ हो । यही ग्यापिङ र अन्तर्विरोधमा अमेरिकी चलखेल भैरहेको सजिलै बुझ्न सकिन्छ । हालैका दिनमा मोदीको रणनीति अमेरिका-चीनबीचमा सम्बन्ध सुधारका बेला सहजतामा अघि बढ्ने देखिन्छ ।

आर्थिक साझेदारीतिर जोड:

भारत र चीन आफैमा विश्वका उदाउँदा आर्थिक अर्थतन्त्र हुन् । यी दुई अर्थतन्त्र मूलतः एशियाली अर्थतन्त्र पनि हुन् । आगामी दिनमा विश्वमा उदाउँदै गरेको एशियाको धुरीखम्बा यिनै दुई देशले अड्याउने देखिन्छ । किनकि, यी दुवै उदाउँदा छन् । जापान र रसियाको पनि आर्थिक अर्थतन्त्र कम बलियो त छैन । तर पनि ती दुईको आर्थिक विकास स्थिरीकरणतिर बढि जान थालेको देखिन्छ ।
यसैले पनि चीन र भारत एक अर्काका प्रतिद्वन्द्वी नभई परिपूरक बनेर जाँदा नै दुवै देशलाई बढि फाइदा छ र उदाउँदो एशियाको निर्णायक आर्थिक स्तम्भ पनि यसैले निर्माण गर्ने देखिन्छ । त्यसैले यी दुईको बीचमा आर्थिक साझेदारी गरेर विश्व बजारमा जाने नै बढि उपयुक्त रणनीति बन्नु पर्छ । यसमा भारतको कटन उद्योगबाट उत्पादित वस्तुको खपत चीनमा र चीनमा उत्पादित वस्तुको खपत भारतीय बजारमा सहज बनाइनु पर्छ । ताकि दुवै देशको आर्थिक आधार बलियो बन्दै जाओस् । यसका लागि भारतले चीनको ‘एक बेल्ट एक बाटो’को नीतिमा अबरोध होइन, साझेदारी गरेर जान सकिन्छ भने विश्व बजारमा जान हिच्किचाउनु हुँदैन । होइन भने चीन र भारतको यही अन्तरविरोधमा खेलेर पश्चिमा राष्ट्रहरुले उदाउँदो एशियाको साख गिराई आफ्नो वर्चस्व सधैं कायम गरिरहने छन् । तत्कालको मित्रतापूर्ण बाटोको अख्तियारीका लागि भारत-चीनबीच व्यापार साझेदारी आवश्यक छ ।

विज्ञान र प्रविधिको प्रभावः

अहिले संसार निकै सानो र साँगुरो भैसकेको छ । यो साँगुरो संसारमा सीमा खोपेर, सीमामा सेना राखी भिडन्त गराएर, रीस पोखेर, बदलाभावले कुण्ठित भएर एकआपसमा भिडेर कुनै फाइदा छैन । पृथ्वीको विकल्पमा मानव बस्तीयोग्य अर्को ग्रहको खोजी हुन थालिसक्यो । चीन र भारत पनि अन्तरीक्ष प्रतिस्पर्धामा प्रवेश गरिसकेका छन् ।  यो अवस्थामा अहिलेसम्म बाँकी रहेको पुरानो सोच र इगोलाई उचित रुपमा व्यवस्थापन गर्न सकिएन भने देशको विकास त कता हो कता आफै हराएर जाने अवस्थामा पुगिन्छ । यो कुरा कम्तिमा पनि भारत र चीनका उच्च तहका नेतृत्वले स्पष्ट बुझेको देखिन्छ ।
नेपालका सत्ताधारी र शासक पार्टीको कुबुद्धि र इगोका कारण देशले आजको अवस्था बेहोर्न बाध्य भएको कुरा जनतामा छिप्न सकेको छैन । ‘कुण्डकुण्ड पानी, मुण्डमुण्ड बुद्धि’ हुने हो भने नेपालको जस्तै हालत चीन र भारतले पनि आउँदा दिनमा बेहोर्नु नपर्ला भन्न सकिदैन ।

पाकिस्तान-भारतको वागाह मोडल :

२६ जनवरी सन् १९५० मा भारत ब्रिटिश राजबाट स्वतन्त्र भै स्वतन्त्रता दिवस मनाई नसक्दै हिन्दुस्तान र पाकिस्तानमा विभाजित हुन गएपछि यी दुई देशका बीचमा निकै बैमनस्यता बढेर गयो । आजसम्म धेरैपटक घोषित र अघोषित युद्धहरु भए । ब्याटल वा लडाइँ एक वा अर्काले हारेका होलान्, तर युद्ध नै हारेको अहिलेसम्म कसैले पनि स्वीकार्न तयार छैनन् ।
यो भारतका लागि मात्र होइन, चीनका लागि पनि पाठ हो । यसको बोध भएको देखिन्छ, यी दुई देशका शासकमा । भारत र पाकिस्तान बीचको द्वन्द्व व्यवस्थापनमा त यति कठिनाइ आयो कि यी दुई देशले द्वन्द्व व्यवस्थापनका लागि ‘वागाह मोडल’ नै बनाए । पाकिस्तानको लाहोर र भारतको अमृतसरका बीचमा रहेको वागाह क्षेत्रमा हरेक दिन साँझमा झण्डा अवतरण वा ‘फ्ल्याग लोअरिङ सेरेमोनी’ मनाइने र यसो गर्दा दुवै देशका जनता आआफ्ना बर्डर क्षेत्रमा जम्मा भएर चर्को स्वरमा आआफ्ना देश र राष्ट्रियताका पक्षमा नारा लगाउने गर्दछन् । यो बेलामा दुवै देशका सेनाको प्रतिद्वन्द्वितापूर्ण परेड, सलामी आदान प्रदान तथा आआफ्ना सैन्य कला प्रदर्शन युद्धकै लय र भाँतीमा निकै उत्कर्षमा अभिव्यक्त हुन्छ । यति बेला एकअर्काका रिस र आवेग पोखिन पाउँछन् । यो दुवै देशको दुस्मनीपूर्ण द्वन्द्वको संयमित र मित्रतापूर्ण व्यवस्थापनको अति सह्रानीय कलात्मक नमूना हो ।

सापेक्ष सही बाटोको रोजाइः

तर हाल भारत-चीनको सेनाबीचमा गलवान लगायतका सीमा क्षेत्रमा दैनिकजसो हुने गरेको हाकाहाकी र मल्लयुद्धले पनि अर्को भिन्न मोडलको द्वन्द्व व्यवस्थापनको रुप लेला भन्ने डर बढेर गएको थियो । यो इगो र अनिवार्य नबनिसकेको मोडललाई अस्वीकार गर्दै भारत र चीनले वुद्धिमत्तापूर्ण निर्णय लिन पुगेका छन् । यो नै अबको गति लिने सापेक्ष सही बाटो हो ।